‘आङको लुगा हेर्दा मात्र आफूलाई एक्लो ठान्छु’

 फागुन २१, २०७७ शुक्रबार १२:३९:१५ | सन्जिता देवकोटा
unn.prixa.net

कैलाली – शरीरमा लगाएका लुगाले पनि जीवनमा फरक पार्छ जस्तो कहिल्यै लाग्दैन थियो टीकापुरकी गौरा शाहलाई । तर हिजोआज उहाँलाई आफ्नै आङको लुगाले बेलाबेला झस्काउँछ । चसक्क मन दुखाउँछ । 

रातो लुगा, रातो पोते र सिन्दुरमा बानी पर्नुभएकी गौरालाई शरीरमा आफैँले लगाएको अँध्यारो रंगका लुगाले श्रीमान् गुमाउँदाको त्यही अँध्यारो क्षणमा पु र्‍याउछ । मनको पीडालाई शक्तिमा बदलेर अघि बढ्ने कोसिस गरिरहनुभएकी उहाँलाई आफ्नै ज्यानको लुगाले घरीघरी कमजोर बनाउँछ ।

‘अघिपछि मन काममा भुल्छ, जब आँखा आफैँले लगाएको लुगामा पर्छ, तब आफैँ झस्कन्छु, म त एक्लो भइसकेछु जस्तो लाग्छ,’ गौरा भन्नुहुन्छ ।

आजभन्दा ११ महिनाअघि । मलेसियामा कार्यरत श्रीमानसँगको त्यो अन्तिम संवाद सम्झंदा मात्रै पनि मन सम्हाल्न गाह्रो हुन्छ । 

श्रीमानलाई सम्झाउन किन सकिनँ भनेर पछुतो लाग्छ । तर सात समुद्र पारी रहेका श्रीमानको मनमा के बितेको छ भन्ने कुरा भन्नेले नभनेपछि फोनमार्फत कसरी जान्नु र !

चार छोराछोरी र आफूलाई छाडेर कमाउन गएका श्रीमानले ज्यान फाल्लान् भन्ने कल्पना कसरी पो गर्नु ?

गएको वर्ष चैतको १५ गते । रातको ९ बजेतिर मलेसियाबाट सधैँ झैँ श्रीमानको फोन आयो । सुरुमा त कुराकानी पनि सधैँ झैँ सामान्य नै भयो । 

उताबाट खानपिन र बालबच्चाको हालखबर सोधे । 

गौराले पनि सामान्य झैँ जवाफ दिनुभयो । तर एकछिनमा  उताबाट श्रीमानले सोधेका कुरा सामान्य झैँ लागेन गौरालाई ।

‘किन यति बेलासम्म नसुतेको, यस्तै यस्तै कुरा गर्नुभयो,’ गौरा त्यो क्षण सम्झँदै भन्नुहुन्छ, ‘के भयो तपाईँलाई भनेर सोधेँ, मलाई आज कस्तो कस्तो भएको छ भन्नुभयो, मैले चार जना बच्चाको बुवा भएर यस्तो भन्ने हो भनेर सम्झाएको थिएँ ।’

परदेशीको मन । कहिले कामको दुःख त कहिले परिवारको याद । यसै बहकियो होला झैँ लाग्यो गौरालाई ।

भोलिपल्ट बिहान ९ बजेतिर फोन लगाउनुभयो । तर उठेन । मनमनै सोच्नुभयो, काममा होलान् ।

खाजा खाने बेलामा फेरि फोन गर्नुभयो । फेरि पनि उठेन । म्यासेन्जरमा पनि हरियो बत्ती बलिरहेको थियो ।

अनलाइन हुँदाहुँदै पनि फोन नउठ्दा गौराको मनले मानेन । कतै आफूसँग रिसाएर पो हो कि झैँ लाग्यो । अनि, छोरीलाई फोन गर्न लगाउनुभयो । तर छोरीले गरेको फोन पनि उठेन । 

त्यो दिन त त्यसै बित्यो । भोलिपल्ट श्रीमानका साथीलाई फेसबुकमा साथी बनाएर छोरीलाई नै सोध्न लगाउनुभयो ।

‘सुरुमा त पैसा हाल्न बैंक गएका छन् भनेछन्, फेरि एक छिनमा उनै राई भन्ने श्रीमानका साथीले तिम्रो बुवाले त आत्महत्या गरेछन् भनेछन्, अस्तिको दिनसम्म बोलिरहने मानिस आज छैन भनेर कसरी पत्याउनु,’ गौरा भन्नुहुन्छ । 

गौराले साँच्चै हो भने फोटो या भिडियो प्रमाण पठाउन भन्नुभयो । तर दुर्भाग्य झुटो होस् भन्ने ठानेको खबर साँचो भइदियो । 

आत्महत्या गरेका श्रीमानको फोटो फेसबुक म्यासेन्जरमा आयो ।

नपत्याउँ फेसबुकमा फोटो छ । साथीभाइको श्रद्धाञ्जली सन्देश छ । जीवनभरी साथ दिने बाचा गरेका श्रीमान् चार  छोराछोरी र आफूलाई छाडेर कसरी ज्यान फाल्न सक्छन् ? अझ पनि नपत्याऔँ भने १४ औँ दिनमा त सत्य आफ्नै अघिल्तिर बाकसमा प्याक भएर आँगनमै आइपुग्यो । 

रातो बाकस । बाकसको माथिल्लो भागमा नाम । अनि केही सामान पनि । वरपर मानिसको भिडभाड । सबै कुराहरु सपनाजस्तै । 

ज्यान थरथरी काम्यो । शब्द गलामै रोकियो । मात्र आँशु झरिरह्यो । 

कमाउने, छोराछोरीको भविष्य बनाउने र बाँकी जीवन सँगसँगै रमाउने सपना बाँडेर परदेश गएका श्रीमानले एकलौटी ज्यान फाल्न कसरी सक्छन् ? सयौं दुःखका पहाड सँगसँगै फोडेका श्रीमान् यसरी जीवनसँग कसरी हार्न सक्छन् ? मनभरी प्रश्नैप्रश्न छ । तर उहाँले चार छोराछोरीको अनुहार हेरेरै आफूलाई सम्हाल्नुभयो ।

गौरालाई थाहा छैन, श्रीमानले किन गलत कदम उठाए । न कहिले घर झगडा हुन्थ्यो, न त कहिले कुनै कुरामा विवाद । 

कमाइ मनग्य नभए पनि भएको कमाइ महिनैपिच्छे गौराको नाममा पठाउँथे । घर सल्लाह गर्थे । छोराछोरीका लागि भोलिको सपना बुन्थे । 

मलेसिया जानुभन्दा पहिले पनि भारतमा काम गर्थे गौराका श्रीमान् । गौरा बालबच्चा हेर्दै सानो किराना पसल चलाउनुहुन्थ्यो । भारतको कमाइले पुगेन भन्दै मलेसिया गएका थिए । 

‘मानिसको मनको भर नहुने रहेछ, म थिएँ, बालबच्चा थिए, मर्नुपर्ने कारण के थियो र,’ गौरा पछुतो मान्दै भन्नुहुन्छ, ‘मलेसिया नपठाएको भए यस्तो हुने थिएन कि ।’

दुःखमा सामीको साथ

परिवारको मियो मलेसियामै ढल्यो । यता घरमा चार छोराछोरी, एक बुढी आमा अनि मनमा पति गुमाउनु पर्दाको असहृय बेदना । गौराको अघिल्तिर एउटा अँध्यारो मात्र थियो । तर त्यो दुःखमा उहाँलाई सुरक्षित आप्रवासन परियोजना सामी अन्तर्गत टीकापुरमा सञ्चालित मनोपरामर्श कार्यक्रम सारथी बन्यो । 

दुःखमा सम्झाउने पनि केही थिएनन् गौरालाई । दाजुभाइ छैनन् । बुवाको पनि निधन भइसक्यो । वृद्ध आमाको आँखामा त आफ्नो भन्दा बढी पीडा देख्नुहुन्थ्यो गौरा ।

मनोपरामर्शदाताले उहाँको घरमै गएर सम्झाउने बुझाउने गर्न थालेपछि गौरालाई पनि दुःखको पोको फुकाउन सहज हुन थाल्यो ।

रातभरी निदाउन सक्नु हुन्थ्यो । दिनभरी टोलाउनुहुन्थ्यो । मनभरी भविष्यको चिन्ताले छटपटी हुन्थ्यो । 

दुःखमा सम्झाउने पनि केही थिएनन् गौरालाई । दाजुभाइ छैनन् । बुवाको पनि निधन भइसक्यो । वृद्ध आमाको आँखामा त आफ्नो भन्दा बढी पीडा देख्नुहुन्थ्यो गौरा ।

जब मनोपरामर्श कक्षामा बस्न थाल्नुभयो तब उहाँलाई तनाब र चिन्ता कम गर्ने उपायहरु थाहा भयो । 

मनको कुरा अरुसँग साट्दा मात्रै पनि मन हलुका लाग्न थाल्यो ।

‘संसार यस्तै रहेछ जस्तो लाग्न थाल्यो, मजस्तै धेरै दिदीबहिनी रहेछन्, जसले आफ्नो श्रीमान गुमाएका छन्, अरुको हेरेँ, सरले पनि सम्झाउनुभयो, अनि त पीडा भए पनि मनदेखि नै मैले केही गर्नुपर्छ भन्ने आँट आयो,’ गौरा भन्नुहुन्छ । 
सामी परियोजनाकै समन्वयमा उहाँलाई वैदेशिक रोजगार बोर्ड र बिमामार्फत पाउने क्षतिपूर्ति बापतको रकम लिन पनि सहज भयो । बोर्ड र बिमामार्फत आएको रकम केही ऋण तिर्नुभयो भने बाँकी रकमले पसलमा सामान थपेर व्यवसाय अघि बढाउनुभयो ।

श्रीमान बितेको ४५ दिनको कर्म गर्नुभयो । शरीरको सेतो लुगा फेर्नुभयो । अनि बन्द पसल खोल्न थाल्नुभयो । जुन झण्डै दुई महिनादेखि बन्द थियो ।

‘मनमा पीडा त कति हुन्छ नि, तर के गर्नु उहाँले ज्यान फाल्नुभयो, तर मैले त चार जना छोराछोरीको लागि भए पनि बाँच्नुथियो,’ गौरा भन्नुहुन्छ, ‘अब रोएर मात्र हुँदैन भन्ने आँट मैले मनोपरामर्श कक्षामा बसेर नै बटुलेको हुँ ।’

आफू हाँसे संसार हाँस्छ, आफू रोए संसारले आफैंलाई जिस्काउँछ जस्तो लाग्छ गौरालाई । सुखमा साथ दिने हजार हुन्छन्, तर दुःखमा साथ दिनेभन्दा पनि खुसी हुनेहरु धेरै । त्यसैले पनि रोएर आफूलाई कमजोर बनाउनुभन्दा संघर्ष गर्न नै उत्तम लाग्छ उहाँलाई । 

श्रीमानको अभाव त कति हुन्छ कति ! श्रीमान हुँदा शीरको सिन्दुर र हातका चुराले पनि आत्मबलमा निकै फरक पार्दोरहेछ भन्ने लाग्छ आजकाल गौरालाई ।

दुःखै भए पनि मन खुसी हुन्थ्यो । दुई चार पैसा भए पनि कमाएर सघाउँदा बालबच्चाको स्कुल फिस तिर्नदेखि घरखर्च चलाउन पनि निकै सहज हुन्थ्यो । 

हिजोआज त मनमा पनि भारी अनि काँधको जिम्मेवारी । गौरालाई घरीघरी त बैराग लाग्छ । मनोपरामर्श कक्षामा सिकेका जीवन उपयोगी कुराहरु सम्झनुहुन्छ । फेरि सम्हाल्नुहुन्छ ।

भन्नुहुन्छ – पीडा नभएको मान्छे त को छ र ? त्यो पीडालाई कसरी र कति लिने भन्ने कुरा आफूमा भरपर्छ, आजकाल मलाई पीडालाई कुल्चिएर अघि बढ्ने बानी परिसक्यो ।’

आजकाल त गौराले दुःखलाई जितिसक्नुभएको छ भन्नुहुन्छ मनोपरामर्शकर्ता धनवीर बिक । 

पीडा नभएको मान्छे त को छ र ? त्यो पीडालाई कसरी र कति लिने भन्ने कुरा आफूमा भरपर्छ, आजकाल मलाई पीडालाई कुल्चिएर अघि बढ्ने बानी परिसक्यो ।’

‘पहिले उहाँलाई तनाब र चिन्ताले रातभरी निदाउन नसक्ने, छटपटी हुनेजस्ता विभिन्न समस्या थिए, तर परामर्शपछि अहिले उहाँ सामान्य जीवनमा फर्किनुभएको छ,’ परामर्शकर्ता बिकले भन्नुभयो ।

गौराका ठूला सपना छैनन् । एक छोरीको बिहे भइसक्यो । दुई छोरी र एक छोरा पढ्दै छन् । तीनै छोराछोरीलाई बोर्डिङ स्कुल पढाउनुभएको छ । उनीहरुको पढाइ पैसाको अभावमा नटुटोस् भन्ने छ गौरालाई । 
बुढी भएकी आमालाई बाचुञ्जेल दुई छाक पु र्‍याउन र औषधी उपचारमा कमी गर्न नपरोस् भन्ने कामना गर्नुहुन्छ । 

पसलबाट भएको कमाइले आजसम्म यति गर्न पुगेको छ । भोलि के हुन्छ थाहा छैन । गौरा भन्नुहुन्छ, ‘जस्तो परिस्थिति आए पनि म हार्ने छैन ।’

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया