श्रमिककाे उद्धारमा विभेद नगरौँ, समयमै उद्धार नभए भोलि हजारौं बेखर्ची हुन्छन्

 भदौ १८, २०७७ बिहीबार १२:२५:३१ | डिबी क्षेत्री

खाडीका देश र मलेसियामा लाखौं नेपाली काम गर्छन् । कोरोना महामारी सुरु भएपछि खाडी र मलेसियामा काम गर्ने श्रमिकले धेरैखाले भुक्तमान खेप्नु परेको छ ।  

केही सीमित मानिसहरु, जसको समस्या छ उनीहरुलाई उद्धार गरेनौं भने पछि अर्को समस्या हुन सक्छ । जो जागिर सकेर बसिरहेकाहरुलाई बेलामै उद्धार गरेन भने पछि उनीहरु बेखर्ची हुन्छन् भनेर हामीले सुरुका दिनदेखि भनिरहेका थियौं ।

कतिपय हकमा विभिन्न समयमा निर्णय गर्ने र निर्णय फिर्ता हुँदाहुँदा अहिले आएर चार्टर फ्लाइटभन्दा पनि महंगो हुने गरी नियमित उडान खुल्यो । त्यो पनि जहाँ श्रमिक समस्यामा छन् त्यहाँ खुलेको छैन । त्यो पनि पर्याप्त छैन । 
४०, ५० हजार फर्किनुपर्ने छ र फर्किने मानिस थपिंदै जान्छन् ।

ती मानिसहरुलाई फर्काउनको लागि फ्लाइटको जुन तालिका छ, ती पर्याप्त छैनन् । ती मानिसहरु विस्तारै भएको खर्च सकेर बेखर्ची हुने र अन्त्यमा सबैलाई सरकारी खर्चमा उद्धार गर्नुपर्ने समस्या आउन सक्छ । त्यही भएर समयमै नियमित उडान,  उचित भाडादर तोकेर नेपालको झण्डाबाहक विमानलाई जतिसक्दो उडाएर त्यहाँबाट नाफा कमाउने भन्दा पनि यो बेला नेपालीलाई उद्धार गर्ने मनस्थिति बनाउनुपर्छ । यो नै आजको आवश्यकता हो ।
महामारी सुरु भएदेखि नै समस्यामा परेकाहरु फर्कन पाएका छैनन्

विदेशमा पहिलेदेखि नै नेपाली श्रमिकहरु समस्यामा थिए । विभिन्न सघसंस्थाले, चिनेजानेकाले थेगेर राखे । अब समस्या के हो भने मध्यपूर्वमा मे जुन जुलाईदेखि लिएर दशैँ अघिसम्म ठूलो मात्रामा भर्ती गर्ने, भर्ती गरेको दुई वर्ष भएका मानिसको अहिले करार सकिने, उनीहरुलाई जाँदाखेरी टिकट दिने, भोलि त्यही कम्पनीले हामीले टिकट दिएकै हो तिमी गएनौं भन्ने जस्ता अवस्था आउन सक्छ ।

अहिले सबै कम्पनीले ‘डाउनसाइज’ गरेका छन् । ५० प्रतिशत जति जनशक्ति कम गरेका छन् । यो अवस्थामा धेरै श्रमिक नेपाल फिर्ती हुनेहरु पनि जान पाउँदैनन् । नपाउँदाखेरी कम्पनीले पनि जिम्मेवारी नलिदिने र आफूसँग भएको पैसा पनि सकिने हुँदा झन् समस्या हुन्छ । यस विषयमा सरकारले  गरेको अध्ययन अपूरो र जानकारी अधुरो पुगेको हो कि भन्ने छ । यो ठूलो समस्या हो ।

बाँकी भएको मान्छे उडाउनुपर्यो, कतिको करार अवधि सकिँदैछ । उनीहरु थपिंदैछन् । कम्पनीले त माया गरेर राख्दैन । कम्पनीले चार्टड गरेर पठाउँछु भन्दा पनि चार्टडको भाडा महंगो गरिदिएको छ ।

कुरै गर्ने हो भने केही दिन पहिले यात्रु लिन गएको जहाज यात्रुलाई एअरपोर्टमै अलपत्र पारेर रित्तै फर्कियो । उनीहरु कसरी बसे होलान् भनेर एकचोटी पनि सोचिएन । त्यो एउटा विडम्बनाको कुरा हो । भएको जागिर गुमेपछि आफूसँग भएको दुईचार पैसा खर्च गरेर घर जान्छु भनेर टिकट काटेर पनि जान नपाउँदा पक्कै पनि उ समस्यामा पर्छ । न भोलि टिकट काट्न सक्छ, न भोलि यहाँ आफूलाई हेरचाह गरेर बस्न सक्छ । झन् ठूलो मानवीय पीडा हुन सक्छ ।

त्यतिखेर सबैलाई उद्धार गर्नुपर्ने हुन सक्छ सरकारले । झन् ठूलो धनराशी खर्च, झन् ठूलो मानवीय पीडा हुन सक्छ ।  त्यही भएर विशेषतः यूएई, कतार, साउदी र मलेसियामा दैनिक दुईवटा उडान हुनुपर्छ र अरु देशमा आवश्यकताअनुसार दैनिक एक उडान हुनुपर्छ । जुन अहिले दिएको छ त्यो संख्याले पुग्दैन । 

एक लाख २२ हजार मान्छेले नाम लेखाएकोमा अहिले लगभग ५६–५७ हजार मात्र नेपाल फर्किएका छन् । बाँकी भएको मान्छे उडाउनुपर्यो, कतिको करार अवधि सकिँदैछ । उनीहरु थपिंदैछन् । कम्पनीले त माया गरेर राख्दैन । कम्पनीले चार्टड गरेर पठाउँछु भन्दा पनि चार्टडको भाडा महंगो गरिदिएको छ । पाँच, छ हजार नेपाली श्रमिक काम गर्ने कम्पनीहरु छन् । उनीहरुसँगको भविष्यको सम्बन्ध कस्तो हुन्छ भन्ने कुरा गहन तरिकाले लिनुपर्ने विषय भएको छ ।

टिकट काट्न नसक्नेको पालो कहिले आउला ?

केही दिन पहिले मैले यूएईतिरको जानकारी लिएको थिएँ । नेपाल एअरलाइन्सको टिकट काट्ने बाहिर सयौं मानिसहरु लाइन लागेका थिए । टिकट काट्नेहरुको त त्यो पीडा र सास्ती छ, कहिले टिकट काट्न पाइएला र घर जाउँला भन्ने । साँच्चिकै समस्यामा परेकाहरुलाई त झन् के होला ? 

अर्को ठूलो समस्या भनेकोे त्यस्ता श्रमिकलाई गैरकानुनी भनेको छ । जे भए पनि ती नेपाली हुन् । विभिन्न कारणबस्, बाध्यताबस उनीहरु भागे, अन्त काम गरे होलान् ।

अहिले तिनैलाई त्यहीँबाट खर्च गरेर कल्याणकारी कोषको पैसा प्रयोग गरेर पनि नल्याउने हो भने उनीहरु विदेशका कतिपय ठाउँमा माग्नुपर्ने स्थितिमा पुग्लान भन्ने डर छ ।

अर्को ठूलो समस्या भनेकोे त्यस्ता श्रमिकलाई गैरकानुनी भनेको छ । जे भए पनि ती नेपाली हुन् । विभिन्न कारणबस्, बाध्यताबस उनीहरु भागे, अन्त काम गरे होलान् ।

त्यसैले अबको एक मात्र उपाय भनेको भनेको पर्याप्त उडान खोलिदिने । पीसीआर गर्न लगाएर, गरेर ल्याउने । नगर्ने अथवा पैसा नभएकाहरुलाई काठमाण्डौमा पीसीआर गर्ने व्यवस्था सरकारले गर्नुपर्छ ।
मलेसियामा भिसाको अवधि सकिएकाहरु अवैधानिक भएका छन् ।

त्यस्ता मानिस सरकारको हिसाबअनुसार अनागरिक भइदिए । त्यसैले यस्ता समस्या सुल्झाउनुपर्छ । अवैधानिक भएर विदेशमा अलपत्र परेका नेपालीलाई छाड्नु हुँदैन । उनीहरुलाई उद्धार गर्नको लागि सरकार अघि सर्नुपर्छ । अझै पनि कतिपय मानिसहरु सम्पर्कमा आइसकेका छैनन् । त्यही भएर सोचे बुझेर गरेको उद्धार नै आजको आवश्यकता हो । 

योजनाबद्ध हिसाबले सरकारले काम गरेन

देश हाँकेर बस्ने सरकारका विज्ञलाई अपमान गरेजस्तो होला होइन भने योजनावद्ध ढंगले कुनै पनि काम भएको देखिंदैन । फिल्डमै काम गरेका मानिसहरुसँग सरसल्लाह गरेर सबैको सुझावले अगाडि बढेदेखि सहज छ । राजदूतले पनि आफ्ना कुरा प्रष्टसँग राख्न सक्नुभएको छैन ।

कसैको जागिरको कुरा होला, कसैको मर्यादाक्रम त कतिको प्रोटोकलका हिसाबले उहाँहरुले प्रष्ट कुरा राख्न सक्नुभएको छैन होला ।

त्यही भएर अब मुख्यता यी चार, पाँचवटा देशबाट दैनिक दुई उडान हुनुपर्छ । भाडामा प्रष्ट कुरा गर्नुपर्छ । आपत परेको बेला पैसा कमाउनेतर्फ नलागी उद्धारमा लाग्नुपर्छ । पैसा घटाउनुपर्छ । चार्टड हुँदा एउटा मूल्य र त्यसको २५, ३० प्रतिशत बढाएर नियमित उडान भन्नु हाँस्यास्पद छ ।

कतिपय नेपालीहरु कम्पनीले टिकट दिने तथा राम्रो जागिर भएकाहरु पनि हुन सक्छन् । अहिले जान सक्नेलाई टिकट आफै काट्छन् र नसक्नेलाई कोरोना कोषबाट उद्धार गरिनुपर्छ । जसलाई अवैधानिक भनिएको छ र जो निकै समस्यामा छन्, उनीहरुलाई कोषको रकमबाट उद्धार गरिनुपर्छ ।

नेपाल आउने नेपाली सबै बिरामी भएर आउने होइनन् । यस्तोमा सबै नेपालीहरुले छीःछी दूर दूर गर्नु हुँदैन । उहाँहरु पनि त्यही नेपालीका छोराछोरी हुन् ।

हामीसँग यति नै भन्ने यकिन तथ्याँक त छैन । तर सर्सती हेर्दा र अहिलेको अवस्थालाई मध्यनजर गर्दा मध्यपूर्वबाट तीन लाख जति नेपाली र दुनियाँभरबाट चार, पाँच लाख नेपाली आफ्नो स्वेच्छा वा बाध्यताले फर्किन्छन् भनेर भनेका थियौं । त्यसमा आधा लाख मानिस मात्रै नेपाल फर्काइएको छ ।

अझै पनि गन्तव्य देशमा कम्पनी पूर्णतया खुलेका छैनन् । अहिल्यै व्यापार राम्रो हुने सम्भावना छैन । त्यही भएर हामीले हेर्दा अझै पनि एक, डेढ लाख नेपाली समस्या तथा बाध्यताले जाने हुन्छन् र केही इच्छा भएर जाने हुन सक्छन् । 

त्यसैले मेरो सुझाव सरकारलाई नियमित उडान खोलिदिउँ, व्यवहारिक पाटाहरु हेरेर दूतावासलाई प्रभावकारी बनाऔं र समुदायसँग राम्रो सम्बन्धमा रहौं । सबैको एउटै स्वर र एउटै विचारले अगाडि बढौं । अवैधानिक भएका तथा नसक्नेहरु पनि नेपाली नै हुन् । जाने ठाउँ अन्त छैन । उनीहरुलाई सरकारले उद्धार गर्नैपर्छ । 

भोलिका दिनसम्म पनि अवस्था यस्तै रहने हो भने सबैजना बेखर्ची हुन्छन् र झन् समस्या बढ्छ । अझ सरकारलाई दायित्व बढ्छ । आर्थिक भार बढ्छ । त्यसैले उडान बढी खोल्नुपर्छ । यस्तै नेपाल आउने नेपाली सबै बिरामी भएर आउने होइनन् । यस्तोमा सबै नेपालीहरुले छीःछी दूर दूर गर्नु हुँदैन । उहाँहरु पनि त्यही नेपालीका छोराछोरी हुन् ।

यस्तै विदेशमा जाँदैमा नेपाली महिला अनैतिक हुँदैनन् । चरित्र खराब हुँदैन । त्यसैले उनीहरुलाई पनि सम्मान गरौँ । अनेक तरिकाले बदनामित गर्ने र समस्याको बेला अझै मानसिक तनाव दिने काम नगरौँ । गैरआवासीय नेपाली संघले नेपाल सरकारलाई सकेको गरेको छ र गर्ने नै छौं ।

तर यो समस्याको घडीमा हामी सबैले मिलीजुली काम गरौं । हातेमालो गरौं ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डिबी क्षेत्री

डिबी क्षेत्री गैरआवासीय नेपाली संघकाे प्रवक्ता हुनुहुन्छ ।

2 Comments

  • अशोक कुमार

    Sept. 3, 2020, 4:24 p.m.

    म सेप्टेम्बर ६ को टिकट लिएको थियो ।टिकट क्यान्सील भयो । म ६ महिना देखि बसेको छु ।अब फाइन लागन भो अब टिकट लिने कि, फाइन दिने कि, टिकट लिने म बिचलीमा परेको छु।

  •  0 Reply
  • Prakash Pradhanang

    Sept. 3, 2020, 3:55 p.m.

    Thank you for this report.

  •  0 Reply

तपाईको प्रतिक्रिया