श्रीलङ्का पहिलाे पारीमा ४२ रनमै अलआउट
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – 'विदेश गएपछि देश फर्कन पनि कहाँ सजिलो रहेछ र, बिदेसिएकाहरू घर फर्कनु भनेको त युद्ध जित्नु सरह रहेछ’, इलामका होमनाथ चापागाईँ मलेसियाबाट घर फर्कन आफूले गर्नु परेको सङ्घर्ष सम्झँदै भन्नुहुन्छ ।
मलेसियामा सेक्युरिटीको काममा जानुभएका होमले कम्पनीले दिएको शारीरिक र मानसिक पीडा सहँदै काम गर्दा बिरामी भएर ज्यान थला परेपछि आफूलाई आफ्नै देश फर्काइदिन आग्रह गर्नुभयो ।
तर उसकै नामको भिसा लिएर गइसकेपछि स्वदेश फर्कन त परको कुरा मर्न पनि अनुमति चाहिने रहेछ भन्नुहुन्छ होम ।
होमलाई लाग्थ्यो ‘सायद अब यो देशबाट जिउँदै घर फर्कन लेखेकै छैन ।’ किनकि पाँच वर्ष रगत पसिना बगाएको कम्पनीले कुनै दिन पनि मानवीय व्यवहार नै गरेन । बिरामी हुँदा वास्ता गरेन । डर र धम्की दिँदै काममा लगायो । जब गुहार माग्दै दूतावासको कार्यालयसम्म पुग्दा दूतावासले समेत गाली गर्दै कम्पनी मै फर्काएपछि भने घर फर्कने होमको आशा निराशामा बद्लियो ।
सन् २०१६ को नोभेम्बर १३ मा होमले मलेसियामा पाइला टेक्नुभएको थियो । उमेरले ४० टेक्नुभएको थियो । गाउँघरमै अलिअलि काम गर्दा घर चलेन । उल्टो ऋण बढ्यो । त्यसमा १ लाख ५० हजार रुपैयाँ ऋण थप्नुभयो र घरमा सात वर्षका छोरा र श्रीमती छाडेर परदेश लाग्नुभयो होम ।
तर मलेसियामा पुग्नासाथ पहिलो गाँसमै ढुङ्गा लाग्यो । कम्पनीबाट विमानस्थलसम्म लिन समयमा आएन । विमानस्थलमै भोक भोकै ५ घण्टा कुर्न पर्यो ।
‘नेपालदेखि गएमा थियौँ हामी, केही खाउँ न त भन्दा पनि साथमा पैसा थिएन’ त्यो क्षण सम्झँदै होम भन्नुहुन्छ ‘कम्पनी लगेर पनि राती हामी सुतिसकेपछि मात्रै खानेकुरा दियो ।’
अर्को देशबाट आएकाहरूलाई कम्पनीले गरेको त्यही एउटा व्यवहारले नै होमको मनमा चिसो बसेको थियो । मनले भनेको थियो – यो कम्पनी त ठिक छैन कि क्या हो ।
सेक्युरिटीको काममा जानुभएको थियो । जाने बेला म्यानपावरले १९ सय मासिक तलब र अन्य बिदाहरू र बढी समय काम गर्दा ओभर टाइम पनि पाउने भनेर सम्झौता गराएको थियो । तर काम गर्न थालेपछि त्यसको ठिक उल्टो भइदियो ।
कम्पनीले महिनाको १६ सय पाउने गरी सम्झौता गरायो । काम महिनाको ३० दिन नै काम गर्नु पर्यो । दिनमा काम गर्ने समय असीमित थियो । कम्तीमा १२ घण्टा र बढीमा १८ घण्टासम्म ड्युटी तोकिन्थ्यो ।
न बिदाको दिन काम गरे बापत पैसा आउँथ्यो न त म्यानपावरले भनेजस्तो कुनै चाडबाडमा बेलाको । तलब सुख्खा १६ सय रिंगिट थियो । काम गर्न सक्दिन भन्ने कुनै छुट् थिएन । थकाइ लाग्यो, ज्यानलाई सन्चो भएन भन्दा कम्पनीले एक हप्ताको तलब काटिदिने धम्की दिन्थ्यो । डरैडरमा काम गर्नु पर्थ्याे ।
काम कि त जङ्गलको छेउछाउ कि त अत्यधिक भिडभाड हुने स्थानमा पथ्र्यों । कामको समयमा कम्पनीले नै मोबाइल राखिदिन्थ्यो । छुट्टी भएपछि कोठामा फर्कने बेलामा मात्रै मोबाइल हातमा दिन्थ्यो । तर कोठाको कथा व्यथा अर्कै थियो ।
