लगानी गर्ने पैसा छैन, काम पाइँदैन, विदेश नगएर के गरौँ ?

 फागुन ९, २०७७ आइतबार १६:२६:४२ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

निरोज रैकाल/पुर्चौडी बैतडी ।

 भन्न त भन्छन् नि त्यो त कमाउन विदेश गयो । तर आफ्नै देशमा रोजगारी पाए को जान्थ्यो र अर्काको देशमा । आफ्नो देशमा बेरोजगार भएर बस्नुभन्दा त अर्काको देशमा काम गर्नु नै बेस जस्तो लाग्छ मलाई पनि । 

कोरोना महामारी अघिसम्म म पनि भारतमा रोजगारी गर्थेँ । कमाइ धेरथोर जति भए पनि घर चलाउन पुगेको थियो । तर कोरोना मेरो जीवनमा हुरी बनेर आयो । कोरोना आएपछि म घर आएँ । घर आएको एक वर्ष भयो । अनि बेरोजगार भएको पनि ।

ठूलो काम गर्छु भन्ने सपना के देख्नु आफ्नो ठूलाबडासँग चिनजान छैन । जे पाइन्छ त्यही काम गरौं न त भन्न पनि गाउँ ठाउँमा केही काम पाइँदैन । दिनभरी बजारतिर हल्लियो । साँझ घर आयो । भोलि के गर्ने होला भनेर सोच्दै ओछयानमा पल्टियो । आँखाभरी सपना बोकेर निदायो । भोलिपल्ट बिहान उज्यालो हुँदा फेरि रित्तै उठ्यो । यसरी नै चलिरहेको छ मेरो दैनिकी ।

हुन त मेरो घर नगरपालिकाको कार्यालय नजिकै छ । दिनहुँ हेर्छु त्यो कार्यालयलाई । सोच्छु, के गर्दा हुन त्यो भवनभित्र कर्मचारीहरू ?

न हाम्रा लागि कुनै योजना न त सान्त्वना । बल जति पाखुरामै राखेर हामी दिन बिताइरहेका छौँ । केही काम दिए त हुन्थ्यो नि । तर हामी त अझ दलित । कसले दिने काम । 

नगरपालिका कार्यालयमा एक जना कार्यालय सहयोगीसम्म पनि दलित छैनन् । उनीहरूको नजरमा त हामी कोही पनि होइनौँ । दुःख होस् या सुख, कमाइ होस् या ऋण जे पर्छ हामी आफैंले गर्नुपर्छ ।

काँधमा घरपरिवारको जिम्मेवारी छ । तर आम्दानी शून्य  । अनि विदेश नगएर के गर्नु ? अब म पनि सोच्दै छु भारतमा महामारी केही सामान्य भए भारत नै जान्छु । होइन भने ऋण बोकेरै भए पनि खाडी उड्छु । आफ्नो देशमा बेरोजगार हुनुभन्दा अरूको ‘गुलाम’ हुनु नै बेस हो जस्तो चाहिँ यही बेला लाग्छ ।

भन्न त भन्थेँ नि चुनाव ताका रोजगारी सबैलाई दिन्छु । त्यो दिनदेखि फेरि रोजगारीको कुरा गाउँमा भएको छैन । सरकारले कहिले रोजगारी दिन्छ र खाउँला भनेर कुर्न थाल्यो भने त हामी भोकभोकै मर्नुपर्छ । 

सबैले हेर्ने आफ्ना मानिसलाई रहेछ । पालिकाले धेरै नभए पनि सानोतिनो हातमुख जोर्न पुग्ने काम दिए त परदेश जाने थिइनँ म पनि । तर आजसम्म खै केही भएको छैन । तिमीहरूका लागि यस्तो योजना ल्याउँछौँ भने पनि छैन । हामीलाई अब त आश पनि छैन । आफैं केही काम गरौँ न त भन्दा पनि लगानी छैन । रोजगारी गरौं भन्दा पनि हामीलाई काम दिने कोही छैन । अब विदेश नगएर के गरौँ ? मसँग अर्को विकल्पै छैन ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया