एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - बाँकेको राप्तीसोनारी गाउँपालिका ५ की १५ वर्षीया रीता (नाम परिवर्तन) कक्षा ६ मा पढ्थिन् । साँझ बिहान घरमा आमाबुवालाई सघाउने र दिउँसो विद्यालय गएर पढ्नु उनको दैनिकी थियो । तर कोरोनाको कारण चैतदेखि विद्यालय बन्द भयो । विद्यालय बन्दसँगै उनको दैनिकी फेरियो । बिहान साँझ घरको काम गर्ने, दिउँसो बाख्रा चराउन घर नजिकैको जंगलमा जाने गर्न थालिन् । विद्यालय बन्द हुँदा सुरुको एक, दुई हप्ता रीता खुसी नै थिइन् ।
तर लामो समयसम्म विद्यालय नखुल्दा दिक्क लाग्न थाल्यो । रीतासँग मोबाइल थिएन । उनले आफ्नो हजुरआमाको मोबाइल बोक्न थालिन् । रीताको फोनबाट दिनहुँ सँगै पढ्ने साथीसँग कुराकानी हुन थाल्यो । उनले आफ्नै विद्यालयमा कक्षा ७ पढ्ने केटालाई मन पराउँथिन् । केटाले पनि उनलाई मन पराउँथे ।
विद्यालय बन्द हुँदा भेटघाट र कुराकानी नभएपछि उनीहरुको फोनमा कुराकानी हुन थाल्यो । घर एक घण्टाको दूरीमा छ । त्यसैले परिवारको आँखा छलेर भेटघाट पनि हुन थाल्यो । भेटघाट बाक्लिँदै गएपछि उनीहरुले बिहे गर्ने निर्णय गरे ।
रीताका आमाबुवालाई यो कुरा थाहा थिएन । तर, केटाका आमाबुवालाई भने थाहा थियो । उनीहरुले असार १७ गते भागेर बिहे गरे । छोरी केटासँग भागेर गएको रीताका आमाबुवाले १८ गते बिहान मात्र थाहा पाए।
‘सधैं खाना खाएर हजुरआमासँग सुत्न जान्थी, त्यो दिन पनि हजुरआमाकहाँ होली भन्ने सोचेका थियौँ । बिहान उठ्दा त तिम्रो छोरी पोइल गयो भन्दा त अचम्म लाग्यो,’ रीताका बुवाले भन्नुभयो । रीताले भागेर बिहे गरेको कुरा १८ गते गाउँभरि फैलियो । उनको घर नजिकै वडा नम्बर ५ कार्यालय छ ।
रीताले बिहे गरेको वडा कार्यालयका कर्मचारीलाई पनि थाहा भयो । वडा कार्यालयका कर्मचारी र बालबालिकाको क्षेत्रमा काम गर्नेहरुले थाहा पाएपछि उनीहरुले रीताका बुवाआमालाई छोरी फर्काएर ल्याउन सल्लाह दिए ।
रीताका बुवा असार १९ गते छोरी ल्याउन केटाको घर गए । रीताले सुरुमा फर्किन मानिनन् । २० वर्ष मुनी बिहे गरे प्रहरीले पक्राउ गर्ने र जरिवाना गर्ने सुनाएपछि रीता आमाबुवासँग आउन तयार भइन् । रीतालाई उमेर पुगेपछि त्यही केटासँग बिहे गराइदिने सर्तमा फर्काएर घर ल्याए । तर, रीतालाई यो कुरा मन परेन ।
‘छोरीलाई फर्काएर त ल्याएकै हो नि । यहाँ ल्याइसकेपछि त उसले खाना खान र बोल्नै छोडी, दिनभरि सुत्ने, केही नखाने र भाइबहिनीसँग पनि बोलिन । तीन दिनमा फेरि भागेर गइहाली । हामीले रोक्नै सकेनौँ’ रीताकी आमाले भन्नुभयो ।
त्यसपछि रीतालाई परिवारले फर्काएन । १५ वर्षकी उनी अहिले घरमै श्रीमानसँग बसेकी छन् । रीताका आमाबुवालाई भने छोरीको अझै चिन्ता लागेको छ । ‘सानै छे, कसरी घर गरेर खान्छे, हामीलाई त छोरीको चिन्ता लागेको छ’ रीताकी आमाले भन्नुभयो ।
‘मैले सानै उमेरमा बिहे गर्दा कस्तो दुःख खेप्नुपरेको थियो । मेरो जस्तै दुःख उसले पाउने भइ, सानै उमेरमा घरपरिवारको जिम्मा लिनु निकै दुःख हुन्छ’ छोरीलाई सम्झेर आमाले पीर मान्दै भन्नुभयो । रीताका बुवा भन्नुहुन्छ, ‘विद्यालय बन्द हुँदा नै यो समस्या भएको हो । पहिले सधैं पढ्न जान्थी । विद्यालय बन्द भएपछि पढाइ रोकियो, फोनमा कुरा हुन थाल्यो, भेटघाट बन्द भयो, यो भन्दा त बिहे गरौँ भन्ने लाग्यो छोरी भागेर गइ।’
प्रहरीले विवाह रोक्यो, केटाकेटी फेरि भागे
गएको भदौ पहिलो हप्ता बाँकेको राप्तीसोनारी ५ सन्तपुरमा परिवारकै सहमतिमा १७ वर्षीय किशोर र १६ वर्षीया किशोरीको विवाह भइरहेको थियो । प्रहरीले बालविवाह हुन लागेको थाहा पाएपछि मण्डपबाटै पुरोहितसहित बेहुला र बेहुलीलाई पक्राउ गर्यो ।
अभिभावकले बालविवाहबारे जानकारी नभएकाले विवाह गराइदिन खोजेको बताएपछि प्रहरीले सम्झाइ बुझाइ गरे । बालविवाह गरे कानुनी कारबाही हुने भन्दै प्रहरीले केटाकेटीलाई अभिभावकको जिम्मा लगायो ।
प्रहरीले पक्राउ गरी सम्झाइबुझाइ गरेपछि एक हप्तासम्म केटाकेटी आ-आफ्नो घरमा बसे । तर १ हप्तापछि केटाकेटीले फेरि भागेर बिहे गरे । उनीहरुले भागेर बिहे गरेपछि गाउँका किशोरी, अभियान्ताहरु सम्झाउन गए । परिवारले उल्टै धम्की दिए ।
‘हामी गएर सम्झाउँदा केटाकेटीका अभिभावकले नै गाली गर्न थाले । मन मिलेर हाम्रा छोराछोरी बिहे गर्छन् भने तिमीहरु को हो र फेरि छुट्याउन खोज्ने भने, अनि हामी त फर्केर आयौँ,’ सहजकर्ता यमकला बस्नेतले भन्नुभयो ।
चैत ११ देखि भदौसम्म ६९ वटा बालविवाह
लकडाउन सुरु भएदेखि भदौ महिनासम्म बाँके जिल्लामा ६९ वटा बालविवाह भएका छन् । स्याक नेपाल बाँकेका बालविवाह रोकथाम परियोजना प्रबन्धक जगदीश पाण्डेका अनुसार सबैभन्दा बढी बालविवाह गर्ने ४२ जोडी बाँकेको राप्तीसोनारी गाउँपालिका रहेका छन् ।
राप्ती सोनारी गाउँपालिकामा पनि सबैभन्दा धेरै वडा नम्बर ५ मा मात्र १३ जोडीले भागेर बिहे गरेका छन् । यसरी भागेर बिहे गर्नेमा सबैभन्दा धेरै १६, १७ वर्षका बालबालिका छन् । ‘विद्यालय बन्द भए, बालबालिका फुर्सदिला भए, अभिभावकले ध्यान दिएनन् । केटाकेटी भागेर जान थाले । यो संख्या लकडाउन यता झनै बढ्यो,’ प्रबन्धक पाण्डेले उज्यालोसित भन्नुभयो ।
लकडाउनमा बन्द भएका विद्यालय अहिलेसम्म नखुल्दा बालबालिकाको मनोविज्ञानमा असर परेको र विकल्पका रुपमा बिहे गर्न थालेको पाण्डेले बताउनुभयो । बालविवाह गरेका केटाकेटीलाई सम्झाइबुझाइ गर्दा पनि छुट्याउन समस्या भएको राप्तीसोनारी गाउँपालिका ५ की वडा सदस्य धनसरी वली बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘बालविवाह गरेका केटाकेटीलाई छुटाउन निकै प्रयास गर्यौँ । तर सकेनौँ । कसैका अभिभावक नै मान्दैनन् कोही केटाकेटी नै मान्दैनन् ।’ ‘गाउँमा कोरोनाभन्दा डरलाग्दो अवस्था बालविवाहको छ । यो त हामीले लकडाउनमा भएका बालविवाहको मात्र डाटा रोखेका छौँ लुकीछिपी त अझ धेरै गएका छन्,’ धनसरीले भन्नुभयो ।
बालविवाह रोक्न चुनौती
राप्तीसोनारीमा बढ्दै गएको बालविवाह रोक्न निकै समस्या भएको गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्रीले बताउनुभयो । उहाँले गाउँमा धमाधम केटाकेटी भागेर गए पनि आफूकहाँ लिखित मौखिक उजुरी नै नआएको बताउनुभयो ।
‘गाउँमा केटाकेटी भागेर गएकै छन् । रोक्न सकेका छैनौँ । रोक्न खोज्दा केटाकेटी नसुन्ने, अनि कतिपय अभिभावकले नै कुरा बुझदैनन्,’ धनीकुमारीले भन्नुभयो । गाउँपालिकाले ९ वटै वडामा, बालविवाह, महिला हिंसाका बारेमा जनचेतनामुलक कार्यक्रम गरिरहे पनि बालविवाह रोक्न निकै समस्या भएको खत्रीले बताउनुभयो ।
विद्यालय बन्द हुँदा समस्या
कोरोना महामारीका कारण बन्द भएका शैक्षिक संस्था अझै खुल्न सकेका छैनन् । कतिपय विद्यालय सञ्चालनमा आए पनि धेरैजसो विद्यालय अझै बन्द छन् । विद्यालय बन्द हुँदा बालबालिकाको किताब पढ्ने बानी छुट्यो । विद्यालय गएर पढ्ने समयमा उनीहरु गोठालो जान थाले । बारीको र घरको काम गर्न थाले ।
गोठालो जाँदा कतिपयको जंगलमै भेटघाट हुन थाल्यो भने कतिपयको फोन र इन्टरनेटमा कुरा हुन थाले । घरमा बसेर काम गर्नुभन्दा विवाह गरेर सँगै बस्ने भन्दै उनीहरु भागेर बिहे गर्न थालेको किशोरी सिर्जना शर्मा बताउनुहुन्छ ।
विद्यालय बन्द भइ घरमा बस्न थालेपछि किशोर किशोरीले भागेर बिहे गर्ने क्रम बढेको उहाँले बताउनुभयो । ‘विद्यालयमा हुँदा साथीभाइसँग भेटघाट हुन्थ्यो, कुराकानी हुन्थ्यो । रमाइलो हुन्थ्यो, घरभित्र बस्न त साह्रै समस्या हुँदो रहेछ । म आफैँलाई पनि विद्यालय नखुल्दा समस्या भएको छ,’ सिर्जनाले भन्नुभयो ।
बलविवाहबारे आफै जस्ता किशोरकिशोरीलाई चेतना जगाउँदै आउनुभएकी सिर्जना भन्नुहुन्छ, ‘पहिले विद्यालय, गाउँगाउँमा गएर किशोरकिशोरी र अभिभावकलाई सम्झाइबुझाइ गर्थ्यौँ, केही कम भएको थियो । लकडाउनमा त बालविवाह निकै बढे ।’
प्रहरीले नै गोपनियता राख्दैन
बालविवाहबारे दिएका गोप्य सूचनाको प्रहरीले नै खुलासा गर्ने गरेको बालबालिकाको क्षेत्रमा काम गर्नेहरुले गुनासो गरेका छन् । लकडाउनमा हुन लागेका बालविवाहबारे प्रहरीलाई गोप्य रुपमा सूचना दिँदा स्रोत खुलाइदिने गरेकाले आफूहरुलाई काम गर्न समस्या भएको स्याक नेपाल बाँकेका सामाजिक परिचालक कमला बिश्वकर्माले बताउनुभयो ।
आफूहरुले बालविवाह हुन लागेको थाहा पाएपछि गोप्य रुपमा प्रहरीलाई जानकारी गराउँदा प्रहरीले फलानोले हामीलाई खबर गरेको हो भन्दै नाम खुलाइदिँदा समस्या भएको उहाँको भनाइ छ । ‘गएको असारमा उमेर नपुगेरै केटाकेटीको बिहे गराइदिन लागिएको थियो । हामीले प्रहरीलाई खबर गर्यौँ, प्रहरी पनि आयो । तर फलानोले खबर गरेको थियो भनिदियो, त्यसपछि त केटा पक्षकाहरु मेरै घर घेर्न आए,’ कमलाले भन्नुभयो ।
बालविवाह रोक्न प्रहरीले नै साथ नदिँदा उल्टै काम गर्न समस्या भएको राप्तीसोनारीका महिलाहरुको गुनासो छ ।
उजुरी नै पर्दैनन्
केटाकेटीले धमाधम बिहे गरिरहेको भए पनि प्रहरीमा भने उजुरी पर्दैनन् । बाँकेमा ६९ जोडी केटाकेटीले उमेर नपुग्दै बिहे गरेको भए पनि प्रहरीकोमा बालविवाहसम्बन्धी तीनवटा मात्र मुद्दा दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका अनुसार बालविवाहसम्बन्धी १३ वटा उजुरी परे पनि तीनवटा मुद्दा मात्र दर्ता भएका छन् । बालविवाहका मुद्दा, हराएको, बलात्कार भएको जस्ता अन्य शीर्षकमा पर्ने गरेकाले बालविवाहसम्बन्धीका मुद्दा नै प्रहरीमा नजाने गरेको बालबालिकाको क्षेत्रमा काम गर्नेहरु बताउँछन् ।
यता प्रहरी प्रधान कार्यलयका अनुसार गएको चैत ११ देखि अहिलेसम्म बालविवाहसम्बन्धी ६४ उजुरी मात्रै दर्ता भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।