उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
तनहुँ – भानु नगरपालिका–१२ घलेछापका ५० वर्षीय राजेन्द्र अधिकारी बहराइनमा होटलको राम्रो जागिर छाडेर गाउँमै व्यावसायिक पशुपालनतर्फ लाग्नुभएको छ । गाउँमै बसेर केही गरौँ भन्ने भावनाका साथ विगत तीन वर्षदेखि बोर र स्थानीय जातका बाख्रा, मौरीपाल तथा लोकल कुखुरा पालन गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ ।
शुरुमा करिब १५ लाख रुपैयाँबाट व्यवसाय थाल्नुभएका अधिकारीले अहिले करिब ७० लाख रुपैयाँ लगानी भइसकेको बताउनुभयो । हाल उहाँका खोरमा एक सय १७ वटा बाख्रा छन् । मिर्लुङ्ग बहुउद्देश्यीय कृषिफार्म प्रालि दर्ता गरी किसान अधिकारीले भैँसीपालन तथा तरकारी खेतीसमेत गर्ने योजना बनाउनुभएको छ । बोर जातको उन्नत बोकाबाट स्थानीय जातको बाख्रामा क्रस गराएर ब्याडका रूपमा बोका उत्पादन गरी बिक्री गर्दै आएको उहाँ बताउनुहुन्छ ।
पाठो पाएपछि कम्तीमा तीन महिनापछि प्रतिकिलो ८ सय रुपैयाँमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । ब्याड बोकाको माग राम्रो रहेकाले पुर्याउन धौधौ हुने गरेको छ । उहाँले भन्नुभयो, “बोर जातको बाख्रा मासुका लागि छिटो बढ्ने हुँदा यसतर्फ किसानको आर्कषण बढ्दै गएको पाइन्छ ।”
स्थानीय जातको बाख्राको तुलनामा बोर जातको बाख्राको मासु दोब्बरले उत्पादन वृद्धि हुने हुँदा किसानले छोटो अवधिमा राम्रो मूल्य पाउन सक्नेछन् । शुरुशुरुमा प्रतिकिलो एघार सय रुपैयाँ सम्म बिक्री गर्ने गरिए पनि अहिले आठ/नौ सयमा बिक्री गर्दै आएको किसान अधिकारी बताउनुहुन्छ । तीन महिनाको पाठापाठी १५ किलोभन्दा माथिका हुन्छन् । दूध छुटेपछि पनि करिब २० दिन पालेपछि बिक्री गर्न लायकका हुन्छन् ।
शुरुमा बन्दीपु र, नुवाकोटबाट ब्याड बोका ल्याइए पनि अहिले आफैँले उत्पादन गरेको र रुकुम, स्याङ्जा, लमजुङ, चितवनलगायतका स्थानमा किसानले किनेर लैजाने गरेका छन् । बोर जातको बाख्रामा रोगसँग लड्न सक्ने क्षमता बढी हुने, पाल्न सजिलो हुने र छिटो वृद्धि हुने भएकाले किसानको यसतर्फ आर्कषण बढ्न थालेको हो ।
नेपालमा भन्दा बहराइनमा धेरै गुणा राम्रो आम्दानी रहे पनि स्वदेशमा बसेर स्वतन्त्र तरिकाले काम गर्ने चाहना भएकाले आफूले पशुपालन तथा कृषि पेशा अँगालेको उहाँले बताउनुभयो । आफ्नो र भाडामा गरी एक सय २२ रोपनी क्षेत्रफलमा फार्म स्थापना गरिएको र करिब ३० रोपनी क्षेत्रफलमा विभिन्न जातका घाँस लगाइएको किसान अधिकारी बताउनुहुन्छ । फार्ममा अधिकारी परिवारसहित अन्य तीन कामदारले काम गर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।