उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – निर्वाचन आयोगले भोलि शुक्रवार हुने पालिका चुनावको सबै तयारी पूरा भएको जनाएको छ । आयोगमा आज बिहीवार भएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले देशभरका सबै मतदान केन्द्र र स्थलमा मतदानको तयारी पूरा भएको जानकारी दिनुभयो । चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आयोग प्रतिबद्ध रहेअनुसारका तयारी पूरा भएको उहाँले जानकारी दिनुभयो ।
आयुक्त थपलियाले कसैको लोभ र प्रलोभनमा नपरि आफूलाई मन परेको उम्मेदवारलाई ढुक्क भएर बदर नहुने गरी मत दिन आग्रह गर्नुभयो । भोलि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । मतदान सकिएपछि सुरक्षित तरिकाले गणना स्थलमा लगिने र जतिसक्यो छिटो गणना सुरु गर्ने थपलियाको भनाइ छ ।
मतदानका लागि मतदाता नामावलीमा नाम भएको हुनुपर्छ । मतदाता परिचयपत्र हराएका र कतै छुटेका व्यक्तिले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र वा जग्गाधनी पुर्जाको आधारमा मत दिन पाउने आयोगले जनाएको छ ।
३५ हजार दुई सय २१ जना जनप्रतिनिधि छान्नका लागि हुने चुनावमा ५५ हजार ६ सय ९८ जना महिला र ८९ हजार तीन सय १३ जना पुरुष गरी एक लाख ४५ हजार ११ जना प्रतिस्पर्धामा रहेका छन् । विभिन्न राजनीतिक दलका तीन सय ५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् । चुनावमा १० हजार सात सय ५६ मतदान केन्द्रका २१ हजार नाै सय ५५ मतदान स्थल रहेका छन् । मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार सात सय २३ जना रहेको निर्वाचन आयोगले जनाएको छ ।
मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीहरूसहित एक लाख नाै हजार ८८ जना कर्मचारी र ६५ हजार आठ सय ६५ जना स्वयंसेवक आ–आफ्नाे मतदान केन्द्र पुगिसकेका छन् । पालिका चुनावमा भाग लिने भनि दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
यस पटकको चुनावमा एक लाख जना म्यादी प्रहरीसहित दुई लाख ६० हजार सुरक्षा जनशक्तिले सुरक्षा दिँदैछन् । यसमध्ये ६५ हजार नेपाल प्रहरी, ३२ हजार सशस्त्र प्रहरी र ७१ हजार जना सेना खटिएका छन् । मतदान स्थललाई तीन घेरामा सुरक्षा प्रदान गरिएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालित भएका गृह मन्त्रालयले जनाएको छ ।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवाल जुनसुकै मतदानस्थलमा बढीमा ३० मिनेटभित्रमा पुग्ने गरी सेनाले सुरक्षा रणनीति बनाएको जानकारी दिनुभएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसी यसपालि आपराधिक समूहको सक्रियता शून्य रहेकाले निर्वाचन सुरक्षा चुनौती कम रहेको तर दल र प्रतिनिधिबीच हुन सक्ने सम्भावित घटनाप्रति प्रहरी सचेत रहेको बताउनुभयो । देशभरका धेरैजसो मतदान केन्द्र र मतगणना स्थलमा यस पटक सीसीटिभी क्यामेरा जडान भएकाले पनि उच्छृङ्खल गतिविधि कम हुने प्रहरीको अनुमान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।