‘जितेपछि उम्मेदवारले ७ तला माथिबाटै चिन्दिनँ भन्छन्’

 वैशाख ३०, २०७९ शुक्रबार १३:५३:४८ | रासस
unn.prixa.net

मतदान गर्दै काठमाण्डाैका मतदाता

काठमाण्डौ – ‘भोट माग्दा भद्र र इमानदार हुने उम्मेदवारले जितेपछि सात तला माथिबाटै चिन्दिनँ भन्छन्’, स्थानीयवासी बुद्धिमाया श्रेष्ठले भन्नुभयो । काठमाण्डौ महानगरपालिकाको वडा नं १६ को नेपाल युवक माध्यमिक विद्यालयमा आफ्नो मताधिकार प्रयोग गर्न आउनुभएकी ७७ वर्षीया उहाँले मत माग्ने समयमा नागरिकलाई चिनेझैँ गर्ने उम्मेदवारलाई जितेपछि पनि त्यस्तै व्यवहार गर्न सुझाव दिनुभयो । 

जित जसको भए पनि खासै समस्या छैन तर मत माग्ने बेलामा जसरी नागरिकलाई भगवान् झैँ गर्छन् त्यसैगरी विकासको काममा जनतामाथि घात नगर्नुस् भन्दै बुद्धिमायाले आक्रोश पनि व्यक्त गर्नुभयो । यो उमेरसम्म आइपुग्दा धेरै पटक मतदान गरियो मतदान अघि नेताले जनतासामु गरेको वाचा पूरा गरेनन् उल्टो मतदातामाथि नै घात गर्ने काम हुँदै आएको उहाँको गुनासो थियो । 

जनप्रतिनिधिसँग त्यति धेरै माग पनि छैन, दुःखी जनतालाई खान र बस्नका लागि सामान्य व्यवस्था गर्नसक्नेलाई काम गर्ने वातावरण सिर्जना गरिदिए हुन्थ्यो भन्दै बुद्धिमायाले प्रतिनिधिमूलक पात्रका रूपमा नागरिकको अपेक्षा सुनाउनुभयो । 

वडा नं १६ की अनिता दलीले पनि आफूले मतदान गरिसकेको बताउँदै इमानदारपूर्वक मतदाताको मतको सदुपयोग गर्न उम्मेदवारलाई आग्रह गर्नुभयो । ‘मत माग्ने बेलामा जस्तै व्यवहार जितपछि पनि गर्नुस् र विकासमा केन्द्रित हुनुस्’’, उहाँले भन्नुभयो । 

वडा नं १७ की पूजा शाहीको पनि खासै फरक माग छैन । ‘जनप्रतिनिधिले काठमाण्डौ सहरको फोहर दीर्घकालीन रूपमा समाधान गर्न र महिलाका लागि केही विशेष कार्यक्रम ल्याए हुन्थ्यो, जसले जिते पनि नगरवासीको फाइदाका लागि काम गर्नुस्’, उहाँले शुभकामना दिँदै भन्नुभयो । यसअघि झैँ हामीले पीडा खेप्न नपरोस् भन्दै कामपा वडा २८ का विश्वराज रेग्मीले मतदान केन्द्रमै भन्नुभयो, ‘नेताको व्यवहार निर्वाचनअघिकै झैँ भए नगरको मुहार फेरिथ्यो ।’ 

‘मत माग्ने समयमा गरेका सबै वाचा नबिर्सन र कुर्सी पाएपछि चुनावअघिका वाचालाई विकासको एजेन्डा बनाउने नेता चुन्नुपर्छ’, बागबजार पद्मकन्या क्याम्पसमा रहेको मतदान केन्द्रबाट मतदान गरेपछि उहाँले यो कुरा बताउनुभएको होे । विगतका चुनावमा जस्तै यस वर्ष पनि चुनावअघि र पछिको सङ्कल्पमा परिवर्तन नगर्न नगरवासीले खबरदारी गर्न थालेका छन् ।

पालिका चुनावका लागि कामपामा एक सय ५६ मतदान स्थल र तीन सय ६३ केन्द्र निर्धारण गरिएको छ । तीन लाख दुई सय  ४२ मतदाता रहेको कामपाको वडा नं १६ मा सबैभन्दा धेरै २० हजार एक सय ७५ मतदाता छन् ।  

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया