नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
उमेर नपुग्दै गरेको बिहेले शारीरिक र मानसिक असर गर्छ । अझै बढी असर त स्वास्थ्यमा हुन्छ । पहिले अभिभावकको निर्णयबिना आफैँ भागेर बिहे गरेका धेरैजसो किशोरकिशोरी अहिले पछुताइरहेका छन् । यसैगरी पछुताउनेमध्येमा पर्नुहुन्छ, नैना रैगामी मगर । दैलेखको नौमुले गाउँपालिकाकी २० वर्षीया नैना तीन वर्षीया छोरीसहित अहिले माइतीमै बसिरहनुभएको छ ।
श्रीमान र घरपरिवारसँग सम्बन्ध राम्रो नभएपछि उहाँ माइती फर्कनुभएको हो । ‘कसैलाई नसोधी आफैँ भागेर बिहे गरेँ । अरुको घर खान निकै गाह्रो हुँदो रहेछ । सासुको कचकच त्यो घरमा त बस्नै सकिनँ,’ नैनाले आफ्नो दुखेसो पोख्नुभयो । छोरीलाई काखमा राख्दै नैनाले थप्नुभयो, ‘दिनहुँ छोरी बढ्दै छे, उसको पढाइलेखाइ गर्नुपर्यो । न त मसँग छोरीको जन्मदर्ता छ, न त हाम्रो बिहे दर्ता नै । समस्या त अब पो हुने भयो ।’
नैना र नौमुलेकै नौगाउँका नवराज सलामी मगरबीच कक्षा १० मा पढ्दै गर्दा विवाह भयो । उनीहरुले २०७५ सालमा भागेर बिहे गरे । बिहे गर्दा नैना १७ वर्षकी हुनुहुन्थ्यो भने, नवराज १९ वर्षका थिए । विवाह गर्ने उमेर समेत नपुगेकाले नैनालाई स्थानीयको पहलमा घर फर्काइयो । तर, नैना गर्भवती रहेको थाहा पाएपछि आफ्नै घरमा बस्न भन्दै फेरि घर पठाइयो ।
विवाह गरेको एक महिनासम्म राम्रै थियो । बिहेपछि नैना नवराजसँगै विद्यालय जान थाल्नुभयो । तर नवराजको आमाले नैनालाई पढाइ छोडेर घरको काम गर्नुपर्ने बताएपछि त्यही दिनदेखि सुरु भयो, नैनाको घरमा खटपट ।
नैनालाई पढ्ने रहर हुँदा सासुले विद्यालय जान नपाउने भनेपछि नैना फर्केर माइती जानुभयो । गर्भवती भएका कारण नैना एक महिनापछि फेरि नवराजसँगै घर फर्कनुभयो । तर फेरि घरमा कचकच सुरु भयो । ६ महिनापछि नैना फेरि माइती नै फर्कन बाध्य हुनुभयो ।
छोरी जन्मेपछि नैनाका श्रीमान नवराजले पनि आमाको कुरा सुन्न थाले । ‘पहिले आमासँग झगडा भए पनि श्रीमानले त साथ छोडेको थिएन । बिस्तारै श्रीमान पनि आमा जस्तै बने । अहिले त मसँग बोल्नै छोडे’ नैनाले भन्नुभयो । नैनालाई अब के गर्ने भन्ने चिन्ता बढेको छ ।
माइतीमा साना भाइबहिनी र आमा मात्र छन् । साना भाइबहिनीको हेरचाह गर्ने, पढाइ खर्च जुटाउने र छाक टार्ने जिम्मेवारी एक्लै आमाको काँधमा छ । नैनाको घरबार राम्रो नहुँदा नैनालाई भन्दा ठूलो पीर त आमालाई परेको छ ।
‘छोरीको घर बसे त मलाई पनि सन्तोष हुन्थ्यो । अहिले यस्तो हुँदा त मलाई पनि गाह्रो छ’ नैनाकी आमाले चिन्ता व्यक्त गर्नुभयो । उमेर नपुग्दै गरेको बिहेको परिणाम आमाछोरीले नै भोग्नुपरेको छ । नैना र उहाँकी आमालाई अहिले बालविवाहले नै यो दुःख सहनुपरेको भन्नेमा पछुतो छ ।
(खुल्ला धरती, खुल्ला आकाशबाट)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।