उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
घर नै बालबालिकाको पहिलो विद्यालय हो ।
घरबाटै बालबालिकाले संस्कार, संस्कृति, स्वस्थ बानी व्यवहार तथा जीवन र जगत बुझ्ने र सिक्ने गर्छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण बालबालिकाको औपचारिक पढाइमा प्रतिकूल प्रभाव पारेकाले अहिले धेरै बालबालिका घरमै छन् । औपचारिक पढाइ सम्भव नभए पनि सिकाइलाई अगाडि बढाउने धेरै विकल्पहरु छन् । जसलाई वैकल्पिक सिकाइको नाम दिइएको छ ।
वैकल्पिक माध्यम भनेर हामीले अनलाइन वा भर्चुअल माध्यमबाट हुने पढाइलाई बुझेका छौँ । त्यो मात्र वैकल्पिक होइन । वैकल्पिक माध्यम अन्तर्गतको यो एउटा पाटो मात्र हो ।
अहिले विश्वव्यापीकरणको समय हो । अहिलेको समय भनेको एकातिर विश्वव्यापी प्रतिस्पर्धाको समय हो भने अर्कोतिर विश्वव्यापी सहकार्यको समय पनि हो । विश्वव्यापीकरणसँगै हाम्रा राज्यका सीमाहरु पातला भइसकेका छन् ।
विश्वव्यापी प्रतिष्पर्धामा आफूलाई खरो रुपमा उतार्न र सहकार्यबाट लाभान्वित हुन प्रविधिको प्रयोग गर्नुपर्छ । प्रविधिमा दक्ष हुन पनि उत्तिक्कै आवश्यक छ । अहिले घरमा रहेका बालबालिकालाई यही कुरा सिकाउन सक्यौँ र दक्ष बनाउन सक्यौँ भने विश्वव्यापीकरणमा प्रतिस्पर्धा गर्न निक्कै सहज हुन्छ । प्रविधिमा धेरै बालबालिकालाई लाभान्वित बनाउन सके साँघुरो घेराबाट ज्ञान आर्जन गर्दै आएको विषय फराकिलो भएर जान्छ ।
विद्यार्थीहरुले विश्वव्यापी अवसरहरु पाउँछन् । बालबालिकाको त्यसमा विश्वव्यापी पहुँच हुन्छ । तर त्यसका लागि घरमा सिकाइको राम्रो वातावरण बनाउन आवश्यक हुन्छ । अभिभावकले बालबालिकालाई धेरै दबाब नदिइकन उनीहरुको सिकाइलाई सहज बनाउन सहयोग गर्नुपर्छ ।
बालबालिकाको राम्रो सिकाइका लागि अभिभावकले विभिन्न भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । घर कस्तो हुने ? घरको संस्कार र व्यवहार कस्तो हुने भन्ने कुरामा अभिभावकको महत्त्वपूर्ण भूमिका रहन्छ । कस्तो व्यवहार सही व्यवहार हो भन्ने अभिभावकले बुझ्न आवश्यक हुन्छ । अहिलेका सबैजसो अभिभावक पढेलेखेका हुने भएकाले बालबालिकालाई विभिन्न विषयमा ज्ञान दिन उत्तिकै सक्षम हुन्छन् ।
निषेधाज्ञाका कारण अभिभावक र बालबालिका लामो समय घरमा रहन्छन् । बालबालिका स्वभावले नै चकचके हुन्छन् । तर अभिभावकले बालबालिकालाई अनुशासनमा राख्नका लागि दबाब तथा दण्ड सजाय दिने गरेको पाइन्छ। यसले बालबालिकामा विभिन्न खालका मानसिक समस्याहरु देखिन सक्छ । यसतर्फ अभिभावकले ध्यान दिन आवश्यक हुन्छ ।
अभिभावक र बालबालिका बीचको दूरी कम गरेर, रमाइलो वातावरण बनाएर बालबालिकालाई दिक्क नलाग्ने गरी मनोभावना बुझेर सिकाइ अगाडि बढाउनुपर्छ । कठोर अनुशासनमा बसेर मात्रै बालबालिकाले धेरै सिक्न सक्छन् भन्ने हुँदैन । पढाइका साथसाथै बालबालिकालाई खाना बनाउन लगाउने, गमलामा पानी हाल्न लगाउनेलगायतका काम गर्न सिकाउनुपर्छ । तीबाहेक रिपोर्ट लेख्न लगाउने, कुनै विषयमा खोज गर्न लगाउने लगायतका सिर्जनात्मक क्रियाकलापमा पनि उनीहरुलाई सहभागी गराउन सकिन्छ ।
बालबालिकाको चौतर्फी विकासमा सहयोगीको भूमिका अभिभावकहरूले निभाउनुपर्छ । बालबालिकालाई विश्वास लाग्ने सञ्चारमाध्यमको सूचना तथा जानकारी मात्रै सुन्न, हेर्न र पढ्न लगाउनुपर्छ । गलत सूचना तथा जानकारीले बालबालिकामा अनावश्यक डर, चिन्ता लगायतका समस्या देखिन सक्ने भएकाले उनीहरुको पढाइ प्रभावित हुन सक्छ । त्यही भएर गलत सूचना तथा जानकारीबाट बालबालिकालाई टाढा राखेर उनीहरुलाई उत्प्रेरित गर्ने कथाहरु, नैतिक कथाहरु सुनाउने, इतिहासमा हामीले गर्व गर्न सक्ने कुरा, हाम्रो संस्कृतिका महत्त्वपूर्ण पाटोहरु, कथानक तथा मनोरञ्जनात्मक शैलीबाट सिकाउने तथा बुझाउने गर्नुपर्छ ।
कम्प्युटर र मोबाइल दिएर ल पढ भनेर मात्र छोडिदियो भने त्यसले बालबालिकामा नकारात्मक प्रभाव पनि पर्न सक्छ । इन्टरनेटका विभिन्न साइटमा भएका गलत कुराहरुले बालमनोविज्ञानमा नकारात्मकता मौलाउन पनि सक्छ। त्यही भएर प्रविधिमा बालबालिकालाई पहुँच दिने, सहजीकरण गर्ने तर आफ्नो निगरानीमा राख्नुपर्छ ।
नकारात्मक तथा सनसनी फैलाउने खालका समाचारबाट बालबालिकालाई टाढै राख्नुपर्छ । सकारात्मक कथ्यहरु सिकाउने प्रयास गर्नुपर्छ । सफलताका कथाहरु सुनाउने गर्नुपर्छ । बालबालिकालाई सकारात्मक कुराहरु सिकाउने र प्रविधिमा पोख्त बनाउन अहिलेको समय उपयुक्त समय हो ।
जीवन र जगतलाई वास्तविक अर्थमा महसुस गर्ने उपयुक्त अवसर कोरोनाले दिएको छ । बालबालिकालाई धर्म, संस्कृति, पूजाआजाका कुराहरु बुझाउने र सिकाउने अहिलेको समय उपयुक्त समय हो । सबै अभिभावकले सबै खालका दार्शनिक कुराहरु बुझेका हुँदैनन् । सबै विज्ञ हुन्छन् भन्ने होइन । तर आफूले जाने बुझेका कुराहरु, बालबालिकालाई सिकाउन र बुझाउन सकिन्छ ।
अहिलेका बालबालिकामा पढाइ र जीवनको ठूलो खाडल छ । त्यो खाडललाई पुर्ने अवसरको रुपमा अहिलेको समयलाई लिनु पर्छ । बालबालिकालाई आत्मनिर्भर बनाउने कोशिस गर्नुपर्छ । उनीहरुलाई कुनै कामको जिम्मा लगाइदिने, पाक कला सिकाइदिने लगायतका काम गर्न सकिन्छ । गल्ती गर्दा सच्याइदिने, सहयोग, प्रेरणा र हौसला दिने लगायतका काम गर्न सकिन्छ । यी कुराहरुमा योजनाबद्ध तरिकाले बालबालिकालाई संलग्न गराउन सकेमा सिकाइमा सकारात्मक परिवर्तन आउँछ ।
(शिक्षाविद् गौतमसँग उज्यालाे सहकर्मी जानुका दुवाडीले गर्नुभएकाे कुराकानीमा आधारित )
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सन्तोष गौतम शिक्षाविद् हुनुहुन्छ ।