एउटै कोठामा थुप्रै मान्छेहरू राख्ने । कोही ड्युटी सकेर सुतिरहेको हुन्थ्यें । कोहीको सुत्ने समय भएको हुन्थ्यो । सुतिरहेकाहरूलाई डिस्टर्ब गर्न नपाइने नियम थियो । यदि आफ्नो कारणले कोही साथीलाई डिस्टर्ब भयो र उसले कम्पनीमा उजुरी गरिदियो भने एक हप्ताकै तलब काटिन्थ्यो ।
होम भन्नुहुन्छ ‘बाहिर गएर पनि बोल्ने ठाउँ थिएन, रुमबाटै फोन गर्दा पनि निदाइरहेको साथीभाइ बिउँझिने, छटपटी हुन्थ्यो, कहाँ फसेँ म भन्ने सोचेरै असाध्यै नराम्रो लाग्थ्यो ।’
कम्पनीले यस्तो वातावरण बनाइदिएको थियो कि त्यहाँ भएका हरेक कुराहरू निर्विकल्प थिए ।
होमका लागि कम्पनीले लगाएको हरेक नियम मन्जुर थियो । तर परिवारसँग सन्चो बिसन्चो सोध्न पनि डराउनु पर्ने परिस्थितिले भने पलपलमा पोल्थ्यो । तर नाइँ भन्ने विकल्पै थिएन ।
धेरै जना एउटै कोठामा बस्दा हरेक कुरामा असहज हुन्थ्यो । खाना बनाउन, शौचालय जानदेखि नुहाउनसम्म लाइन लाग्न पथ्र्यों ।
कम्पनीका बारेमा होस् या आफ्नो दुःख सुखका कुरा होस् । सामाजिक सञ्जालमा लेख्न र कसैसँग भन्न छुट थिएन । नेपाली नै सुपरभाइजर थिए । उनले नेपालीहरूले फेसबुक लगायतका सामाजिक सञ्जालमा लेख्ने हरेक स्ट्याटस हेर्ने र कम्पनीको विरुद्धमा भएमा मेट्न लगाइहाल्थेँ । नमेटेमा कारबाही हुन्थ्यो ।
यही कारण होमका कतिपय साथीहरु कम्पनी छाडेर पनि भागेका थिए । तर होमलाई त्यो आँट आएन । जो भागेर हिँडे उनीहरूलाई पनि प्रहरी लगाएर कम्पनीले खोजेर फिर्ता ल्याउने र तलब बिना काममा लगाउने गर्न थाल्यो ।
‘भागेर कहाँ जानु कम्पनीले खोजी खोजी ल्याउन थालेपछि मरे पनि मरौँला भन्दै काम गरिरहेँ’ होम भन्नुहुन्छ ‘अर्काको देश, भागेर पनि कहाँ जानु र, ठाउँ नै भेटिएन ।’
होमले मलेसियामा काम गर्ने कम्पनीको नाम डबल थ्री सेक्युरिटी हो । कम्पनीले सहज र कम भिडभाड हुने स्थानमा मलेसियन नागरिकलाई नै ड्युटी पाथ्र्यों । अलिक भिडभाड हुने र अप्ठेरा ठाउँहरूमा नेपाली लगायत विदेशी श्रमिकलाई खटाउथ्यों । कम्पनीले तोकेको ड्युटी सकेपछि दैनिक सबै जना अनिवार्य तालिममा सहभागी हुन पथ्र्यों । तालिम एकदमै कडा कडा थियो । रनिङ, पुसअप, सिटअप, चिनअप लगायत अन्य शारीरिक तालिम हुन्थ्यो ।
‘दिनमा १४ देखि १८ घण्टासम्म लगातार उभिएर काम काम गर्यो, आरामै नगरी फेरि तालिम गर्दा त मुखबाट ह्वालह्वाली रगत आउन थाल्यो’ होम सुनाउनुहुन्छ ।
उभिएर काम गर्दा खुट्टाहरू जुत्तामै नअट्ने गरी सुनिन थाले । औलाहरू पाकेर भएका घाउ जुत्ता भित्रै चरचरी चहर्याउँथ्यो ।
‘दुखाई यस्तो हुन्थ्यो कि जुत्ता कति बेला खोलौंजस्तो हुने, सेक्युरिटीको काम भएपछि चप्पल लगाउन पनि नमिल्ने, खुट्टादेखि टाउकोसम्मै दुख्थ्यो, त्यो बेला त रुनु कि हाँस्नु हुन्थ्यो’ त्यो क्षण सम्झँदै भन्नुहुन्छ ‘अहिले सम्झँदा पनि दुखेजस्तो लाग्छ त्यो पीडा त ।’
काम र तालिम गर्दा सुत्ने समय जम्मा जम्मी चार घण्टा मात्र पाउनुहुन्थ्यो । अनिदो ज्यान, लगातार उभिएर गर्ने काम र तालिमले होमलाई बिस्तारै गलाउन थाल्यो । मुखबाट रगत बग्ने, उभिन नसक्ने, थकान महसुस हुने लगायतको समस्याले उहाँ ओछ्यान मै पर्नुभयो । तर बिरामी हुँदा कम्पनीले अस्पताल लगेन । कसैलाई पनि एक्लै अस्पताल जाने अनुमति थिएन ।
एकातिर कम्पनीले अस्पताल नलग्ने अर्कोतिर बिरामी भए भनेर आराम गर्न नपाइने । कोठामा आराम गर्छु भन्दा पनि कम्पनीले अनेक डर र धम्की दिएर काममा खटाइहाल्थ्यो । सकी नसकी पनि काम नगरी सुखै हुँदैन थियो । तर होम भने काम गर्दा गर्दै धेरै पटक बेहोस भए ढल्नुभयो ।
बिमारी ज्यान त्यसमाथि कम्पनीले दिने शारीरिक र मानसिक तनाव ।
त्यस बेला होमका अघिल्तिर दुई विकल्प थिए । एउटा कम्पनीबाट भाग्ने अर्को चाहिँ घर फर्कने । कम्पनीबाट भागेर काम गर्न असम्भव जस्तै थियो । त्यसैले उहाँले कम्पनीलाई आफ्नो ज्यानले काम गर्न नसक्ने भन्दै घर फर्काइदिन अनुरोध गर्नुभयो ।
कम्पनीले नाइँ भनेन । यो मितिमा पठाउँछु भन्दै कागजात पनि देखायो । कम्पनीले कागजै देखाएपछि होम भने घर फर्कने झिनो आशा बोकेर सकी नसकी काम गरिरहनुभएको थियो । कम्पनीले दिएको समय बितेर गयो । तर घर पठाएन ।
‘पठाउँछु भन्दै झुटो कागज देखाएर काममा लगाउने रहेछ, उसले भनेको मिति कटिसक्यो पठाइदिएन । अनि पो ढाटेको रहेको छ भन्ने निश्चित भयो’ होम कम्पनीले ढाटेको त्यो क्षण सम्झँदै भन्नुहुन्छ ‘मलाई त त्यति बेला अब यही मरिने रहेछ, यो कम्पनीले जीवितै नपठाउने नै रहेछ भन्ने भएको थियो ।’
कम्पनीले घर नपठाउने नै रहेछ भन्ने निचोड निकालेर सँगै काम गर्ने अरू साथीसहित होम पनि भागेर एक दिन क्वालालम्पुरमै रहेको नेपाली दूतावासमा पुग्नुभयो । दूतावासमा आफ्नो समस्या राख्नुभयो । तर दूतावासले उनीहरूको कुरा सुनेन ।
‘हामी बल्ल बल्ल बाँचेर आएका छौँ, यही सेल्टर दिनुहोस्, हामी घर फर्कन्छौँ भनेर दूतावासलाई भनेको तर दूतावासले उल्टो थर्कायो’ दूतावाससँग गुनासो गर्दै होम भन्नुहुन्छ ‘तिमीहरू काम गर्न आएको हैन, गएर खुरुक्क काम गर यहाँ सेल्टर पनि मिल्दैन भनेर हामीलाई कम्पनी नै फर्काइदियो ।’
दूतावासले पनि कुरा नसुनेपछि कहाँ जाने । होमसँग विकल्प थिएन । कम्पनी नै फर्किनुभयो । तर कम्पनीले भागेर दूतावास गएको भन्ने थाहा पाइसकेको थियो । त्यसपछि त समुद्रमा लगेर फालिदिने भन्दै गाडीमा राखेर अपरिचित स्थानतिर लाग्यो ।
होमसहित उहाँका ४ जना साथीलाई कहाँ लगिँदै छ भन्ने थाहा थिएन । कम्पनीले समुद्रमा लगेर फालिदिने भन्दै गाडीमा राखेर हिँडेपछि केही साथीले फेसबुक लाइभ गर्न थाले । आफूहरूलाई बचाउन फेसबुक लाइभमार्फत नै गुहार पनि मागे । तर होम भने शान्त बस्नुभयो । उहाँलाई त्यति बेला न मृत्युसँग डर लाग्यो । न त बाँच्ने नै रहर लाग्यो ।
‘हामीलाई त त्यो बेलामा लगभग अब अन्तिम दिन यही रहेछ भन्ने लागेको थियो, तर अलिक अगाडि गएपछि मैले भनेको नभन्नु है भन्दै ड्राइभरले तपाईँहरूलाई सहरभन्दा परको ठाउँमा लगेर राख्न लागेको हो नडराउनु मार्ने हैन भन्यो’ होम भन्नुहुन्छ ‘त्यसपछि मात्रै मैले होला मैल त होस पाएको पनि ।’
