'भिजन' भएका युवा मेराे टिममा आउनुस् : केशव स्थापित

 वैशाख २६, २०७९ सोमबार १३:४१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेकाे तर्फबाट काठमाण्डाै महानगरपालिकाकाे मेयरमा उम्मेदवारी दिनुभएका केशव स्थापितले आफू विजय भएमा योजना भएका मानिसहरूलाई मात्रै आफ्नो टिममा समावेश गर्ने बताउनुभएकाे छ । आज साेमवार न्युज एजेन्सीसँगको कुराकानीमा उहाँले हरेक क्षेत्रमा काम गर्नका लागि भिजन भएकाहरूको आवश्यक पर्ने भएको र त्यो योजना युवा पुस्तामा मात्रै रहेकोले युवालाई आफ्नो टिममा समावेश गरेर विकासका कार्यक्रमलाई अघि बढाउने बताउनुभयो । 

मेयरका उम्मेदवार स्थापितले युवामा पनि महिलाले भ्रष्टाचारका गतिविधि गरेको नदेखेको भन्दै उनीहरूलाई आफ्नो टिममा समावेश गरेर काम गर्ने उल्लेख गर्नुभयाे । उहाँले भिजन भएका युवालाई आफ्नो टिममा आउनका लागि आह्वानसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सबै ज्ञान भएका मान्छे बाहिर हुने र केही थाहा नभएका मान्छे टोलीमा हुनु हुँदैन, त्यसैले मैले युवा इन्जिनियर आउ भनेको छु । स्वास्थ्यको क्षेत्रमा काम गर्ने मानिस आउ, मसँग भएका फोरममा आएर काम गर्ने यो पुस्ता हो । हाम्रो पुस्ताले काम लाग्दैन । हामीले वातावरण मिलाउनका लागि केही समय काम गर्ने हो । मलाई धेरै विश्वास भनेको युवामा छ । त्यसमाथि पनि महिलामा धेरै विश्वास छ । उनीहरू आएर आफ्नो खुबी देखाउन् । बराबरीभन्दा धेरै महिलाको सहभागिता चाहेको छु । म कैयौँ कुरा सुधार गर्छु ।’

स्थापितले आफू मेयर बनेपछि सबैभन्दा पहिला त्रिचन्द्र कलेजको पुनर्निर्माण गर्ने बताउनुभयो । अहिले भइरहेको कलेजको पढाइलाई केही परिवर्तन गरेर त्रिचन्द्रलाई स्तरोन्नति गर्ने उहाँकाे भनाइ छ । कलेज पुनर्निर्माण गर्दा सबै पार्टीको अवधारणाअनुसार मिलेर काम गर्ने पनि उहाँले सुनाउनुभयाे । फोहर व्यवस्थापन गर्न नसक्दा काठमाण्डाैकाे सुन्दरता नै खलबलिएको स्थापितले बताउनुभयो ।

मेयरका उम्मेदवार स्थापितले काठमाण्डाै महानगरपालिकाभित्र रहेका केही सांस्कृतिक सम्पदाहरू लोप हुन लागेको भन्दै ४८ वटा सम्पदाको एकै पटक जग हालेर काम सुरु गर्ने बताउनुभयो । उहाँले सरकारले सार्वजनिक ठाउँमा शौचालय नबनाउने र दिसापिसाब गर्दा कारबाही गर्ने गरेको भन्दै पहिला शौचालय बनाएर मात्रै नियम कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । 

न्युज एजेन्सीसँगको कुराकानीमा उहाँले भन्नुभयाे, ‘मैले अहिले मानिसहरूले बिर्सिसकेका ४८ वटा मन्दिर छानेको छु । २०९० सालको भूकम्प गएपछि कसैले विषय नै उठाएको छैन । ती ४८ वटाको जग म एकै पटक हाल्छु । काठमाण्डाैमा म ६ महिनाभित्रमा विभिन्न पार्कहरू बनाउँछु । शौचालय नबनाउने अनि पिसाब फेरे कारबाही गर्ने भन्ने हुन्छ ? मोटरसाइकल पार्किङ स्थल नबनाउने अनि पार्किङ गर्‍याे भनेर समात्ने हुन्छ ? सबै बनाउनुपर्छ नि । म यसबारेमा विभिन्न फोरम बनाएर काम गर्छु ।’

स्थापितले अहिले पनि दुई सय ५० भन्दा धेरै (खाली जग्गा) सरकारी सम्पत्ति पर्खाल लगाएर राखेकाले त्यसलाई भत्काएर नयाँ संरचना बनाउने बताउनुभयो । उहाँले सबै क्षेत्रलाई ठाउँ मिल्ने गरेर कार्यक्रम बनाउने घोषणा गर्नुभयो । काम गर्न सरकारीतर्फबाट व्यवधान आए अदालतबाट न्याय खोजेर भए पनि काम गर्ने उहाँको प्रतिबद्धता छ । 

मेयरका उम्मेदवार स्थापितले भन्नुभयो, ‘म प्रमाणित मान्छे हो । म पहिला काम गरेर देखाउँछु अनि सबैले भन्नेछन् यसले काम गर्छ भनेर । मैले मण्डला बनाएँ । राति चिसो केही नभनिकन आफैँ उभिएर बनाएको हो । म काठमाण्डाैलाई बनाउन सक्छु । मसँग त्यो कला छ ।’

स्थापितले आफ्नाे विज्ञ टिमले महानगरले ४८ अर्ब रुपैयाँ राजस्व उठाउन बाँकी रहेकाे पत्ता लगाएको र त्यो रकम आफू मेयर बनेको ६ महिनाभित्र उठाएर महानगर विकासका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले धेरै काम गरेको तर भन्न नजानेको दाबी गर्नुभयाे । भूकम्प र कोरोनाकालमा समेत विकासका कामहरू भएकोप्रति उहाँले खुशी व्यक्त गर्नुभयो । 

केशव स्थापित धेरैजसाे महानगरवासीले सुनेको नाम हो । अज काठमाण्डाै महानगरवासीका लागि त स्थापित मेयर साबबाट परिचित हुनुहुन्छ । उहाँ यसअघि दुई पटक काठमाण्डाैको मेयर हुनुभएकाे थियाे । खेलकुद परिषद्को सदस्य सचिव, उपत्यका विकास प्राधिकरण प्रमुख, बाग्मती प्रदेशका लागि भौतिक योजना तथा विकास मन्त्रीसमेत बनिसक्नुभएका स्थापितले मेयरमा रहँदा भने महानगरवासीका लागि सम्झन लायक केही काम गर्नुभएकाे थियाे । स्थापितको पालामा काठमाण्डाै महानगरमा धेरै काम भएको र उहाँले नै काठमाण्डाैमा आकाशे पुल, सडक फराकिलो बनाउने कामको सुरु गरेको एमालेका नेताहरूको दाबी छ ।

तिनै स्थापित यस पटक नेकपा एमालेको तर्फबाट फेरि काठमाण्डाै महानगरको मेयर पदमा उम्मेदवार बन्नुभएकाे छ । उहाँको मुख्य प्रतिस्पर्धीकाे रूपमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंह रहनुभएको छ । स्थापितसँगै काठमाण्डाै महानगरको उपमेयरमा पूर्व मिस नेवा सुनिता डङ्गोललाई एमालेले उभ्याएको छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया