उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – काठमाण्डौको ताहाचलमा रहेको श्रम कार्यालय । श्रम कार्यालय परिसरमा मान्छेको भीडभाड छ । कोही कागजपत्र टाउकोमाथि राखेर चर्को घाम छेकिरहेका छन् भने कोही रुमालले पसिना पुछ्दै छन् । कार्यालयको झ्यालदेखि बाटोसम्मै लामो लाइन छ । लाइनमा उभिंदा उभिंदै थाकेकाहरु भुइँमा टुसुक्क बसेका छन् ।
पुनः श्रम स्वीकृतिको लागि इलामबाट काठमाण्डौ आएका इन्द्र तुम्बाफु पनि आफ्नो पालो पर्खेर छेउकै बेञ्चमा बस्नुभएको छ । कुवेत जान श्रम कार्यालय पुग्नुभएका तुम्बाफु उताको रोजगारी गुम्ने चिन्ताले दशैँ अगाडि नै जान खोजेको बताउनुहुन्छ ।
‘भिसाको म्याद पनि सकिंदैछ, कम्पनीबाट पनि अहिल्यै आउन भनेको छ, त्यसैले जान लागेको’, उहाँले भन्नुभयो, ‘कम्पनीले बोलाएको बेला गएन भने त रोजगारी गुमिहाल्छ नि ।’
उहाँको योबाहेक जानैपर्ने अरु कारण पनि छन् । लकडाउन हुनुभन्दा पहिले नेपाल आएका तुम्बाफुले गाउँमै केही उद्यम गर्न खोज्नुभयो । उहाँले तरकारी खेती पनि गर्नुभयो । तर भनेअनुसार बजार भाउ नपाउँदा उहाँले लगानी पनि उठाउन सक्नुभएन । तर पनि ‘नेपालमै अरु केही गरौँ न’ भन्ने सोच भए पनि आफूहरुको लागि वातावरण नभएको उहाँको गुनासो छ ।
‘हामीले विदेशमा सिकेको सीप लगाउने कुनै ठाउँ छैन यहाँ, जहाँ पनि आफूले चिनेको मान्छे भए मात्र काम बन्छ, त्यसैले यहाँ केही गर्न सकिन्न जस्तो लाग्यो’, उहाँले निराश हुँदै भन्नुभयो, ‘कमाइ भए पो चाडबाड हुन्छ, त्यसैले चाडबाडको भन्दा रोजगारीको माया लागेर विदेश जान लागेको ।’
हुन त कामको लागि खाडी लगायत देशमा जानु धेरैको बाध्यता हो । गाउँमै, देशमै बस्दा पुग्ने भए किन परदेशिन पथ्र्यो होला र । त्यसैमाथि एकातर्फ कोरोनाको त्रास छ भने अर्कोतर्फ दशैँ आउनै लागेको छ । मुखैमा आइरहेको चाडपर्वलाई चट्क्कै छाडेर, घरपरिवार तथा छोराछोरीको लागि एक थान खुसी किन्न परदेशिनेहरुलाई भने न त दशैँको माया लाग्छ न त कोरोनाकै डर । परदेशिनुपर्ने बाध्यता । बाध्यताले परदेश जानेहरुको त्यही भिडमा हुनुहुन्छ, धादिङकी बिमला तामाङ पनि ।
बिमला यूएई जान श्रम कार्यालय पुग्नुभएको हो । दुई महिनाको बिदामा गएको मार्चमा नेपाल आउनुभएकी बिमला लकडाउनका कारण यूएई फर्किन पाउनुभएन । घरमा बस्नुभयो । परिवारसँग दुःख सुख साट्न पाइयो । तर सधै मायाले मात्र घर चल्दैन । घर व्यवहार चलाउन पैसा चाहिन्छ । लकडाउनका कारण घरैमा बस्दा भएको पैसा पनि सकिन लाग्यो ।
खल्ती रित्तिंदै गएपछि बिमलालाई छोराछोरीको चिन्ताले सताउन थाल्यो । आफूले नकमाए उनीहरुलाई कसरी पढाउन सकिएला, कसरी राम्रो खान लाउन दिन सकिएला भन्ने चिन्ताले पिरोलिरह्यो बिमलालाई ।
यही बाध्यता र भविष्यको लागि केही सपना बुनेर उहाँ श्रम कार्यालय आउनुभएको हो ।
‘केही काम नगरी त कसरी जीवन चल्छ र’, उहाँले भन्नुभयो, ‘परदेश नगएर पनि के गर्नु, नेपालमा भनेको बेला काम पाइँदैन, काम पाइए पनि तलब निकै थोरै हुन्छ, त्यसले त जीवन धान्ने मुश्किल हुन्छ ।’
घरमा साना बाबुनानी छाडेर परदेशिने बाध्यता त कसलाई हुन्छ र ? तर बिमला जस्तै धेरै नेपाली आमाहरु आफ्ना नानीबाबु घरमै छाडेर परदेशमा पसिना बगाउन बाध्य छन् ।
धादिङकी बिमला र इलामका इन्द्र तुम्बाफुजस्तै धेरै युवा विदेश जाने भनेर श्रम तथा पुनः श्रम स्वीकृति लिन श्रम कार्यालय पुग्ने गरेका छन् । गाउँघरमा आइपुगेको चाडवाड र कोरोना महामारीको वास्तै नगरी दैनिक सरदर ५ सय जनाले विदेश जान श्रम स्वीकृति लिइरहेका छन् ।
कोरोना कहर तथा दशैँकै बीच परदेश जानुका सबैका आ–आफ्नै कथा व्यथा छन् । कसैको भिसाको म्याद सकिंदैछ भने कसैको लामो समयदेखिको लिन बाँकी इन्सेन्टिभ लिनुपर्ने छ । यस्तै स्वदेशमा रोजगारीको कुनै आशा नदेखिएपछि वैदेशिक रोजगारीलाई नै अन्तिम विकल्प बनाउनेहरु पनि धेरै छन् । समस्या जस्ता भए पनि यहाँ आउने सबैको एउटै उद्देश्य हो, वैदेशिक रोजगारी ।
साउदी जान लाग्नुभएका झापाका युवराज भण्डारीको पनि समस्या उस्तै छ । अहिले काममा फर्किएन भने रोजगारी गुम्ने चिन्ता छ उहाँलाई । कोरोनाको जोखिम भए पनि जानै पर्ने बाध्यता भएको उहाँ सुनाउनुहुन्छ ।
‘नेपालमा रोजगारी नभएपछि जानु परेन त ?’, उहाँले थप्दै भन्नुभयो, ‘दशैंको मुखैमा परदेश जाने रहर त कसलाई हुन्छ र, तर बाध्यता भए पछि जानै पर्ने रहेछ ।’
अहिले विश्वभरी नै कोरोनाको त्रास छ । खाडी देशमा कोरोनाको सङ्क्रमण दिनदिनै बढ्दो छ । त्यही कार्यरत धेरै नेपालीमा सङ्क्रमण देखिएको छ छ । तर लामो समयसम्म घरमा बेरोजगार बस्दा जीवन धान्नै धौ धौ हुन थालेपछि धेरै नेपाली युवा दशैँको मुखैमा वैदेशिक रोजगारीमा जाँदैछन् ।
गन्तव्य देशमा कोरोना जोखिम बढेपछि सरकारले गएको फागुन अन्तिमदेखि श्रम स्वीकृति रोकेको थियो । झण्डै चार महिनापछि गएको असारदेखि पुनः श्रम स्वीकृति र भदौदेखि श्रम स्वीकृति दिन थालिएको छ ।
असारदेखि अहिलेसम्म मात्रै १४ हजार जतिले श्रम तथा पुनः श्रम स्वीकृति लगिसकेको श्रम कार्यालय ताहाचलका निर्देशक छत्रबहादुर शाहले बताउनुभयो । अघिल्लो वर्षको तुलनामा केही कम भए पनि यस्तो प्रतिकूल परिस्थितिमा पनि यति धेरै युवा वैदेशिक रोजगारीमा गएको उहाँको भनाइ छ ।
‘दशैँ तिहारको समयमा श्रम स्वीकृति लिनेहरुको सङ्ख्यामा अघिल्लो वर्षको तुलनामा केही मात्र कम भएको छ’, उहाँले भन्नुभयो, ‘कम हुनुको कारण एक त सबै देशले आगमन खोलेको छैन, अर्को कोरोनाको जोखिम हुन सक्छ ।’
सरकारले स्वदेशमै रोजगारी दिन्छु भनेर जति भाषण गरे पनि त्यसले युवाहरुलाई समेट्न सकेको देखिंदैन । पालिकाहरुले कुनै रोजागरीका कार्यक्रमहरु पनि ल्याएको देखिंदैन । यसले गर्दा विदेशबाट फर्केका युवाहरु पनि फेरि उतै जान बाध्य भएका छन् ।
सरकार कोरोना व्यवस्थापन र आन्तरिक राजनीतिक किचलोमा अल्झिरहेको बेला बेरोजगार युवाका समस्या कुनै पनि सरकारी निकायमा सम्बोधन भएको छैन । त्यसैले पनि यस्तो परिस्थितिमा परदेश जानु युवाहरुको बाध्यता भएकोे अर्थविद् विश्व पौडेल बताउनुहुन्छ ।
‘यो अवस्थामा यहीँ कमाइ गरौं, मलाई पुग्ने म यहीँ पनि कमाउन सक्छु भनेर ढुक्क हुन सक्ने अवस्था नेपालमा छैन’, उहाँ भन्नुहुन्छ, ‘त्यसकारण जबसम्म यो अवस्था रहन्छ, तबसम्म मानिसहरु वैदेशकि रोजगारीमा गइरहन्छन्, उनीहरुलाई न महामारीले रोक्छ, न त चाडपर्वले नै ।’
श्रम कार्यालय ताहाचलमा कार्यालयको झ्यालदेखि गेटबाहिर बाटोसम्मै लाइन हुने गर्छ । एक अर्कासँग टाँसिएर आफ्नो पालो कुर्दै लाइनमा लागेकाहरुलाई कोरोनाको डर छैन । तर यस विषयमा सम्बन्धित निकाय जिम्मेवार देखिनुपर्नेमा कार्यालय आफैं मौन देखिन्छ ।
कोही खोकी रहेका छन्, कोही हाच्छ्युँ गरिरहेका छन् । मास्क नलगाउने त आधा भन्दा पनि धेरै हुन्छन् । महामारी सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर सेवा दिनुपर्ने भन्ने सरकारले निर्देशन दिए पनि यहाँ त्यसको लागू भएको देखिंदैन ।
कार्यालयका निर्देशक तथा सूचना अधिकारी छत्रबहादुर शाह भन्नुहुन्छ, ‘हामीले गोलो घेरा लगाएर दूरी बनाइदिएका छौं, मास्क अनिवार्य गरेका छौं तर यसको पालना कसैले गर्दैनन्, हामीले के गर्ने ?’
कार्यालयका कर्मचारीहरुमा कोरोना देखिएपछि सेवा प्रवाह अलि सुस्त भएका कारण पनि भिडभाड बढेको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।