कम्पनीभन्दा निकै पर अनकन्टार ठाउँमा एउटा कोठामा राख्यो । न खानेकुरा थियो न त अन्य केही सुविधा । साथीभाइसँग हारगुहार गरेर खानाको जोहो गर्नुभयो । घर पठाइदिन्छ कि पठाउँदैन भन्ने पनि थाहा थिएन । तर कम्पनीसँग अनुरोध गरिरहनुभयो ।
करिब ६ महिना यसै गरी अनेक तनाव दिँदै कम्पनीले कोठामै राखेपछि भने होम र उहाँका साथीहरूले घर फर्कने आस मार्नुभयो । मनमा कुन दिन कम्पनीले के बहानामा मारिदिन्छ होला भन्ने मात्र सोच्नुहुन्थ्यो उहाँ ।
‘हामीले त जसरी नै मर्ने हो बरु हामी सबै जना एकै पटक मरौँ भनेर योजना पनि बनाएका थियौँ, आज पनि ती दिन सम्झँदा मलाई गाह्रो हुन्छ’ होम आफ्नो अनुभव सुनाउनुहुन्छ ।
यही बीचमा कोरोना पनि थपियो । कोरोनाले झन् समस्या थप्यो । तर यही समयमा उहाँको परिवार इलाममा रहेको आप्रवासी स्रोत केन्द्रमा पुग्यो र समस्या राख्यो । आप्रवासी स्रोत केन्द्र इलाममार्फत काठमाण्डौमा रहेको प्रवासी नेपाली समन्वय समिति पीएनसीसीसम्म उहाँको समस्या आइपुग्यो । पीएनसीसीले होमसहित उहाँका साथीहरूको स्वदेश फिर्तीका लागि पहल थाल्यो ।
होम भन्नुहुन्छ ‘पीएनसीसीबाट हामीहरूलाई फोन आएपछि मात्रै अब चाहिँ बाँच्छौँ कि भन्ने आस पलायो, नत्र दूतावासले नि कुरा नसुन्ने कम्पनीको त के कुरा र हामीले बाँच्छौँ भन्ने त दश मनमा एक पनि सोचेका थिएनौँ ।’
जिउँदै देश फर्किने आस मारेर बस्नुभएका होमलाई पीएनसीसीले आड भरोसा र नेपाल झिकाउने आश्वासन दियो ।
पीएनसीसीले नै समन्वय र सहजीकरण गरिदिँदा कोठामा थुनिएको करिब ६ महिनापछि सन् २०२१ मा मलेसिया गएको ५ वर्षपछि घर फर्कनुभयो ।
घर फर्कने बेलामा टिकट त म्यानपावर कम्पनीले दियो । तर उता मलेसियामा काम गरेबापतको पाँच हजार एक सय मलेसियन रिंगिट बाँकी तलब कम्पनीले दिएन ।
घर फर्किएपछि पनि कयौँ रात निदाउन सक्नुभएन होम । कम्पनीले दिएका दुःख, दिनरात नभनी खटेर गरेको काम, खुट्टा भरी लागेको घाउको खतले समेत झस्काइरह्यो । सपनामा पनि कम्पनीकै नीति र नियमले सताइरह्यो ।
होम घर फर्किएको १ वर्ष भयो । अब उहाँलाई फर्किएर जानु छैन फेरि कुनै देश । भन्नुहुन्छ – 'आफ्नै देश फर्कन पनि युद्ध नै लड्नु पर्ने हाम्रो लागि किन यस्तो होला विदेश ?'
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।
राजु दर्जि गुल्मि 2 मदाने गा पा 1 हाल india
Dec. 19, 2022, 2:09 a.m.हजुर साह्रै दुख लाग्यो नेपाली ले प्रदेश मा भोगे को दुख हरु सम्झदा म पनि मलेसिया मा 7,8 वर्ष security guard मा काम गरेको मान्छे हो ! तर अन्तिममा म heart को विमारि लागेर नेपाल फर्किये मेरो मुटु ले राम्रो संग काम न गर्दा मुटु मा बेटरी राखेर बाकि जिन्दगी बिताउनु परेको छ बिदेश जादा गरेको बिमा कम्पनी ले एक सुको दियेन अलि अलि कमाको पैसा पनि अपरेसन र दवाई पानी मा सकियो अहिले मुटु मा ब्याट्रि राखेर पनि india मा पसिना बगाउदै छु कति बेला मुटु को धडकन रोकिने हो थाह छैन !