उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
अहिले परिस्थिति एकदम डरलाग्दो छ । हाम्रो हातमा नभएका कुराहरु भइरहेका छन् । यसले सबै खालका उमेर समूहका मानिसलाई असर पारेको छ, त्यसमा पनि थोरै कुरा बुझ्न सक्ने, भइरहेको परिस्थिति बुझ्न नसक्ने विकासात्मक तहलाई हेर्दा कमजोर बालबालिकालाई समेत अन्योल बनाएको छ । उनीहरुमा डर त्रास हुनु, फरक परिस्थिति किन भइरहेको हो भन्ने कुरा उनीहरुबाट आइरहेको हुन्छ । यतिबेला उनीहरुलाई कहिले स्कुल खुल्छ, भाइरस सर्छ, बिरामी परिन्छ लगायतका कुरा मनमा आइरहेको देखिन्छ ।
बालबालिकाहरु डर त्रासमा नै छन् । उनीहरुका लागि यो पूर्ण नयाँ तरिका जस्तो भएको छ । पहिला खाना खाने, स्कुल जाने, पढ्ने, साथीसँग खेल्ने, घरमा आएर होमवर्क गर्ने, अभिभावकसँग कुरा गर्ने, खाना खाने अनि सुत्ने काम गर्दा उनीहरुको दैनिक नै फरक हुन्थ्यो । रुटिन नै फरक हुन्थ्यो । अहिले २४ घण्टा कम्प्युटरमा बस्नु परेको छ, ग्याजेटसँगै बस्नु परेको छ ।
अतिरिक्त क्रियाकलाप पनि हुँदैनन् । अभिभावकका आआफ्ना काममा जानुपर्ने बाध्यता हुन्छ, बालबालिकाहरु एक्लै बस्नु पर्ने हुन्छ । आफ्नो साथीसँग कक्षा भएको समयमा एकैछिन मात्रै भेट हुन्छ, मोबाइलमार्फत । उनीहरुको साथी नै मोबाइल लगायतका ग्याजेट भएको छ । उनीहरुमा प्रविधिको ‘ओभर युज’ भइरहेको छ । जसले गर्दा उनीहरुमा आउने प्रायः शारीरिक तथा मानसिक सबैखाले असर देखिन्छ ।
ओभर प्रयोगका कारण कारण बालबालिकालाई अन्य कुरामा ध्यान केन्द्रित गर्नलाई गाह्रो बनाउँछ । मोबाइल ल्यापटप लगायतका ग्याजेटको स्क्रिन तथा पोग्राम यति छिटो चल्छ कि सामान्य मानिसले गर्ने क्रियाकलापदेखि नै बालबालिकालाई झ्याउ लाग्न थाल्छ । अध्ययनहरुले पनि यस प्रकारको समस्यालाई धेरै देखाएको छ । ग्याजेटको तुलनामा मानिसले बोलेको उनीहरुलाई निक्कै ढिला लाग्छ । जसको कारण उनीहरुलाई कुनै कुरामा ध्यान लगाउन नै गाह्रो पर्छ ।
मोबाइलको स्क्रिन छिटो चलेजस्तै उनीहरुलाई छिटो चलाउने वा चल्ने बानी परिसकेको हुन्छ । कुराहरु छिटोछिटो सुनिहालौँ भन्ने खालको सोचाइ हुन्छ । हामीले बिस्तारै कुरा गर्दा उनीहरुलाई बोरिङ हुन्छ । त्यस्तै कार्टुनमा कति छिटो बोल्छ कति छिटो चल्छ जुन सामान्य जीवनमा हुन सक्दैन । उनीहरुले त्यही खोज्ने भएकाले लामो समय सम्पर्कमा बस्न सक्दैनन् । उनीहरुमा धैर्य गर्न सक्ने क्षमता नै हुँदैन ।
अर्कोे बालबालिकाको सामाजिकीकरणमा पनि समस्या भएको छ । उनीहरु सामाजिकीकरणको क्रममा आवश्यक पर्ने समस्या समाधान गर्ने पक्षबाट पनि वञ्चित भएको पाइएको छ । विद्यालय नगइ भर्चुअल विधिमार्फत अध्ययन गर्दा उनीहरुको समग्र विकासलाई नै असर पुगेको छ । तर उनीहरुसँग अन्य गर्ने कार्यक्रम नै नभएका कारण पनि उनीहरुमा भइरहेको समस्याबारे उनीहरुलाई नै जानकार भएका हुँदैनन् ।
अभिभावकले बालबालिकाहरु मोबाइल, टीभीमा भुलिरहेका छन्, हामीहरुले आनन्दले आफ्नो काम गर्न पाइरहेका छौँ भनेर ढुक्क मान्छाैँ । अर्कोतिर उनी हले के गर्ने भन्नेबारे सोचेका पनि हुँदैनन् । अभिभावकले हामीलाई ढुक्कले छाडिदिनु भएको छ, हामीले गर्ने काम नै यही रहेछ भन्ने बालबालिकाले सोच्ने गर्छन् । उनीहरुले अरु विकल्प नै खोज्दैनन् । अरु के कुराले आफूलाई खुसी बनाउँछ भनेर नै खोज्नै चाहँदैनन् ।
साथीहरुलाई भेट्न नपाउँदा पनि उनीहरुलाई तनाव बढाएको हुन्छ । कस्तो बोर लाग्छ अनलाइन क्लास भनेर बालबालिकाले नै भन्ने गरेको सुनिन्छ । आफ्नो मन पर्ने साथीसँग अनलाइनमा अनुहार मात्रै देखिने तर अन्तरक्रिया गर्न नपाउँदा पनि उनीहरुमा समस्या आएको देखिन्छ । उनीहरुलाई त्यस कुराको अभाव भइरहेको हुने रहेछ । अनलाइनमा फोटो मात्र देखिने, तर कुराकानी गर्न नपाउँदा पीडा हुने अनुभव बालबालिका स्वयं बताउँछन् ।
ठूलो उमेरका मानिसमा पनि लगातार कम्प्युटर वा ल्यापटपमा बसिरहँदा वा पोग्राम गर्दा अप्ठ्यारो हुने, के गरौँ कसो गरौँ हुने लगायतका एन्जाइटीका समस्या आइरहेको देखिन्छ । ड्रग्स अल्कोहलले जसरी लत बस्छ त्यसरी नै कम्प्युटर लगायतको पनि लत बस्छ । लत बस्दा जे जे कुराको समस्या देखिन्छ त्यसका सबै प्रकारका लक्षणहरु यसका कारण पनि देखा पर्छन् । अनलाइन कक्षाले अहिले बालबालिकामा एन्जाइटी बढाउने काम गरिरहेको छ ।
बालबालिकाकहरुले आफूमा भएको क्षमता केही न केही माध्यममार्फत निकालिरहेका हुन्छन् । कथा पढेर, कविता लेखेर वा साथीसँग घुलमिल गर्ने, खेल्ने गरेर आफ्नो तनाव व्यवस्थापन गरिरहेका हुन्छन् । नजानी नजान पनि उनीहरुले यी उपायहरु गरिरहेका हुन्थे । त्यसैले समस्या समाधान हुन्थ्यो । अहिले उनीहरूले यस्तो अवसर पाएका छैनन् । नयाँ वातावरणमा नयाँ तरिकाले सिक्नु परेको छ । घरभित्रै बस्नु परेको छ । साथीभाइबाट टाढा भएका छन्। जसले झनै तनाव बढाएको छ । क्रिएटिभ काममार्फत तनाव कम गर्ने वातावरण नपाएपछि यस्ता समस्या देखिने गर्छ । यसले गर्दा एन्जाइटीको समस्या बढाइरहेको छ ।
सामान्यतया ग्याजेटमा लगातार हेरिरहँदा उनीहरुको शरीरको अवस्था मिलिरहेको हुँदैन । उनीहरुले मिलाएर बस्न जानीराखेका हुँदैनन् । हलचल नगरि लामो समयसम्म एकै ठाउँमा बस्दा यताउता चलि राख्न सक्दैनन् । यसले गर्दा फ्लेक्जिवल भइरा्खुनपर्ने शरीरका पार्टहरु हलचल हुन पाउँदैनन् । यसले गर्दा घाँटीको मांशपेसी दुख्ने, टाइप गर्दा हात दुख्ने, टाउको दुख्ने समस्या देखिरहन्छ । बाहिर नजाँदा घाममा नबस्दा भिटामिन 'डी'को समेत कमी भइरहेको हुन्छ ।
अनलाइन लगायतका प्रविधि अहिलेको अवस्थामा वरदान जस्तै भएका छन् । यति नगरेको भए अझै धेरै अप्ठ्यारो परिस्थिति आउन सक्थ्यो होला । अनलाइन कक्षा असामान्य परिस्थितिमा बाध्यात्मक छ । संसारभरि यसैको प्राक्टिस भइरहेको छ । बाध्यतावश करिब एक डेढ वर्षदेखि, बालबालिकाहरु घरभित्रै बसेर अनलाइन कक्षा लिइरहेका छन् । यस अवधिमा उनीहरुमा आएको परिवर्तनबाट यसको असर थाहा पाउन सकिन्छ । पहिला सामान्य रहेको बच्चा झिझिने, समयमा नसुत्ने, बाहिर जान नमान्ने खालका बानी व्यवहार परिवर्तन हुँदै आएको छ । शान्त बच्चा आत्तिएको,छटपटिएको छ । मन दु:खी बनाइराख्ने, अन्तरक्रिया गर्न नमान्ने, मोबाइल, ल्यापटाइप चाहियो, रिसाउने भनेर झगडा गरिरहने लगायतका लक्षण स्वतः मानसिक स्वास्थ्य समस्याका लक्षणहरु हुन् ।
समस्या समाधान कसरी ?
अनलाइन कक्षासँग मात्रै सम्बन्धित कुरा हैन यो, परिस्थिति नै त्यस्तै छ । यो त बाध्यता हो । अनलाइन कक्षाबीच हुने ब्रेक तथा क्लास सकिसकेपछिको समयमा उनीहरुलाई रमाइलो हुने, उनीहरुले मन पराउने खालका अन्य कार्यक्रम बनाइदिन सकिन्छ ।
बालबालिका स्वयंले मलाई काम दिनुहोस् भनेको पनि सुनिन्छ । यस्तो बेलामा उनीहरुले गर्न सक्ने काम लगाउन सकिन्छ । साथै अभिभावकले उनीहरुका लागि समय छुट्याइदिनुपर्छ । यो परिस्थिति सधैँ रहिरहँदैन । चाँडै नियन्त्रणमा आउला । त्यति बेलासम्मको लागि उनीहरुसँग घुलमिल हुने खालका काम तथा खेलकुद गर्न सकिन्छ । उनीहरुलाई हाँस्न खेल्न लगाउने, कथा भन्ने, लेख्न लगाउने लगायतका क्रियाकलाप गर्न सकिन्छ । यसरी अभिभावकको फुर्सदको समयमा बालबालिकासँगै रहेर विभिन्न क्रियाकलाप गर्दा उनीहरुमा देखिएका समस्या हट्दै जान सक्छन् । विद्यालयमा जसरी हाफ छुट्टि छुट्याइएको हुन्छ, बालबालिकाको लागि घरमा पनि त्यस्तै वातावरण बनाइदिनु पर्छ ।
कतिपय अभिभावकमा मोबाइल र कम्युटर हेर्न थालेपछि घरभित्र बालबालिका घरभित्रै बसिरहेका छन्, हेर्न त परेको छैन, भुलिरहेको छ भन्ने खालको सोचाइ रहेको पाइन्छ । बाहिर दुनियाँमा पनि रमाइलो छ है भन्ने कुरा बालबालिकालाई बुझाइरहनु पर्ने हुन्छ । बालबालिकाले त्यो बुझेकै छैनन्, त्यही कारण बाहिर जान उनीहरु मान्दैनन् । जसका लागि अभिभावक आफैँ सचेत भएर उनीहरुलाई मनाउन सक्नुपर्यो । बालबालिकालाई तिमीले यस्तो गर्यौ भने म यस्तो पुरस्कार दिन्छु भनेर पनि बाहिरको वातावरण घुलमिल गराउने कोशिस गर्नुपर्छ । यस्ता कुरालाई सानैदेखि बानी लगाउनु पर्छ । उमेर बढ्दै गएपछि यस्ता कुरामा बानी लगाउन गाह्रो हुन्छ । यस कुरामा अभिभावकले विशेष ध्यान दिनुपर्छ ।
अभिभावकसँगै शिक्षकको भूमिका पनि महत्त्वपूर्ण हुन्छ । अहिलेको परिस्थितिमा शिक्षक आफैँ पनि तनावमा हुनुहुन्छ । शिक्षक तनावमा रहेको अवस्थामा बच्चामा पनि यसको असर देखिन सक्छ । नयाँ प्रविधिसँग आफूलाई मिलाउन उहाँहरुलाई निक्कै अप्ठ्यारो भइरहेको देखिन्छ । यसमा उमेर समूह अनुकूल पनि फरक पर्छ । नयाँ पुस्ताको शिक्षक हुनुहुन्छ भने उहाँले स्थिति अनुसार प्रविधिको प्रयोग गर्न सक्नुभएको छ, तर पुरानो पुस्ताका शिक्षकले प्रविधिको प्रयोगकै विषयले तनाव लिइरहनु भएको देखिन्छ ।
शिक्षकहरु अभिभावक भएको नाताले यस्तो परिस्थिति सधैँ हुदैन, यसलाई समाधान गर्नुपर्छ भन्ने सोचेर तनाव व्यवस्थापन गर्नुपर्छ । बालबालिकाको समस्यालाई कम गराउनका लागि ४५ मिनेटको कक्षालाई तीन भागमा विभाजन गरेर उनीहरुलाई पीटी गराउने, जिउ चलाउन लगाउने, पानी खाएर आउ लगायतका काम अह्राउन सकिन्छ । अर्को कुरा देखिराखेको साथीसँग बोल्न नपाउँदा धेरै चित्त दुखाउँछन्, बालबालिकाले । उनीहरुका लागि समूह विभाजन गराएर आफ्ना मन पर्ने साथीसँग कुराकानी गर भनेर एकछिन समय निकाल्न सकिन्छ । पाँच मिनेट गफ गर भनेर छाड्न सकिन्छ ।
त्यसबीच भएका महत्त्वपूर्ण कुरा कक्षामा भन भनेर लगाउन सकिन्छ । यसरी गराउँदा बालबालिकाको सहभागिता पनि हुन्छ, उनीहरु रमाउँछन् पनि । अनलाइन कक्षाको असरले उनीहरुमा मानसिक, शारीरिक समस्या देखा पर्छ भने हामीले पढाइ पढाइ मात्रै भनेर पनि हुँदैन ।
शिक्षकसँग पनि बालबालिकाले अन्तरक्रिया गर्न सक्छन् । प्रविधिको प्रयोगले नयाँ कुरा पनि सिकाएको छ, लेक्चरको अलावा कुनै भिडियो वा अडियो क्लिप सुनाएर पनि पढाउन सकिन्छ भन्ने कुरा प्रयोगमा आएको छ । यस्ता भिडियोबारे भन भन्दा पनि यसले उनीहरुलाई रमाइलो गराउँछ, चिन्ता घटाउन मद्दत पुर्याउँछ । पढाइ पढाइ भन्ने गरेका कारण पनि बालबालिकाहरु अनलाइन कक्षा बस्न नमान्ने गर्छन् । यस्ता कुरामा ध्यान दिए परिस्थितिलाई समाधान गर्न सकिन्छ, उनीहरुको तनावलाई पनि व्यवस्थापन गर्न सकिन्छ ।
यो गाह्रो अवस्थालाई पार गर्न सकिन्छ । साथै सरकारी पक्षले शिक्षकहरुलाई पनि नयाँ प्रविधिमार्फत कसरी पढाउने प्याकेज पोग्राम बनाइदिए परिस्थिति अनुकूल सहज हुने थियो । प्रविधिको प्रयोगको ज्ञान कम भएका शिक्षकले तालिम पाएमा निक्कै सहज हुने थियो । शिक्षकहरुले तनाव व्यवस्थापन गर्न सक्नु हुन्थ्यो, जसको सकारात्मक प्रभाव बालबालिकालाई पनि पर्न सक्थ्यो ।
(चिकित्सा मनोविद् डा. देवकोटासँग कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
डा. देवकोटा चिकित्सा मनोविद् हुनुहुन्छ ।