स्वरोजगार बन्दै दृष्टिविहीन युवा

 असोज १८, २०७७ आइतबार १३:५३:० | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

नेपालगञ्जमा दृष्टिविहीन युवा सामूहिकरूपमा मसला प्रशोधनमा लागेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १० आदर्शनगरमा मसला प्रशोधन तथा प्याकिङ गरी उपभोक्ताको घरघरमै पुगेर बिक्री वितरण गर्ने गरिएको समूहका संयोजक ३३ वर्षीय समिप चौधरीले बताउनुभयो ।

उहाँका अनुसार गत असारदेखि शुरु गरेको यो व्यवसायमा १८ युवायुवती संलग्न रहेका छन् । बाँके, बर्दिया र दाङका दृष्टिविहीन र कम दृष्टि भएका युवायुवतीले गाउँमा उत्पादित मसलाको प्रशोधन एवं प्याकिङ गर्ने र त्यसलाई घरघरमै लगेर बेचिरहेका छन् ।  

“दृष्टिविहीन आफँैले कमाउन सक्छन् भन्ने देखाउनका लागि हामीले यो व्यवसाय शुरु गरेका छौँ”, चौधरीले भन्नुभयो, “भविष्यमा शिक्षण पेशाबाहेक के काम गर्न सकिएला र भन्ने लागेको तर अहिले व्यवसायमा लागेपछि यो चिन्ता हटेको छ ।”

सशक्तिकरण युवा समूहमार्फत सङ्गठित भएर आत्मनिर्भरको लागि काम थालेको बाँके राप्तीसोनारी गाउँपालिका निवासी २३ वर्षीय आशाराम थारूले बताउनुभयो । समूहमा आवद्ध युवायुवतीले आफ्ना उत्पादनहरु लिएर गाउँगाउँमा पुग्छन् । त्यसबाट उपभोक्ताको रुचि र धारणा बुझ्न पाइरहेको थारूको भनाइ छ ।

उनीहरुले गाउँगाउँबाट धनिया, अदुवा, बेसारलगायत अग्र्यानिक मसला ल्याएर प्याकेजिङ गरी बेच्ने गरेका छन् । मसला पिस्नका लागि साना तथा घरेलु उद्योग कार्यालय बाँकेबाट अनुदानमा तीन थान मेसिन पाएका छन् । 

आफूहरुले नै मेसिन चलाउन सिकिसकेकाले विस्तारै मसला उद्योग नै सञ्चालन गर्ने योजना रहेको थारू बताउनुहुन्छ । काममा खटिनेलाई मसला बेचेर आएको मुनाफाबाट पारिश्रमिक पनि दिने गरिएको छ । आत्मनिर्भर नहुँदा परिवारका सदस्यले पनि बोझको रूपमा हेर्ने गरेकामा काम गर्न थालेपछि घरपरिवार र समाजको समेत सोचाइ फेरिएको उहाँले उल्लेख गर्नुभयो । 

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले दृष्टिविहीन युवाहरु आफैँ स्वरोजगार हुनु उदाहरणीय कार्य भएको बताउँदै सङ्घबाट आवश्यक सीप तथा सहयोगको पहल गर्ने उल्लेख गर्नुभयो ।

“कामप्रतिको रुचि, इच्छाशक्ति र योजना भए सफलता हासिल गर्न सकिन्छ भन्ने यो एउटा उदाहरण पनि हो”, अध्यक्ष मन्सुरीले भन्नुभयो, “कुनै पनि काम शुरु गर्नासाथ सफलता हासिल हुन नसके पनि त्यसलाई निरन्तरता दिन सके अवश्य पनि सफलता प्राप्त हुने भएकाले योजनाका साथ लाग्न सक्नुपर्दछ ।”

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया