एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौका अरु चुनावी क्षेत्र जस्तै क्षेत्र नम्बर ९ पनि चर्चामा छ । केपी ओलीलाई फुटबलको पेलेसँग दाँजेर चर्चामा आएका पूर्व शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ एमालेकातर्फबाट यस क्षेत्रको उम्मेदवार हुनुहुन्छ । निवर्तमान सांसदसमेत रहेका श्रेष्ठ यस पटक जित दोहोर्याउने दाउमा हुनुहुन्छ । तर, उहाँलाई चुनौती दिँदै सत्ता गठबन्धनकातर्फबाट नेकपा माओवादीले कल्पना धमलालाई उठाएको छ ।
२०७४ सालको संसदीय चुनावमा श्रेष्ठले २२ हजार ८ सय ५२ प्राप्त गरी विजयी हुँदा कांग्रेसका ध्यानगोविन्द रन्जितले १४ हजार ८ सय २ मत ल्याउनु भएको थियो । ८ हजारको ठूलो मतान्तरले विजयी भएका कारण पनि एमालेका नेता तथा कार्यकर्ता यस क्षेत्रमा श्रेष्ठ नै दोहोरिने सम्भावना रहेकोमा आशावादी छन् । तर, गएको संसदीय चुनावमा वामगठबन्धबाट उम्मेदवार बनेका श्रेष्ठलाई अहिले माओवादी केन्द्र र एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीकाे साथ रहने छैन ।
बेलाबेला आफ्नो बोली र व्यवहारका कारण विवाद तथा चर्चामा आइरहने कारण पनि श्रेष्ठलाई धमलाले राम्रै चुनौती दिने कांग्रेस र माओवादीको अनुमान छ । निवर्तमान सांसद एवम् मन्त्रीसमेत हुँदा पनि यस क्षेत्रमा खासै काम नगरेकाे हुँदा पनि स्थानीय रुष्ट भएका कारण विरोधी मत आफ्नो पक्षमा आउने माओवादीको बुझाइ छ ।
विभिन्न दल र स्वतन्त्र गरी २२ जना उम्मेदवार रहेको यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले देवेन्द्र प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीले टेकबहादुर पोखरेललाई उठाएको छ । २०७४ सालको संसदीय चुनावमा ४ हजार ९ सय ४६ मत प्राप्त गरी तेस्रो स्थान प्राप्त गरेको विवेकशील साझा पार्टीका मिलन पाण्डे पनि यसै क्षेत्रमा उम्मेदवार हुनुहुन्छ । उहाँको पनि यस क्षेत्रमा राम्रै चर्चा छ । तर, विवेकशील साझा पार्टीमा आएको उतारचढावका कारण यो चुनावमा जति चर्चा हुनुपर्थ्याे त्याे भने देखिँदैन । सुनिल रिजाल र मधु कार्की जस्ता स्वतन्त्र उम्मेदवारको पनि राम्रै चर्चा छ । तर, प्रतिस्पर्धात्मक रुपमा अगाडि नै आउने सम्भावना भने रहेको देखिँदैन ।
नेताहरु जित दोहोर्याउने र विकास गर्ने भनिरहँदा काठमाण्डौ महानगर र नजिकका क्षेत्र भए पनि यहाँ बाटोघाटो, खानेपानी र स्वास्थ्यका समस्या मुख्य रहेको यहाँका बासिन्दाको गुनासो छ ।
चन्द्रागिरी नगरपालिका वडा नम्बर १४ का रामहरी सापकोटा आफ्नो क्षेत्रमा पनि खानेपानी र बाटोको मुख्य समस्या रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘जहाँको पनि समस्या उस्तै हो । यहाँ पनि खानेपानीको समस्या छ । केही हल पनि भयो । बेरोजगारी पनि त्यस्तै समस्या छ । आयआर्जन गर्ने कुनै बाटो छैन ।’
दीर्घ रोगीहरुलाई केही सुविधा पुगेको र सरकारले यस्ता रोगीहरुलाई भने हेरेको उहाँले बताउनुभयो । यसमा अझ थप सहयोग गरे राम्रो हुने पनि उहाँको सुझाव छ ।
यसै क्षेत्रका पश्नलाल पाण्डे २०३६ सालदेखि भोट हाले पनि खासै समस्या समाधान नभएको गुनासो छ । उहाँ भन्नुहुन्छ, ‘चुनावका बेला नेता आउँछन हात जोड्छन । त्यसपछि कता हो कता ।’
रोजगारीका लागि आफ्नो परिवारका सबै सदस्य विदेश गएका कारण बुढाबुढी मात्र घरमा भएर समस्या परेको उहाँको भनाइ छ । नेताहरुले देशमा रोजगारी सृजना गर्न सके राम्रो हुने पनि उहाँको सुझाव छ ।
त्यस्तै यसै क्षेत्रकी कल्पना खतिवडा आफ्नो क्षेत्रमा खानेपानीको समस्या रहेको र जो नेता आए पनि समाधान गर्छु भन्ने तर, नगरेकोमा दुखी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यहाँ खानेपानीको समस्या छ । धेरै पटक भोट हालियो । जो आए पनि गर्छु भन्छन् तर, कसैले गरेका होइनन् ।’
यस क्षेत्रमा काठमाण्डौ महानगरपालिकाको १२, १४, २१ र २२ नम्बर वडा पर्छन् । त्यस्तै चन्द्रागिरी नगरपालिकाको वडा नम्बर १, १२, १३, १४ र १५ नम्बर वडा पर्छन भने नागार्जुन नगरपालिकाको ६, ७, ८, ९ र १० नम्बर वडा पर्छन् ।
गएको पालिका चुनावमा वडाध्यक्षहरुले पाएको मत हेर्दा यहाँ कांग्रेस अगाडि देखिन्छ । कांंग्रेसका वडाध्यक्षहरुले १९ हजार ९ सय १६ मत प्राप्त गर्दा एमालेका वडाध्यक्षहरुले १९ हजार २ सय ८२ मत प्राप्त गरेका छन् । त्यसैगरी माओवादीले ६ सय ९५ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीले भने ४ सय ६५ प्राप्त गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।