उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
पहिले पहिले चुनाव आउनु एक, दुई महिना अघिदेखि नै सडकमा विभिन्न दलका पर्चा, पम्पलेट, ब्यानर र झण्डा फरफराउँथे । सडक र टोलमा पनि भोट माग्नेहरुको चहलपहल उत्तिकै हुन्थ्यो । घर दैलो पनि जुलुस आए सरह नै हुन्थ्यो । कोही नारा भट्याउँदै हिँड्थे र कोही पर्चा बाँड्दै । हरेक चुनावमा यस्तै चहलपहल हुन्थ्यो । विभिन्न दलका नेता कार्यकर्ता र उम्मेदवारले हातैले पार्टीका पर्चा बाँड्दै हिँड्थे ।
तर, केही वर्ष अघिदेखि चुनावमा यस्ता पर्चा, ब्यानरको प्रयोग हुन छाडेको छ । सामाजिक सञ्जाल सबैको पहुँचमा पुगेपछि पर्चा ब्यानरको आवश्यकता पनि छैन । निर्वाचन आयोगले पनि चुनावी प्रचारमा पर्चा, पम्प्लेट, ब्यानर र झण्डाको प्रयोगमा कडाइ गरेको छ । सामाजिक सञ्जालमार्फत चुनावी प्रचार हुन थालेपछि झण्डा तथा ब्यानर बनाउनेहरु चाहिँ मर्कामा परेका छन् ।
पहिले चुनाव आउने बेलामा छापाखाना र आर्ट सेन्टरमा काम गर्नेहरुलाई भ्याइनभ्याइ हुन्थ्यो । विभिन्न पार्टीका झण्डा, ब्यानर, पर्चा र पम्पलेटले झकिझकाउ हुने धेरै ठाउँ अहिले भने सुनसान जस्तै देखिन्छन् । बागबजार मात्र होइन पुतलीसडक, अनामनगर, डिल्लीबजारमा पनि चुनावी झण्डा, टिसर्ट, टोपी, ब्याच, स्टिकर छाप्ने सयौँ छापाखाना छन् । हरेक चुनावमा झण्डा, ब्यानर, पर्चा, लगायतका प्रचार सामग्री खोज्दै ग्राहकहरु पसल पसल धाउँछन् । तर, हरेक चुनावमा प्रचार सामग्री छापिने यी सबै छापाखाना यसपालि खासै व्यस्त छैनन् । यसपालिको चुनावमा प्रचार सामग्रीको माग घटेको भन्दै व्यवसायीहरु चिन्तित भएका छन् ।
सप्तरीका नरेश चौधरी पनि बागबजारमै छापाखाना सञ्चालन गर्नुहुन्छ । उहाँले बागबजारमा छापाखाना चलाउन थालेको २० वर्ष भयो । चौधरीले अघिल्ला पालिक चुनावमा प्रचार सामग्री बनाउन दिनको १८ घण्टा खटिनु हुन्थ्यो । पसलमा झण्डा, ब्यानर, पर्चा, लगायतका प्रचार सामग्री किन्न आउनेको घुइँचो हुन्थ्यो । पालिका चुनावमा उहाँले ६० हजार रुपैयाँको त झण्डा मात्रै बेच्नु भयो । टिसर्ट पनि ८ लाखदेखि दश लाख रुपैयाँसम्मको बेच्नु भयो । एक्लै काम गर्न गाह्रो भएपछि दश जना सहयोगी राख्नु भयो । प्रचार सामग्री बेचेरै ४० लाख रुपैयाँ कमाइ भयो । तर यसपालि उहाँको पसलमा ४ जना मात्र सहयोगी छन् । दुई वर्ष कोरोनाले व्यवसायमा पारेको असरलाई यस पालिको चुनावबाट भरथेग होला कि भन्ने आशा पनि आशामै सीमित हुने भयो भन्ने उहाँको चिन्ता छ ।
‘पहिले त काठमाण्डौ बाहिरबाट पनि राम्रो माग आउँथ्यो । तर, पहिले भन्दा यसपालि चुनावमा प्रचार सामग्रीको माग ह्वात्तै घटेको छ,’ चौधरीले बताउनु भयो ।
चुनावमा प्रचार प्रसारका सामग्री छाप्न भ्याइनभ्याइ हुने बागबजार, पुतलीसडक, अनामनगर, बानेश्वर, डिल्लीबजार लगायतका ठाउँहरु यसपालि सुनसान जस्तै छन् । देशभरकै लागि बागबजारका छापाखानामा प्रचार सामग्री छापिन्थ्यो । व्यापारीहरु चुनाव आउला र प्रचार सामग्री बेचौँला भनेर महिना दिन पहिलेदेखि नै कुरेर बस्थे । लाखौँ रुपैयाँ बराबरको प्रचार सामग्री पहिले नै छापेर राख्थे । तर निर्वाचन आयोगले प्रचार सामग्री प्रयोगमै कडाइ गरिदियो ।
काठमाण्डौका विजय कुमार कार्कीले पनि बागबजारमै छापाखाना चलाउन थालेको ३५ वर्ष भयो । अलि पहिलेका चुनावमा प्रचारप्रसार गर्न भित्ते लेखनदेखि ३० मिटर लामो कपडामा उम्मेद्वारको फोटो पनि बनाउनु भयो । छाप्ने मेसिन नहुँदा हातैले पनि ब्यानर र स्टिकर बनाएर बेच्नु भयो । अघिल्लो पालिका चुनावमा उहाँले हजारौँ झण्डा, ब्याच, टिसर्ट छाप्नु भयो । व्यापार पनि राम्रै भयो । तर यसपालि चुनावले छोइसक्दा पनि कुनै चहलपहल छैन ।
विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता तथा उम्मेदवारले चुनाव प्रचारप्रसार गर्न डिजिटल माध्यमको प्रयोग गरे पनि कपडाको झण्डा, पर्चा, ब्यानर लगायतका सामान खोज्न आउनेहरु पनि छन् । तर निर्वाचन आयोगको कठोर आचारसंहिता र डिजिटल माध्यममा बढ्दो आकर्षणका कारण चुनावमा प्रचार सामग्रीको व्यापार घटेको व्यापारीको गुुनासो छ ।
उदय कुमार कार्कीले पनि बागबजारमै छापाखाना चलाउन थालेको २५ वर्ष भयो । उहाँले काठमाण्डौ बाहिरका ठूला सहरमा पनि आफूले उत्पादन गरेका सामान पठाउनु हुन्छ । अघिल्लो चुनावमा उहाँले प्रचारप्रसार सामग्रीका लागि ५० लाख रुपैयाँ लगानी गर्नु भयो । टिसर्ट, टोपीभन्दा पार्टीका झण्डाहरु नै धेरै बिक्री भए । उहाँले झण्डै १६ लाख रुपैयाँको त झण्डा मात्रै बेच्नु भयो । पालिका चुनावको लागि पनि उहाँले ५० लाख रुपैयाँ बराबरकै लगानी गर्नुभएको थियो । तर यसपालि सोचेजस्तो व्यापार भएन । अहिले भने दिनमा पाँच, दश वटा झण्डा बाहेक अरु बिक्री हुँदैन ।
‘निर्वाचन आयोगले प्रचार प्रसारमा गरेको कडाइ र प्रचारप्रसारमा डिजिटल माध्यमको बढ्दो आकर्षणका कारण पनि छापाखाना मारमा पर्याे,’ उदय कार्की बताउनु हुन्छ ।
चुनावमा विभिन्न प्रचार सामग्रीले रंगीचंगी र झिलीमिली हुने बागबजार आसपासका क्षेत्रमा यसपालि चुनावको कुनै उमंग र रौनक छैन । अघिल्ला चुनावहरुमा एउटै छापाखानाबाटै दश देखि ४० लाख रुपैयाँसम्मको व्यापार हुन्थ्यो । तर यसपालि ८० प्रतिशत व्यापार घटेको व्यापारीको गुनासो छ । यसपालिको चुनावमा लगानी पनि नउठ्ने हो की भन्ने चिन्ता लागेको छ भन्नुहुन्छ बागबजारमा प्रचार सामग्रीको होलसेल पसल चलाउने सुशिला गौतम ।
हिजोआज परम्परागत प्रचार माध्यम भन्दा पनि डिजिटल माध्यमबाट विज्ञापन गर्नेहरुको संख्या धेरै छन् । झण्डा लगायतका सामान किन्न जानेहरु पनि कमै छन् । डिजिटल विज्ञापन गर्नेहरुको संख्या बढे पछि यसअघि कपडाको झण्डा बनाउने कतिपय व्यवसायीले आफ्नो कामको स्वरुपलाई परिवर्तन गरेका छन् । यसैमध्येमा पर्नुहुन्छ बागबजारका प्रेम शिरीष ।
शिरीषले छापाखान संचालन गरेको ६ वर्ष भयो । पहिले उहाँ पनि अरुले जस्तै कपडा र कागजमै प्रचार सामग्री बनाएर बेच्नु हुन्थ्यो । तर चुनाव प्रचारप्रसार गर्ने तौर तरिका फेरिएपछि उहाँ अहिले डिजिटल माध्यमका लागि पनि प्रचार सामग्री बनाउने काम गर्नु हुन्छ ।
फेसबुक, ट्विटर, इन्स्टाग्राम लगायतका डिजिटल माध्यमबाट विज्ञापन गर्ने चलन बढिरहेकाले पनि पहिले जस्तो हातैले बनाएर बेच्ने चलन विस्तारै हराउँदै छ । प्रचार गर्ने तरिका पनि फेरिँदै छ । पहिले पहिले कार्यकर्ताले पर्चा हात हातमा बाँडदै हिँड्थे । तर अहिले भुँइभरी पर्चा फाल्दै हिँड्ने, ब्यानर ठाउँ ठाउँमा झुन्डाउने, माइकिङ गर्ने चलन पनि विस्तारै कम हुँदै छ । त्यसैमाथि निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा पनि उस्तै कडाइ गरेको छ ।
आजभोलि धेरैको हातमा स्मार्ट फोन छ । हातहातमा पर्चा बाँड्दै हिँड्नु भन्दा सामाजिक संजालमै पठाएका सूचना सन्देश मान्छेले चाहेर वा नचाहेर पनि हेर्नै पर्छ । ‘डिजिटर माध्यमको प्रयोगबाट प्रचार गर्दा सजिलो पनि हुन्छ । एकपटक तोकेअनुसारको पैसा तिरेर बुस्ट गरेपछि निश्चित क्षेत्र र मानिसबीच विभिन्न सामाजिक संजालको माध्यमबाट सजिलै पुर्याउन सकिन्छ,’ भन्नुहुन्छ शिरीष ।
राजनीतिक दलका नेता कार्यकर्ता र उम्मेदवार परम्परागत शैली भन्दा डिजिटल माध्यमबाटै प्रचारप्रसार गरिरहेका छन् । फेसबुकको मातृ कम्पनी मेटाका अनुुसार दल र उम्मेदवारले २३ भदौदेखि अहिलेसम्म ७५ लाख रुपैयाँ फेसबुकमा मात्रै विज्ञापनका लागि खर्च गरेका छन् । त्यसैले पनि परम्परागत प्रचार गर्ने तरिकाभन्दा डिजिटल तरिका लोकप्रिय बन्दै गएका छन् । गल्ती भए फेरि मिलाउन सकिने तथा एकैपटक देशैभर पुर्याउन सकिने, सस्तो अनि सजिलो भएका कारण पनि सामाजिक सञ्जाल लोकप्रिय बनेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
महेश ज्ञवाली उज्यालाेमा कार्यरत हुनुहुन्छ ।