एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
कोटेश्वरदेखि कलङ्कीसम्म चक्रपथ विस्तारको काम सम्पन्न भएपछि यसै योजना अन्तर्गत ग्वार्को, सातदोबाटो तथा एकान्तकुना जस्ता व्यस्त चोकहरुमा फ्लाईओभर निर्माणको योजना रहेको थियो । अहिले ग्वार्कोमा फ्लाईओभर बनाउने काम सुरु भएको छ । ग्वार्को चोकमा बन्दै गरेको फ्लाईओभर नेपाल सरकारको १७ करोड रुपैयाँको लागतमा बन्न लागेको हो ।
सडक विभाग अन्तर्गत गुणस्तर तथा अनुन्धान तथा विकास केन्द्रका इन्जिनियर रवीन्द्र श्रेष्ठका अनुसार २०७८ माघमा सम्झौता भएर दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने गरी आशीष, समानान्तर र रेलिग्रेन जेभीलाई ठेक्का परेको छ । फ्लाईओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य रहेको छ । निर्माण सम्पन्न भएको पाँचवर्षसम्म पनि मर्मतसम्भारको काम पनि सम्बन्धित ठेकेदार कम्पनीले नै गर्नुपर्ने शर्त छ ।
श्रेष्ठका अनुसार अहिले बन्ने फ्लाईओभरमा ग्वार्को चोकमाथि चार लेनको ३५ मिटरको समतल पुल बन्छ । पुलमा उक्लिनका लागि बिएण्डबी अस्पताल नजिकै तथा बालकुमारीमा र्याम निर्माण हुन्छ । ग्वार्को चोकबाट सातदोबाटोतर्फको लम्बाइ १ सय ८५ मिटरको हुनेछ । त्यस्तै ग्वार्को चोकबाट बालकुमारीतर्फको र्यामको लम्बाइ भने ३ सय २० मिटरको हुनेछ ।
उहाँ भन्नुहुन्छ, ‘बालकुमारीतर्फको लम्बाइ धेरै हुनु तथा सातदोबाटोतर्फको लम्बाइ कम हुनुको कारण भने सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदा त्यहाँ स्लोप धेरै भएको हुनाले लम्बाइ कम हुन आएको हो । तर, समग्र लम्बाइ भने ५ सय ४० मिटर हुन आउँछ ।’
निर्माणभन्दा पनि ट्राफिक व्यवस्थापन ठूलो चुनौती रहेका कारण अहिले निरन्तर ट्राफिक व्यवस्थापन माहाशाखाको समन्वयमा काम सञ्चालन गर्न लागिएको पनि उहाँले जानकारी गराउनु भयो ।
नेपालमा अहिलेसम्म फ्लाईओभर निर्माण नभएको र त्यस्तो अनुभव नेपाली निर्माण कम्पनीहरुसँग पनि छैन । तर, यो निर्माणको काम खासै जटिल नभएको र अन्यत्र पनि नेपाली निर्माण व्यवसायीले विभिन्न प्रकारका पुलको काम गरिसकेकोकाले खासै अप्ठ्यारो नहुने पनि श्रेष्ठको बुझाइ छ ।
उहाँ भन्नुहुन्छ, ‘यो फ्लाईओभर भनिए पनि एकदम सिम्पल खालको डिजाइन हो । यसमा एउटा पुल र माटो भरेर र्याम बनाउने हो । नेपाली कन्ट्रयक्टरहरुले योभन्दा लामो लामो स्पान बनाइसकेको हुनाले यो गर्न नसक्ने भन्ने डिजाइन होइन ।’
यो माटोको र्याम भने नयाँ प्रविधिबाट बन्नेछ । नेपालमा एक/दुई ठाउँमा प्रयोग भए पनि अहिले यहाँ प्रयोग हुन लागेको कारण भने ठाउँ कम भएका कारण पनि हो । इन्जिनियर श्रेष्ठका अनुसार यो नयाँ प्रविधि हो र केही महँगो पनि छ । विदेशतिर यस्ता प्रविधिको प्रयोग धेरै भए पनि नेपालमा भने एक/दुई ठाउँमा मात्र भएको छ ।
‘स्पेस कन्जस्टेड भएर भर्टिकल्ली वाल उठाउनु पर्ने भएकोले यो प्रविधि अपनाउन लागिएको हो,’ श्रेष्ठ भन्नुहुन्छ, ‘नेपालमा पनि एक/दुई ठाउँमा यो प्रविधिको प्रयोग भएको छ । यो नयाँ टेक्नोलोजीको रिटेनिङ वाल हुन्छ ।’
ग्वार्को चोकमा हुने लामो जाम हटाउनु नै फ्लाईओभरको मुख्य उद्देश्य हो । त्यसकारण यसको निर्माणपछि जाम हट्ने विश्वास गरिएको छ । फ्लाईओभर निर्माणपछि मंगलबजारबाट इमाडोल र इमाडोलबाट मंगलबजार ओहोरदोहोर गर्ने गाडी चोकमा नरोकिकनै अहिले भएकै सडकबाट गुड्नेछन् । चक्रपथ भएर चल्ने गाडी भने माथि फ्लाईओभरबाट गुड्नेछन् । फ्लाईओभर अहिलेको चक्रपथको फास्ट ट्रयाकमा निर्माण हुने हुँदा सर्भिस लेनमा भने यथावत गाडी चलिरहन्छ ।
श्रेष्ठका अनुसार यो इपीसी मोडलको कन्ट्रयाक्ट भएका कारण यसको डिजाइन स्वयम ठेकेदार कम्पनीको रहन्छ । र ठेकेदार कम्पनीले पेस गरेको डिजाइनमा केही त्रुटि देखिएमा वा सुधार गनुपर्ने अवस्था आएमा मात्र सडक विभागले डिजाइनमा हेरफेर गर्ने गर्छ ।
ग्वार्कोमा फ्लाईओभर निर्माण सम्पन्न भइसकेपछि आउँदो आर्थिक वर्षमा सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर निर्माण अघि बढाइने योजना छ । सातदोबाटो र एकान्तकुनामा सडक विभागले नै केही समय पहिले मात्रै आकाशेपुल निर्माण गरेको छ । ती स्थानमा यात्रु हिँड्न बनाइएका आकाशेपुल भत्काउन नपर्ने गरी फ्लाईओभर निर्माण गरिने पनि विभागले जनाएको छ ।
सरकारले आफ्नै लगानीमा यी तीन ठाउँमा निर्माण गर्ने योजना बनाएकोमा कोटेश्वर र बानेश्वर जस्ता अत्यधिक व्यस्त चोकमा जापान सरकारसँग फ्लाईओभर तथा सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तारबारे पनि छलफल भैरहेको छ ।
फ्लाईओभर निर्माण कार्य शुरु भएसँगै यातायात सञ्चालनका लागि वैकल्पिक व्यवस्था गरिएको छ । काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही मङ्सिर २३ गतेदेखि निर्माण कार्य सम्पन्न नभएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, माहलवाहक तथा दुईपाङ्ग्रे गाडीलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनहरूलाई फास्ट ट्रयाकबाट चलाउन थालिएको छ । कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सबै गाडी ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चल्ने व्यवस्था गरिएको छ ।
बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने यात्रुवाहक, माहलवाहक तथा दुईपाङ्ग्रे गाडी बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे गाडीलाई फास्ट ट्रयाकबाट चल्न पाउँछन् । अहिले हरेक दिन ग्वार्कोमा लामो जाम हुने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।