उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
कैलाली – ‘मेरो छोराले घर आएर आमा भनिदिए मात्र पनि पुग्थ्यो,’ ६ वर्षदेखि मलेसियाबाट नफर्किएका छोरालाई सम्झँदै भीमकुमारी राना भक्कानिनुभयो । भन्नुभयो, ‘मेरो छोरा आइदिए, मलाई केही चाहिँदैन थियो ।’
फोनमा कुरा हुँदा छोराले आउँछु भन्ने तर आस मात्र देखाउने गर्दा भीमकुमारी यसै गरी भक्कानिनुहुन्छ । दिनरात रुनुहुन्छ । पीडा भुलाउन रक्सी पिउनुहुन्छ । रक्सीकै नशामा आफ्नो मन भुलाउनुहुन्छ ।
भीमकुमारीको आँखा तिनै हुन, जुन आँखा आफ्नो श्रीमान गुमाउँदाको क्षणमा उनै छोरालाई हेरेर रोकिएका थिए । दुई छोरा र दुई छोरी एक्लै हुर्काउँदाको कठिन परिस्थितिमा पनि सम्हालिएको थियो । त्यो बेला उहाँको मन बुझाउने बहाना एउटै थियो, दुई छोरा र छोरी ।
त्यो बेला उहाँलाई लाग्थ्यो, ‘मेरो छोराछोरी छन्, मैले किन रुनु ?’
तर आज तिनै छोराको कारण भीमकुमारीका आँखा कति बेला रसाउँछन् पत्तो हुँदैन ।
भीमकुमारीलाई पहिले लाग्थ्यो, छोराछोरी ठूला भएपछि सुख होला । तर अहिले लाग्छ, होइन रहेछ । सानो छँदा छोराछोरी रुन्थे । उनीहरूको आँखाबाट खसेका आँसु भुईँमा खस्न नपाउँदै हत्केला थाप्नुहुन्थ्यो ।
अहिले छोराछोरी ठूला भए । दुई छोरी बिहे गरी पराइ घर गए । जेठो छोरो पनि छुट्टिएर बसेका छन् । बुढेसकालमा कान्छो छोराको साथ लाग्नुभएकी भीमकुमारीलाई उनै छोराको सम्झना र आसमा दिनरात रुँदै बिताउनु परेको छ ।
‘म रोएँ भने त तिमी रुन्छौं र त मलाई आउन मन लाग्दैन भन्छ, रहरले रोएको त कहाँ हो र, त्यसको माया कति लाग्छ भनेर कसरी देखाउँ,’ भीमकुमारी आँसु पुछ्नुहुन्छ ।
पहिले पनि कहिले भारत त कहिले कता रोजगारीका लागि हिँडिरहन्थे राजु । एक पटक मलेसिया पनि गए । तीन वर्ष बसे । कमाएरै फर्किए । फेरि ६ वर्षअघि १ लाख २० हजार रुपैयाँ ऋण काढेर मलेसिया नै गए ।
राजु दोस्रो पटक मलेसिया उड्दा कान्छी छोरी त वर्ष दिन मात्र लागेकी थिइन् । जेठी भने पाँच वर्षकी ।
लुगा फ्याक्ट्रीमा काम गर्छु भन्थे राजुले । २० हजार रुपैयाँ पठाए पनि । तर बिस्तारै राजुको व्यवहार फेरिँदै गयो ।
त्यसपछि न कहिले कमाएको पैसा पठाए, न त घर फर्किए । घर व्यवहार कसरी चलेको छ सोध्न पनि छाडे । तर बेलाबेलामा फोन चाहिँ गरिरहन्थे ।
जाँदा लागेको एक लाख २० हजार रुपैयाँ ऋण त्यसै । घर व्यवहार, दुई छोरीको लालनपालन, वृद्ध आमाको आशा र श्रीमतीको भरोसालाई राजुले बीचैमा भुलिदिए ।
तर घरमा उनै राजुलाई कुरेर बसेकी श्रीमती र वृद्ध आमाले सात समुद्र पारी गएको आफ्नो मानिसलाई कसरी भुल्नु !
श्रीमती लक्ष्मीले खेतीपाती गर्नुभयो । गाईभैँसी पाल्नुभयो । बजारमा दूध बेच्नुभयो । आफ्ना र बालबच्चाको रहर मारेर दूध बेचेकै पैसाले लक्ष्मीले श्रीमानलाई परदेश पठाउँदा काढेको ऋण तिर्नुभयो । घर व्यवहार चलाउनुभयो । दुई छोरीलाई स्कुल पठाउनुभयो ।
यसरी नै ६ वर्ष बितिसक्यो । मलेसियाबाट १०/१५ दिनमा राजुले फोन गर्छन् । मलेसियामा नियमित काम गरिरहेका छन् । कति कमाउँछन्, कमाएको रकम के गर्छन् परिवारलाई थाहा छैन ।
आमा भीमकुमारी र श्रीमती लक्ष्मी दुवैले ‘कमाइ चाहिँदैन जसरी हुन्छ घर आइदेउ’ भनेर अनुनय विनय गर्छन् फोन गरेका बेला ।
उताबाट राजुले आउँछु पनि भन्छन् । आउँछु भनेको दिन आउँछ, जान्छ । तर राजु फर्कने दिन आजसम्म पनि आएको छैन ।
‘घर आउनुस् भन्दा आउँछु नि, घर नआएर कहाँ जान्छु त भन्नुहुन्छ, कहिले आउनेभन्दा माघमा भन्नुहुन्छ, तर माघ त यो पालि पनि आयो, गयो तर उहाँ आउनुभएन,’ लक्ष्मी मन गह्रौँ बनाउँदै भन्नुहुन्छ ।
राजु परदेश लाग्दा आमा भीमकुमारी र श्रीमती लक्ष्मीका पनि एकाध सपना थिए । परदेशमा कमाएको पैसाले एउटा राम्रो घर बनाउला, छोरीहरूलाई राम्रो स्कुल पढाऔँला र भविष्यका लागि पनि जोहो गरौँला, यस्तै यस्तै यस्तै । तर आज लक्ष्मीको मनमा यी सपना छैनन् । बस् श्रीमान् आइदिउन ।
‘आउँछु भने त बरु टिकट पनि म नै काटिदिन्थेँ, काठमाण्डौमा लिन पनि मै पुग्थेँ तर खै आउने दिन कहिले आउला कहिले,’ लक्ष्मी निराश हुनुहुन्छ ।
आमा भीमकुमारीको मन त झन् छोरामै अल्झिएको छ । छोरो फर्केर नआउने पो हो कि भन्ने चिन्ताले दिनको भोक र रातको निद्रा हराएको छ । छटपटी हुन्छ । हुर्कँदै गरेका दुई नातिनी । श्रीमान् भएर पनि एक्लो भएकी बुहारीको पीडाको साक्षी बस्नुभन्दा मर्नु नै बेस लाग्छ भीमकुमारीलाई ।
‘गाउँले ले हेप्लान्, बुढो नभएकी भनेर गिद्धे नजर लगाउलान्, दुई नातिनी छन् तिनीहरूलाई केही पो हुने हो कि जस्तो लाग्छ,’ भीमकुमारी भन्नुहुन्छ, ‘केही नगरोस्, घरैमा बसोस् तर मेरो घरमा छोरो भए बुहारीलाई आड भरोसा हुन्थ्यो ।’
छोरोको मन फर्काउन भीमकुमारीले देवीदेवता भाक्नुभयो । आफ्ना कुल मनाउनुभयो । मातालाई देखाउनुभयो । सबैले आउँछ, हामी ल्याउँछौँ भन्छन् ।
राजुलेझैँ माताले पनि उनी फर्केर आउँछन् भनेको समय गुज्रिसक्यो । तर राजु आएनन् । भन्नुहुन्छ, ‘अब त आशै मरिसक्यो ।’
जसरी राजु परदेश गएको समय बढ्दै छ, त्यसरी नै भीमकुमारीको उमेर पनि । ज्यानमा सञ्चो छैन । अहिले त ज्यान मात्र हैन मन पनि सञ्चो छैन ।
‘मेरो सास फुत्त गयो भने छोराको मुख पनि देख्न नपाउने भए,’ भीमकुमारी भन्नुहुन्छ, ‘मर्नुअघि छोराको मुख हेर्न मन छ ।’
तर आमाको मनको यी इच्छा सुन्न पनि मान्दैनन् राजु । उनलाई थाहा छ आमाको प्राण आफूमा छ । तर पनि किन घर आउन मान्दैनन् त्यो लक्ष्मी र भीमकुमारी जान्दैनन् ।
परिवारका लागि राजुले कमाएर ल्याउन पर्दैन । घरमा खानको दुःख छैन । लक्ष्मीले पौरख गर्नुहुन्छ । खेतबारीकै उत्पादनले परिवारमा खान पुग्छ । भैँसीको दूध बेचेर भएको कमाइले नुन तेल किन्न र दुई छोरी पढाउन पुग्छ ।
यति बेला पैसाको भन्दा पनि आमा र श्रीमतीलाई राजुको अभाव छ ।
लक्ष्मी भन्नुहुन्छ, ‘बेलाबेलामा फोन पनि गर्नुहुन्छ, आउँछु पनि भन्नुहुन्छ तर आउनुहुन्न, यसो गर्दा झन् पीडा हुँदो रहेछ ।’
बेलाबेला लक्ष्मीसँग राजुले भन्छन्, ‘म यहाँ बिग्रिएँ, मैले गर्दा तिमीहरूले दुःख पायौ ।’
त्यो बेला सम्झाउनुहुन्छ । भन्नुहुन्छ, ‘तपाईँ आउनुस्, तपाईँ आए सब ठिक हुन्छ ।’ राजु हुन्छ भन्छन् । तर आउँदैनन् ।
आफ्नो र दुई छोरीको भविष्य सम्झँदा लक्ष्मीलाई कहाली लाग्छ । मलेसियामा फेरिएका श्रीमानलाई सम्झँदा, अचम्ममा पर्नुहुन्छ ।
‘किन त्यस्तो भएका हुन्, कसैले केही गरेर राखेको छ कि जस्तो पनि लाग्छ, अलिअलि त रक्सी पनि खानुहुन्छ, तर खै रक्सीले नै हाम्रो माया मारेको त हैन होला’ लक्ष्मी भन्नुहुन्छ, ‘यतिकैमा केही हुने पो हो कि, कसैले केही गरिदिने पो हो कि भन्ने चिन्ता लाग्छ ।’
पीरैपीरले लक्ष्मीको ज्यान सुकेर लौरी झैँ भएको छ । खाना रुच्दैन । मन ठेगानमा हुँदैन ।
घरमा आए, भैँसीमात्र हेरिदिए पनि घर व्यवहार आफू चलाउँथें जस्तो लाग्छ लक्ष्मीलाई । आफूलाई लागेर मात्र के गर्नु । बुझ्नेले कुरा नबुझेपछि, परदेशिएकाले घर सम्झेर नआएपछि रुनु बाहेक विकल्प छैन । दुई छोरीका अघिल्तिर रुन पनि सजिलो छैन ।
आमाको आँसु, लथालिङ्ग घर व्यवहार र मनको छटपटी सम्हाल्न नसक्दा घरीघरी त लक्ष्मीलाई मिल्ने भए श्रीमानलाई लिन आफैं मलेसिया जान्थेँ जस्तो लाग्छ ।
तर देशमा जस्तो परदेशमा कहाँ हुन्छ र ?
हराएकालाई खोज्न सकिन्छ । समस्यामा परेकालाई उद्धार गर्न हारगुहार माग्न सकिन्छ । तर जानीजानी नआउनेलाई ल्याउन के गर्न सकिएला ? लक्ष्मी त्यही उपायको खोजीमा हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।