उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
२०४४ सालमा नेपालमा पहिलो पटक सार्क शिखर सम्मेलनका लागि भनेर प्रज्ञा प्रतिष्ठानमा छिरेका श्यामराज पहाडीलाई कहिले पनि लागेको थिएन प्रज्ञा प्रतिष्ठानको यही ढोकाबाट ओहोर दोहोर गरेर ३५ वर्ष बित्नेछ ।
सार्क शिखर सम्मेलनका लागि वनस्पति उद्यान गोदावरीबाट प्रज्ञा प्रतिष्ठानको बगैँचा सजाउन खटिएका २२/२३ जनामा उहाँले नै यो बगैँचा सजाउने जिम्मा पाउनु हुनेछ भन्ने कहिल्यै लागेको थिएन । तर, संयोग भयो त्यस्तै । बोटानिकल गार्डेनका त्यस बेलाका निर्देशक विन्देश्वर रायले उहाँलाई नै प्रज्ञाको लागि छनाेट गर्नुभयो ।
उहाँ त्यसबेला बोटानिकल तालिम लिँदै हुनुहुन्थ्यो । यो २०४२/४३ साल तिरको कुरा हो । बगैँचाको काम ५४ वर्षीय पहाडीको रहर, सोख तथा बाध्यता सबै हो । उच्च शिक्षा पढ्दै गरेका छोराछोरी अनि गोदावरी घरमा रहेका आमा तथा श्रीमतीको आवश्यकता पूरा गर्न तथा घर खर्च चलाउन पनि प्रज्ञा प्रतिष्ठानको जागिरले केही न केही भरथेग गरेकै छ ।
उहाँले प्रज्ञा प्रतिष्ठानमा मौसम अनुसारका फूलहरु नर्सरीबाट किनेर लगाउनुहुन्छ । केही बिरुवा भने उहाँ यहीँ कलमीबाट पनि उमार्नुहुन्छ । एउटा मौसममा प्रतिष्ठानले करिब ५० हजार रुपैयाँको फूलका बेर्नाहरु लगाउने गर्छ । जसको हेरचाहको जिम्मा भने पहाडीको हुने गर्छ ।
वर्षा मौसममा फूलहरु त्यति नहुने भए पनि पहाडीले अहिले जिनिया, डालिया आदि फूलहरु लगाइ रहनुभएको छ । डालिया अर्थात हामीले बुझ्ने भाषामा जस्लाई लाहुरे फूल भनिन्छ ती फूलहरु अहिले पनि प्रज्ञा प्रतिष्ठानको बगैँचामा फुलिरहेको देख्न सकिन्छ । फूलको राजा मानिने गुलाफ छुट्ने कुरै भएन । अहिले पनि प्रज्ञाको बगैँचामा गुलाफ फुलिरहेको छ । त्यसका अलावा बेमौसमी फूलमा भने मेरीगोल्ड सकिएको भर्खरै एक महिना मात्र भयो । जाडो मौसममा भने फूलहरु धेरै फुल्छन् । त्यस समयमा भ्यागुते फूल, एन्टरनेम, प्युटोनिया, सिनेरिया, प्यान्जी, साल्भियालगायतका फूल लगाउनुहुन्छ उहाँ ।
मौसम अनुसार कस्ता फूल लगाउने भनेर उहाँको मनले निर्णय गरेपछि अफिसमा माग गरेर उहाँ फूलका बेर्ना किनेर ल्याएर लगाउनुहुन्छ । उहाँ धेरै जसो फूलका बेर्नाहरु न्यु सनफ्लावर नर्सरी शङ्खमूलबाट किनेर ल्याउनुहुन्छ । कहिलेकाहीँ अफिसमा बजेट पास हुन ढिलो भए पनि उहाँ बिरुवा उधारोमा भए पनि ल्याएर लगाउनुहुन्छ । पहाडी भन्नुहुन्छ, ‘अफिसको काम मिलेन भन्दैमा आफ्नो काम त रोक्नु भएन नि । अफिसले बिस्तारै दिँदै गर्छ । आफ्नो काम सकाउनु पर्छ ।’
गोदावरीमा धेरै नर्सरी व्यवसाय पनि छ । त्यहाँ उन्नत जातका फलफूल, फूल तथा अन्य बेर्ना तथा बिउ पनि पाइन्छ । तर, उहाँ भने घर गोदावरी भए पनि बिरुवा भने गोदावरीबाट ल्याउनुहुन्न । यसका बारेमा पहाडी भन्नुहुन्छ, ‘गोदावरी टाढा पनि भयो । पोलीमा बिरुवा ल्याउँदा धेरै हुने भएकोले ल्याउन सकिँदैन । त्यसैले गोदावरीबाट ल्याउने गरेको छैन ।’
अहिले प्रज्ञाको बगैँचामा बोधिचित्त लटरम्म फलिरहेको छ । ‘काँडा हुने बोधिचित्तका बोटबाट यसो मौका मिल्यो भने अहिले पनि दाना टिपेर खल्तीमा हाल्ने मान्छे छन्,’ पहाडी भन्नुहुन्छ । त्यस्तै रुद्राक्ष, चन्दन, कपुर, देवदार धुपीलगायत बिरुवाले प्रज्ञाको आँगन हरियाली बनाइरहेको छ ।
धुपीको प्रजाति हरियाली वर्गमा पर्छ । त्यसमा पनि देवदार धुपी भने सँधै एकदमै गाढा हरियो हुने भएकोले महँगो बिरुवामा पर्छ । प्रज्ञा प्रतिष्ठानमा रहेको दुईवटा देवदार धुपीमध्ये एउटा भने नेता वामदेव गौतमले वृक्षारोपण गर्नु भएको हो भने अर्को कुन मन्त्रीको समयमा भएको हो उहाँलाई अहिले हेक्का भएन ।
हरियालीका लागि प्रज्ञा प्रतिष्ठानमा समीको बार लगाइएको छ । जुन बाह्रैमास हरियो हुन्छ । तर, फूल भने फुल्दैन । अहिले प्रज्ञा प्रतिष्ठानले आफ्नो परिसरमा कफी पनि लगाएको छ । पाकेपछि रातो हुने कफीका दाना अहिले भने हरिया छन् ।
प्रज्ञा परिसरका ठूलो काँडे सल्लाको रुख पनि छ जुन सार्क शिखर सम्मेलनको बेलामा लगाइएको हो । चार वटा धुपी र काँडे सल्ला सम्मेलन अगावै प्रज्ञा प्रतिष्ठानमा थियो । अरु बिरुवाहरु भने पछि लगाइएको हो ।
वर, पिपल, असारे फूलहरु पछि मात्र रोपिएका हुन् । प्रज्ञा प्रतिष्ठनको वरिपरि त्यस बेला लहरे पिपलका रुखहरु थिए । लहरे पिपल कमजोर हुने र हावा हुरीले भाँचिएर दुर्घटना हुने भएकोले पछि ती सबै काटिए । अहिले प्रज्ञा प्रतिष्ठानको परिसरमा लोखर्के पनि देख्न पाइन्छ । पहाडी भन्नुहुन्छ, ‘यो आएको पनि धेरै भएको छैन । ३ वर्ष जति भयो ।’
पहिले प्रतिष्ठानमा बगैँचा सजाउने ९ जना कामदार थिए । त्यसको नेतृत्व भने पहाडीले गर्नुहुन्थ्यो । तर, समयक्रममा धेरैले अवकाश प्राप्त गर्दा अहिले ३ जना पुरुष तथा ३ जना महिला भर्खरै ज्यालादारीमा नियुक्त गरेको छ प्रज्ञाले । ‘ती भर्खर काम गर्न सुरु गरेका हुनाले मेसिनले घाँस काट्नेदेखि तालिम गराउँदैछु,’ पहाडी भन्नुहुन्छ, ‘महिलाहरुले रुख काट्न सक्दैनन् । मेरो अवकाश पछि त अफिस यसरी कसरी चल्ला र !’ उहाँको अवकाश २०८३ सालमा हुँदैछ ।
उहाँलाई आफू अवकाश भए पनि आफ्नो नाम रहने गरी बगैँचा सजाएर र भोलि काम गर्ने मान्छेले पनि त्यसैगरी सजाओस् भन्ने मन छ । पहाडी गुनासो गर्नुहुन्छ, ‘अवकाश हुने बेलासम्म सुधारेर नाम रहने गरी जाउँला भनेको माथिबाट गार्डेनसम्बन्धी चासो दिइएन ।’
उहाँले लैनसिंह वाङ्देल, माधव घिमिरे, तिल विक्रम नेम्वाङ (वैरागी काँइला) अनि अहिलेका कुलपति गंगाप्रसाद उप्रेतीसँग मात्र नभइ थुप्रै उपकुलपतिसँग पनि काम गर्नुभयो । तर उहाँलाई लागेको भनेको बगैँचासम्बन्धी चासो दिएर काम गर्ने उपकुलपति भनेको ईश्वर बराल हुनुहुन्थ्यो । यहाँ लगाइएका गुलाफहरु धेरै उहाँले लिएर आउनु भएको हो । उहाँलाई लगभग १ सय वटा गुलाफका नाम आउँथे र चिन्नु पनि हुन्थ्यो । अनि उहाँ बिहान आउने बित्तिकै एक पटक बगैँचा घुमेर मात्र कार्यालय छिर्नुहुन्थ्यो ।
तर, अहिले माथिको मान्छेलाई खासै चासो नभएको बताउने पहाडीको गुनासो छ, ‘बगैँचा राम्रो बनाउने भए मान्छे राख्दा मलाई छान्न दिनुपर्यो । घरमा लुगा धुने, भात पकाउने मान्छे ल्याएर भएन । प्राविधिक ज्ञान भएको मान्छे चाहियो,’ उहाँ अगाडि थप्नुहुन्छ, ‘सधैँ हरियो बनाउन पनि २/३ जना मान्छे घाँस सफा गरिरहन चाहिन्छ । तर, अहिले त मान्छे नै छैन । ट्रिमिङ नगरेको कत्ति भयो ।’
घाँस काट्दै गरेको मेसिन देखाउँदै पहाडी भन्नुहुन्छ, ‘मेसिनले काम नगरेर बल्ल बनाएर ल्याएको । अर्को नयाँ मेसिन किन्नका लागि २ वर्ष भयो माग फारम भरेर दिएको तर, बजेट छैन भनेर टारेको टार्यै ।’
बगैँचा राम्रो बनाउन माथिबाटै चासो नभएको गुनासो छ पहाडीको । उहाँ भन्नुहुन्छ, ‘गार्डेन के हो, हरियाली के हो भन्ने बुझ्ने मान्छे देखिएन ।’ यहाँको महँगो बिरुवा चोरेर लैजानेहरुसँग उहाँको चित्त दुखाइसमेत छ । उहाँ भन्नुहुन्छ, ‘एन्थरनेम एउटाको ४/५ हजार रुपैयाँ पर्छ । तर, यहाँ ल्यायो भने चोरेर लैजान्छन् ।’
आफूले देख्दा सार्क सम्मेलनपछि एकदमै राम्रो भएको बताउँदै पहाडी भन्नुहुन्छ, ‘त्यस बेला रुखहरु लगाए पनि माैसमी फूलहरु धेरै लगाइएको थियो ।’ प्रज्ञाको बगैँचा जोगाउने उहाँको आफ्नै सूत्र छ । उहाँले ढोकामा बस्ने चौकीदारलाई भन्नुभएको छ, ‘हाकिमले फूल टिपे पनि कारबाही गर्न मलाई भन्नुपर्छ । यो हाकिमलाई टिप्न रोपेको फूल होइन । कर्मचारी तथा बाहिरका मान्छेलाईसमेत आकर्षण तथा सौन्दर्यको लागि रोपेको हो ।’
बगैँचा जोगाउन पहिले पहिले उहाँको यहाँ आउने वरिष्ठ कलाकारहरुसँग झगडासमेत परेको छ । एक पटक एक जना वरिष्ठ गायिकाले फूल टिपेपछि उहाँले अब आइन्दा फूल टिप्नु भयो भने कारबाही अगाडि बढाउँछु भनेर धम्कीसमेत दिनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘नरम फूलका लागि कहिलेकाहीँ गरम पनि हुनुपर्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।