मुख्यमन्त्री रोजगार कार्यक्रम : सीपसँगै स्वरोजगार

 साउन १०, २०७८ आइतबार ११:५०:३८ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

दाङ – लुम्बिनी ग्रामीण रोजगार कार्यक्रमले नागरिकलाई स्वरोजगार बनाउने लक्ष्य राखेको छ । त्यही अनुसार तुलसीपुर उपमहानगरपालिकामा गएकाे आर्थिक वर्षदेखि कार्यक्रम सञ्चालित छ । सीप मात्रै सिकाउनेभन्दा पनि आम्दानीको मुख्य स्रोत बनाउने लक्ष्यअनुरुप यो कार्यक्रम सञ्चालित रहेको कार्यक्रमका विज्ञ सदस्य विनोद शर्माले बताउनुभयो । 

“हामीले रोजगारी सिर्जना गर्न शुरुमा तालिम प्रदान गर्छौं”, उहाँले भन्नुभयो “तालिमपछि हामीले आवश्यक सामग्री पनि प्रदान गर्छौं ।” यसरी सामग्री प्रदान गर्दा व्यावसायिक रुपमा अघि बढ्न प्रेरणा मिल्ने गरेको तालिममा सहभागीको भनाइ छ । 

“हामीले सीप मात्रै सिकेनौँ, सीप सिकेपछि सामग्री पनि पायौँ”, तुलसीपुर–१२ निवासी नेत्राकुमारी ओलीले भन्नुभयो, “अहिले हामीलाई काम गर्न निकै सजिलो भएको छ ।”

उहाँले च्याउ खेती तालिम पाउनु भएको थियो । त्यस्तै च्याउ खेती तालिम लिएकी लक्ष्मी घर्तीले सामग्री पाएपछि खुशी भएको बताउनुभयो । उहाँलाई पराल काट्ने मेसिनदेखि लिएर च्याउका लागि आवश्यक पर्ने सामग्री प्रदान गरिएको हो ।

तुलसीपुर– १६ का युवा खगेन्द्र डाँगीले कलमी बिरुवा उत्पादन गर्ने तालिम लिने अवसर प्रदान गर्नुभयो । त्यो तालिममा व्यावहारिक भन्दा पनि बढी सैद्धान्तिक ज्ञान प्रदान गरिएकाले कृषिखेतीमा थप उत्साहित बनाएको प्रतिक्रिया दिनुभयो ।

“अब कृषि खेतीमा युवा सक्रिय हुनुपर्छ, यसरी हामीले ठूलो क्षेत्रफलमा लगाएको कागती खेती देख्दा निकै खुशी भएका छौँ, अझ हामीले यही आएर कागतीका बेर्ना उत्पादन गर्न सिक्यौँ”, उहाँले भन्नुभयो, “यसले हामीलाई हौसला प्रदान गरेको छ ।”

त्यस्तै अर्का युवा झक्कुप्रसाद जैसी पनि निकै खुशी देखिनु हुन्छ । कागती उत्पादनको ठूलो क्षेत्रमा आएर कलमी बिरुवा उत्पादन गर्न पाउँदा खुशी भएको उहाँले बताउनुभयो ।  तुलसीपुर– १३ मा कुटानी पिसानीको मिल थिएन । त्यहाँका नागरिकलाई रोजगारी पनि हुने र कुटानी पिसानीका लागि पनि सहज होस्, भनि कुटानी पिसानी मिल उपलब्ध गराइएको छ । यसले आफूहरुलाई स्वरोजगार बनाएको स्थानीयवासी गोविन्द नेपालीले बताउनुभयो ।

यति मात्रै होइन, मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमले मोटरसाइकल मर्मत तालीम प्रदान गरेर मर्मतका लागि आवश्यक सामग्री प्रदान गरेको थियो । त्यस्तै कपाल काट्ने तालीम, प्लम्बिङ, दूधका परिकार बनाउने, टनेल निर्माण तालीम, बाँसका सामग्री बनाउने तालीम, ब्युटीपार्लर तालिम, चप्पल निर्माणलगायतका जीवन उपयोगी तालिम प्रदान गरिएको थियो ।

सामाजिक, आर्थिक तथा शैक्षिकरुपमा पछि परेका वर्गलाई रोजगारमा जोड्नका लागि यस्तो खालका कार्यक्रम सञ्चालन गरिएको विज्ञ सदस्य शर्माले बताउनुभयो । साथै शारीरिकरुपमा अपाङ्गता भएका व्यक्तिलाई पनि उक्त तालीम प्रदान गरिएको हो ।

उहाँले सीप सिकेर मात्रै नहुने भएकाले व्यावहारिक प्रयोग आवश्यक रहने हुँदा तालिमपछि यसरी सामग्री वितरण गर्दा सीपको सदुपयोग हुने बताउनुभयो । “अहिले धेरैको सीप सिक्ने तर, व्यवहारमा नउतार्ने समस्या देखिएको छ”, उहाँले भन्नुभयो, “यसरी सीप प्रदानपछि सामग्री वितरण गर्दा उहाँहरुले आफैँ पनि सीपलाई प्रयोग गर्नुहुन्छ, यसले सकारात्मक प्रभाव पार्छ ।”

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया