उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - नेपालबाट हराएर अमेरिका पुगेको पुरातात्विक महत्त्वको प्रस्तरको तारा र पार्वतीको प्राचीन मूर्ति फिर्ता गरिएको छ । नेपाल फिर्ता भएका ती मूर्ति पुरातत्व विभागले सार्वजनिक गरेको छ । फिर्ता भएको मूर्तिको तौल ८३ किलोग्राम छ ।
समभङ्ग मुद्रामा उभिएको कला शैलीको हिसाबले आरम्भिक मध्यकालको, हातमा नालसहितको कमलको फूल लिएको स्वरूपमा नवौँ र दशौँ शताब्तीतिर बनेको मूर्ति फिर्ता भएको पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिनुभयो । यो मूर्ति भक्तपुर नगरपालिका–७ गोलमढी टोलमा रहेकाे वीरभद्रेश्वर मन्दिरमा स्थापित थियो ।
यो मूर्ति सन् १९७६ तिर चोरी भइ विभिन्न माध्यम हुँदै सन् २०१५ मा अमेरिकाको कनेक्टिकटमा रहेकाे याले विश्वविद्यालयको आर्ट ग्यालरीले प्राप्त गरेको थियो । मूर्तिको उत्पत्तिस्थल नेपाल भएको आधारमा विश्वविद्यालयको आर्ट ग्यालरी फिर्ता गर्न तयार भएको थियो ।
मूर्ति नेपाल ल्याउन बीमा र ढुवानीको खर्चसमेत विश्वविद्यालयले नै व्यवस्था गरेको हो । अमेरिकाको सहयोगमा गएको जेठ महिनामा चतुर्मुखी शिवलिङ्ग, प्रस्तरको उमामहेश्वरको मूर्ति, प्रस्तरको नागराजको मूर्ति, पद्मपाणि लोकेश्वर अर्थात बोधिसत्व अवलोकितेश्वर मूर्ति र प्रस्तरको शाक्यमुनिको मूर्ति पनि नेपाल फिर्ता भएको थियो ।
प्रस्तरको चतुर्मुखी शिवलिङ्ग विशेष प्रकारको छ । तीन तहको यो मूर्तिमा ब्रह्मभाग, विष्णुभाग र शङ्करभाग छ । खम्बामाथि बनेको यो मूर्ति सन् १९८० को आसपासमा पशुपति क्षेत्रबाट हराएको थियो । प्रस्तरको उमामहेश्वरको मूर्ति ललितपुर महानगरपालिका–११ गाःहिटी टोलमा रहेको थियो । यो मूर्ति सन् १९६० मा हराएको हो । यो मूर्ति १०औँ शताब्दीको हो । यो मूर्ति अमेरिकाको डेनभर आर्ट सङ्ग्रहालयको एसिया सङ्कलनमा भेटिएको थियो ।
प्रस्तरको नागराजको मूर्ति १२औँ वा १३औँ शताब्दीको हो । यो मूर्ति सन् १९८२ मा नक्साल क्षेत्रबाट हराएको हो । पद्मपाणि लोकेश्वर अर्थात बोधिसत्व अवलोकितेश्वर मूर्ति सन् १९५० तिर हराएको विभागले जनाएको छ ।
यो मूर्ति अमेरिकाको एक निजी कम्पनीको सङ्कलनमा रहेको थियो । प्रस्तरको शाक्यमुनिको मूर्ति पनि सन् १९५० कै दशकमा हराएको हो । यूपीएस कार्गोले यी मूर्ति निःशुल्क फिर्ता गराउन सहयोग गरेको विभागका महानिर्देशक गौतमले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।