उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाडौं – प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदीले आफ्नो संलग्नतामा भएको नेपालको पहिलो र एकमात्र राजनीतिक विमान अपहरणबारे आफ्नो अनुभूति सार्वजनिक गरेका छन् । उनले लेखेको संस्मरणात्मक पुस्तक ‘विमान विद्रोह : एउटा राजनीतिक अपहरणको बयान’ मा पञ्चायतविरुद्ध संघर्षका विविध आयामहरु उद्घाटित छन् ।
वीपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा लेखेका छन्, ‘मसँग पैसा थिएन अनि हवाईजहाज अपहरणको विचार आयो । म विस्तारमा भनूँ कि नभनूँ ? अहिले छोडिदिऊँ, अब मान्छे पनि आइसके ।’ दुर्गा सुवेदी भन्छन्, ‘बीपीले विस्तारमा नभनी छोडिदिनु भएको कहानी मैले भन्ने जमर्को गरेको छु ।’
२००३ सालमा धनकुटामा जन्मिएका सुवेदी नेपालको प्रजातान्त्रिक आन्दोलनका चर्चित नाम हुन् । पञ्चायती सत्ताविरुद्ध नेपाली कांग्रेसले गरेको सशस्त्र संघर्षलाई सहयोग पुर्याउन राष्ट्रबैंकको ३० लाख भारतीय रुपैयाँ लुट्न उनले बसन्त भट्टराई र नगेन्द्र ढुंगेलसँग मिलेर २०३० सालमा नेपाल वायुसेवा निगमको विमान अपहरण गरेका थिए । यसबापत करिब १० वर्ष लामो प्रवास–बसाई र दुई वर्ष भारतीय जेलमा जीवन बिताएका सुवेदी कालान्तरमा माओवादी र सरकारबीच शान्ति–संवाद गराउने सूत्राधारसमेत बने ।
एउटा सशस्त्र संघर्ष गर्दा र अर्को सशस्त्र संघर्ष टुंग्याउन भूमिका खेल्दाका दुवै पाटाहरु पुस्तकमा छन् । कांग्रेसले हतियार उठाउँदाका अन्तरकथा, कोइराला परिवारका भित्री कथा र त्यसै क्रममा उनी स्वयंलाई पार्टीभित्रबाटै मार्न खोजिएको षडयन्त्रको पनि सुवेदीले खुलासा गरेका छन् । साथै आफ्नी धर्मपत्नी सुशीला कार्की प्रधानन्यायाधीश छँदा तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्की कसरी ‘१० करोडको गोड्धुवा प्रस्ताव’ लिएर आएका थिए भन्ने वर्णन पनि पढ्न पाइन्छ ।
‘विमान विद्रोह’को प्रकाशन किताब पब्लिसर्स प्रालिले गरेको हो । ‘यसमा राजनीतिक प्रयोजनले विमान अपहरण गर्दाको व्यक्तिगत मनोविज्ञान पहिलोपटक अपहरणकारी स्वयंले सार्वजनिक गर्नुभएको छ’ किताब पब्लिसर्सकी प्रमुख सञ्चालन अधिकृत कल्पना ढकाल भन्छिन्, ‘यो पुस्तकले पाठकहरुलाई नेपाली इतिहासको रोचक अतीततर्फ फर्काउने हाम्रो अपेक्षा छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।