‘अघोरी’ माथि अन्तरक्रिया, कथाकार पराजुली भन्छन् : मैले जे देखेँ, त्यही लेखेँ

 असोज २२, २०७५ सोमबार १९:४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं –  नेपाली कथा लेखनमा सुस्तता छाइरहेको बेला आख्यानकार राजेन्द्र पराजुलीको भर्खरै प्रकाशित पुस्तक ‘अघोरी’ ले नयाँ उर्जा दिने काम गरेको साहित्यकारहरुले बताएका छन् । काठमाडौंमा सोमबार आयोजित एक अन्तरसंवादका सहभागीहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । 

‘यो संग्रहमा विविध खालका पात्र छन्, विविध खालका कथा छन् । यसमा राजनीतिक विषयवस्तु मात्र छैन, समाजका थुप्रै क्षेत्रका विसंगति र यथार्थ पनि प्रतिबिम्बित भएका छन्,’ लेखक नयनराज पाण्डेले भने, ‘वर्तमानमा जे भइरहेको छ, हामीले त्यही लेख्ने हो । राजेन्द्रजी र म साथी पनि हौँ । हामी दुवैका कतिपय कथामा उस्तै भावना, उस्तै हेराई पाउँछु म ।’

साहित्यकार अर्चना थापाले ‘अघोरी’का धेरैवटा कथा पत्रकारिताको हेराईबाट, पत्रकारको बुझाईबाट आएजस्तो लाग्ने टिप्पणी गरिन् । ‘सायद जुन कुरा पत्रकारितामा लेख्न सम्भव छैन, त्यो कथाका रुपमा आएको होला’, लेखक थापाले भनिन्, ‘कतिपय कथाले मलाई निकै तान्यो, तर कतिपयमा चाहिँ इन्डिङ ट्रिकी भएन जस्तो लाग्यो । यसमा यस्तो लेखिदिए हुन्थ्यो नि, यस्तो आए पनि हुन्थ्यो भन्ने लागिरह्यो ।’

लेखक पाण्डेले चाहिँ ‘अघोरी’का कतिपय कथालाई ‘ओपन इन्ड’ छाडिदिने शैली आफूलाई मन परेको उल्लेख गरे । ‘त्यसलाई पाठकहरुले आफै बुझून् भन्ने लेखकको मनसाय होला’, उनले भने । 

छलफलको सञ्चालन लेखक एवम् पत्रकार यज्ञशले गरेका थिए । उनले र अन्य सहभागीले सोधेका प्रश्नहरुको जवाफ दिने क्रममा कथाकार पराजुलीले आफूलाई जे कुराले छोयो, त्यही लेखेको बताए । ‘म काँठको कथा लेख्छु, किनभने म काँठे हुँ । पत्रकारिताको कुरा लेख्छु, किनभने म पत्रकार पनि हूँ । मैले जे देखेँ, त्यो लेखेँ,’ उनले भने, ‘कसरी लेखेँ, किन लेखेँ, त्यसबारे बताइरहन मलाई त्यति रुची लाग्दैन । कथा आफैले उत्तर दिन सकोस् भन्ने लाग्छ ।’

किताब पब्लिसर्सद्वारा प्रकाशित ‘अघोरी’ कथाकार पराजुलीको सातौँ कृति हो । कार्यक्रममा लेखकले सहभागीका विभिन्न जिज्ञासाको जवाफ दिएका थिए । छलफलका क्रममा नेपाली साहित्य लेखनका विविध पाटोबारे पनि चर्चा भएको थियो । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया