उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
रौतहट – परदेश नजाउन्जेल पैसा कमाउन त जे पनि गर्छु जस्तो लाग्छ । तर त्यो परको अर्काको देशमा सोच्दै नसोचेका दुःख कष्ट आइपर्छ तब मानिसलाई पैसाको भन्दा ज्यानको माया लाग्छ थाल्छ ।
त्यसैले त गौर नगरपालिका १ का दिनानाथ तिवारीले साउदीमा वर्षौं काम गरेको बोनस र तलबसमेत छाडेर घर फर्कनुभयो । अप्ठेरो परिस्थितिमा पैसाको भन्दा पनि ज्यानको माया लाग्यो ।
सोच्नुभयो – ‘ज्यान भए पैसा त कमाइएला नि ।’
घरको आर्थिक अवस्था सुधार्न र दिदीबहिनीको विवाहका लागि खर्च जुटाउन दिनानाथ सन् २०१४ मा साउदी जानुभएको थियो ।
सुरुका दिनमा काम र कमाइ ठिक ठिकै भयो । बचेको जति रकम नियमित रूपमा घरमा पठाउनुभयो । दुई वर्षपछि भने तलब बढ्यो । मासिक ६० हजार रुपैयाँ कमाउन थाल्नुभयो । तलब बढ्दा खुसी नहुने को पो होला र । दिनानाथले पनि सपनाहरु बुन्न थाल्नुभयो । मेडिकल कम्पनीमा जनरल वर्करका रूपमा जानुभएका दिनानाथको काम पनि सजिलो नै थियो । तर बिस्तारै कम्पनी घाटामा जान थाल्यो । कम्पनी घाटामा गएको बहानामा कम्पनीले तीन महिनामा मात्र तलब दिन थाल्यो । तर तीन महिनामा पनि एक महिनाको काम तलब दिन्थ्यो ।
‘काम गरे पछि त एक दिन तलब आउला नि भन्ने आस भयो, आसैआसमा काम गरियो तर अरूको मन हाम्रो जस्तो नहुने रहेछ,’ दिनानाथ भन्नुहुन्छ ।
यही बेला साउदीमा कोरोना सङ्क्रमण देखिन थाल्यो । साउदी मात्र होइन कोरोना महामारीले विश्व नै आक्रान्त हुन थाल्यो ।
यही मौकामा कम्पनी बिक्री भएको कुरा दिनानाथसहित अन्य कामदारले पछि मात्रै जानकारी पाउनुभयो ।
‘हामीले त तलब माग्न जाँदा मात्र थाहा भयो साहुले कम्पनी बेचिसकेका रहेछन्,’ दिनानाथ भन्नुहुन्छ,‘कम्पनी बिक्री भइसक्यो अब तिमीहरूको तलब नयाँ साहुले दिन्छन् पो भन्यो ।’
नयाँ साहुले पनि बहाना नै बनाए । अहिले आफूसँग रकम नभएको र बिस्तारै दिँदै जाने बताए । तर त्यो बिस्तारै दिन्छु भनेको दिन कहिले आएन । दिनानाथसहित कम्पनीका कामदारले तलब मागिरहे । साहुले बाहानाबाजी गर्दै टारिरहे । कम्पनीले आलटाल गर्दा कामदारको भने बेहाल हुँदै गयो ।
विकल्प केही नभएपछि उनीहरूले दूतावासमा धर्ना दिए । साउदीको स्थानीय सञ्चार माध्यमले समेत उनीहरूको समस्यालाई उठाए । तर पनि केही भएन । एकातिर कोरोनाको कहर अर्कोतिर कम्पनीको बेवास्ता ।
‘त्यो बेला त हामीलाई जिउँदो घर फर्कन पाइन्छ कि पाइँदैन जस्तो लागेको थियो, पैसाका लागि लड्दा लड्दै मरिने पो हो कि भन्ने भयो,’ दिनानाथ सुनाउनुहुन्छ ।
महामारीको त्यो समयमा दिनानाथसहित अन्य साथीहरू साउदीमा रहेको नेपाली दूतावासकै सहयोग माग्न गए । दूतावासले नै घर फर्कंन मेसो मिलाइदियो । घर फर्कन आफैंले साउदी रियाल एक हजार खर्च गर्नुपर्यो भने २१ दिन त जेलमा समेत बस्न पर्यो ।
‘धन्न त्यो बेला हामीलाई विभिन्न उपायहरू सुझाएर दूतावासले सहयोग गर्यो, नत्र हामी त बिचल्लीमै हुने थियौं,’दिनानाथ भन्नुहुन्छ,‘तर आफ्नो देश फर्कन बिना गल्ती जेलमा बिताएका ती दिनहरू सम्झँदा भने दुःख लाग्छ ।’
दिनानाथ घर फर्कँदा उहाँले कम्पनीबाट पाउने बोनस र बाँकी तलबका लागि मुद्दा चलिरहेको थियो । आफू घर फर्कंने निश्चित भएपछि उहाँले आफूले पाउने रकम आफ्नो साथी इलामका डम्बर लिम्बूको नाममा अधिकार दिनुभयो ।
‘मेरो जम्मा २ लाख ५० हजार रुपैयाँ रकम आउने थियो, त्यो रकम मेरो अनुपस्थितिमा मेरो साथीले लिन मिल्ने बनाएर आएको तर अहिलेसम्म पनि पैसा आएको छैन,’दिनानाथले गुनासो गर्नुभयो ।
उहाँ गएको जेठमा नेपाल फर्कनुभयो । घर आएको पनि १० महिना पूरा भइसक्यो । तर अहिलेसम्म पनि कम्पनीबाट त्यो रकम आएको छैन ।
भन्नुहुन्छ – ‘त्यो बेला पैसाको भन्दा त ज्यानको माया लाग्यो, घर आउँदा बल्ल अब चाहिँ बाँच्छु भन्ने लाग्यो, पैसाको त के भरोसा र ।’
दिनानाथ आप्रवासी स्रोत केन्द्र रौतहटमा सहयोगका लागि पुग्नुभएको छ । केन्द्रले काठमाण्डौमा रहेको सीएमआइअआरसँग समन्वय गरेर दिनानाथको रकम झिकाउन प्रयास गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।