उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
कैलाली – ‘जब जीवन छोटो छ भन्ने थाहा हुन्छ नि, तब जीवनका सबै इच्छा र चाहनाहरु मर्दा रहेछन्’ यो मार्मिक शब्द टिकापुरकी पायल थापाको हो ।
उनी १३/१४ वर्षकै उमेरमा एक युवकसँग प्रेममा परिन् । तिनै युवकसँग जीवन बिताउने भन्ने अठोट लिइन् र आफ्नो प्रेमलाई उनले विसं २०६४ सालमा विवाहमा परिणत गरिन् ।
सानो उमेरमै प्रेम विवाह गरेकी पायलको वैवाहिक जीवन केही वर्ष निकै सुखमय बन्यो । तर गरिबी र बेरोजगारीले पायलका श्रीमानलाई पनि घरमा बस्न दिएन ।
भारत गएको केही महिनापछि पायलका श्रीमान बिरामी परेछन् । साथका नेपाली साथीहरुले पायलका श्रीमानलाई अस्पताल भर्ना गरिदिएछन् । सञ्चो भएपछि पायल श्रीमान लिएर घर फर्किइन । घर फर्केको केही महिनापछि उनका श्रीमान फेरि बिरामी परे । अस्पतालमा कति उपचार गर्नु भनेर उनलाई केहीदिन झारफुक गरियो ।
झारफुकबाट सञ्चो नभएपछि टिकापुर अस्पतालमा भर्ना गरियो । जाँच गर्दा एपेन्डिक्स देखियो । ३ महिना एपेन्डिक्सको औषधि खुवाइयो । तर स्वास्थ्यमा कुनै फरक नआए पछि पायलले श्रीमानलाई नेपालगञ्ज लगिन् । त्यहाँ पनि कुनै उपाय नभएपछि उनले कोहलपुर लगिन् ।
त्यहाँ उनका श्रीमानलाई आन्द्राको टीबी देखायो र औषधि सुरु भयो । श्रीमानलाई अलि सञ्चो पनि भयो । उनले भनिन्, ‘श्रीमानको उपचारमा घरमा भएको सबै कुरा त्यतिन्जेल बेचिसकेकी थिएँ । एक हल गोरु, तीन तोला जति सुन । तर जे होस् मेरो उनलाई सञ्चो भएपछि गरेका सबै दुःख बिर्सिएँ । लाग्यो अब फेरि मेरा खुसीका दिनहरु आए । तर ..................’ भन्दै उनी मुख छोपेर रुन थालिन् ।
एकछिनपछि सम्हालिएर उनले अरु कुरा खोतलिन् । भारतमा बिरामी भएका बेला पायलका श्रीमानलाई रगत चाहिएको रहेछ । हतार हतारमा रगत पाइयो । तर एचआइभी पोजेटिभ भएको मान्छेको रगत । उनलाई ती सबै कुरा सोच्न समय नै थिएन । उनी आफ्नो श्रीमान बचाउन रगत पाएकोमा खुसी थिइन् । त्यतिबेला त उनको बिरामी श्रीमान बाँचे । तर त्यहीबेला उनी एचआइभी संक्रमित भएछन् ।
पायलले सम्झेझैं गरेर भनिन्, ‘मैले एचआइभीको त कल्पना नै गरेकी थिइनँ । म त श्रीमानको लागि रगत पाएकै कुरामा मख्ख थिएँ । त्यही दिन मैले विचार पुर्याउन नसक्नु मेरो जीवनको सबैभन्दा ठूलो भुल भयो । त्यतिबेला रगत श्रीमानलाई दिनु पहिले मैले जाँच गर्न लगाएकी भए आज यसरी बेसहाराझैं अरुको बोझ बन्नुपर्ने अवस्था आउने थिएन ।’
त्यसो त पायलका श्रीमानले बिरामी हुँदादेखि नै पायलसँग बोल्न कम गरिसकेका थिए । तर, बिस्तारै पायलका श्रीमान जिउँदो लास सरह बने । हिँडडुल गर्ने, हँसाउने पायलका श्रीमान एकाएक अपाङ्ग बने । न हात चल्ने, न खुट्टा । उनले आँखाभरी आँसु बनाएर भनिन्, ‘त्यसयता उनको आवाज मैले कैले सुन्न पाइनँ ।’
उनी ५/६ महिनाको बच्चालेझैं धेरै कुरा भन्न खोज्थे, तर उनको भाषा फरक थियो । ‘न मैले उनको कुरा बुझ्न सक्थें, न उनले मेरो कुराको प्रतिक्रिया जनाउन सक्थे । जब समाजले मलाई बिभिन्न लान्छना लागाउँथ्यो, उनी ढाल बनेर आउँथे । त्यतिबेला समाज होइन, उनको परिवारले मलाई काँडाझैं बिझ्ने शब्द बारम्बार प्रहार गथ्र्यो, तर उनी सम्झाउन सक्दैन थिए’ पायलले भनिन् ।
केही सीप नलाएपछि पायलले श्रीमानलाई कोहलपुर भर्ना गरिन् । तिहारको दिन सबैको घरमा खुसियाली छाएको थियो । तर २०७४ को तिहार पायलका लागि अभिशाप बनेर आयो ।
उनले भनिन्, ‘त्यो तिहारकै दिन थियो । जुन दिन मैले मेरो श्रीमानलाई एचआइभी छ भन्ने थाहा पाएकी थिएँ । त्यो थाहा पाएपछि डाक्टरले अस्पतालबाट तुरुन्तै निकालिदिए ।’ भएको रकम आइसीयुमा राखेर सकिसकेको थियो । उनले अरुबाट पैसा सापट मागेर आफ्नो श्रीमानलाई उपचारका लागि काठमाडाैंसम्म पनि पुर्याइन । तर कसैले उनको श्रीमानलाई निको पार्न सकेनन् ।
उनी निराश भएर घर फर्किइन् । त्योबेला उनलाई सान्त्वना र सहाराका लागि आमाको काखभन्दा अरु कोही भएनन् । आफ्नै सासुले समेत उनलाई साथ दिइनन् । त्यसपछि उनले श्रीमानलाई माइती घर लगेर स्याहार गरिन् ।
‘त्यो मंसिरको महिना थियो । एकाबिहानै उठेर बाहिर गएँ । कुहिरोले आकाश ढपक्कै ढाकेको थियो । निराश मनले आकाशतिर हेरिरहें, आकाशले मलाई नै जिस्क्याए जस्तो लाग्यो । हत्तपत्त श्रीमान भएतिर गएँ । बिहान भैसक्यो बुढा उठ भन्दै ब्युँझाउने प्रयत्न गरें’ उनले त्यो दिन सम्झिइन् । हरेक बिहान उनले यसरी बोलाउँदा श्रीमानले प्रतिक्रिया दिन्थे । तर त्यो बिहान श्रीमानले केही प्रतिक्रिया जनाएनन् । त्यो दिन उनको लागि श्रीमानको मुहार हेर्ने अन्तिम दिन भयो ।
त्यसपछि पायलका झनै कहालीलाग्दा दिन सुरु भए । समाजभन्दा पनि बढी उनले परिवारबाटै यातना पाइन् । उनले भनिन्, ‘श्रीमानलाई एचआइभी छ भन्ने उनलाई थाहासम्म हुन पाएन । तर म थाहा पाएर यहाँ पलपल डराएर बाँचिरहेकी छु ।’
टिकापुर अस्पतालमा जाँच गराउँदा उनले आफूलाई पनि एचआइभी भएको थाहा पाइन् । उनी भन्छिन्, ‘एचआईभी भएको कुरा पहिले त समाजबाट लुकाएँ, श्रीमान टिबी लागेर बित्नुभएको हो भन्थें । तर बिस्तारै यो हल्ला गाउँभरी फैलियो । उनीहरुले मलाई हेर्ने दृष्टिकोण फरक भयो । झन् त्यो भन्दा फरक दृष्टिकोण त मेरो परिवारको थियो मप्रति । सामग्री फरक थियो, बस्ने कोठा फरक थियो । यहाँसम्म कि उनीहरुमध्ये कोही पनि मेरो नजिक आउँदैन थिए ।’
परिवार सबैको यस्तो विभेद देखेपछि भारतमा अध्ययन गरिरहेका उनका देवर घर फर्किए । दाइका दुई सन्तानको भविष्य सम्झेर भाउजुलाई पत्नीका रुपमा स्वीकार्ने कुरा गरे । श्रीमान् गुमाउनुको पीडामै उनले देवरलाई दोस्रो श्रीमानको रुपमा स्वीकार गर्न बाध्य भइन् । देवरसँगको वैवाहिक जीवन उनको लागि सहानुभूतिपूर्ण त बन्यो, तर सुखमय बनेन् । केही महिना पछि देवरको पनि उनीप्रति घृणा बढ्दै गयो ।
दुई सन्तानको लालनपालन घरमा हुन नसकेपछि माइती घर पुगिन् । अहिले पायल माइतीकै आश्रयमा बस्दै आएकी छिन् ।
उनले रुँदै भनिन्, ‘परिवारको म प्रति घृणा बढ्दै गएपछि मैले चाँडै मृत्युलाई अँगाल्न सकिएला कि भनेर एचआइभीको औषधि खान छोडें । तर औषधि छोड्दा झन् बढी दुःख भयो ।’ अहिले उनी सेती अञ्चल अस्पतालबाट औषधि खाइरहेकी छिन् ।
अहिले उनी २७ वर्षकी भइन् । धेरै पढेलेखेकी छैनन् । कतै सीप सिक्न पाए आफ्नो बाँकी जीवन स्वावलम्बी भएर जीउन चाहन्छिन् । उनी आफ्ना सन्तानलाई त्यो समाज अनि त्यो विभेदले भरिएको परिवारबाट टाढा राखेर हुर्काउन चाहन्छिन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।