मेहनती किसानको अनुभव : ‘अल्छी नगरे सुन फल्छ, लाज नमाने जीवन चल्छ’

 भदौ ९, २०७७ मंगलबार ९:५०:३८ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – अर्गानिक तरकारी खेतीसँगै स्थानीय जातका कुखुरा र खरायो पालन गरेर चितवन पदमपुरका महेन्द्रप्रसाद पौडेलले आफूलाई सफल किसानका रूपमा चिनाउनु भएको छ । १७ वर्ष विदेशमा काम गरेर फर्कनुभएका पौडेल अहिले मासिक एक लाख रुपैयाँभन्दा बढी नेपालमै कमाउनुहुन्छ । 

रोजगारीको लागि २४ वर्षको उमेरमा उहाँ भारत पुग्नुभएको थियो । भारतमा सुरक्षा गार्डको काम गरेर ३८ वर्षको उमेरमा नेपाल फर्किनुभयो ।  रोजगारीको लागि २०६९ देखि २०७२ सम्म ३ वर्ष मलेसियामा बस्नुभयो । उहाँ मलेसियामा हुँदा बुवा बिरामी पर्नुभयो । त्यसपछि स्वदेश फर्कनुभयो । बुवाको उपचारका लागि जमरा उत्पादन गरेर त्यसको जुस खुवाउनुपर्ने भयो ।

जमारा खेती नै व्यवसायको जग

बिरामी बुवाका लागि आवश्यक पर्ने जमरा उहाँले घरमै उत्पादन गर्नु भयो । घरमै जमरा हुर्काएर जमराको जुस बिक्री गर्दागर्दै उहाँ अहिले व्यवसायिक किसान बन्नुभएको छ । दुई वर्षसम्म उहाँले जमरा उत्पादनको कामलाई निरन्तरता दिनुभयो । 

रासायनिक विषादी प्रयोग गरी उत्पादन भएको तरकारीले बिरामी भएका बुवालाई अर्गानिक उत्पादन खुवाउनु पर्ने भएकाले  विस्तारै पौडेल अर्गानिक खेतीमा लाग्नुभयो । जमरा लगाउँदै गर्दा उहाँले अर्गानिक तरकारी उत्पादन सुरु गर्नुभयो ।   

आवश्यक पर्ने जैविक विषादीको उत्पादन

२०७२ सालदेखि नै उहाँले अर्गानीक तरकारी खेती सुरु गर्नुभयो । तरकारीलाई आवश्यक पर्ने जैविक विषादी उहाँ आफैं बनाउनुहुन्छ । जंगल र घरमा पाइने २५ प्रकारका वस्तु संकलन गरेर जैविक विषादी बनाउने गरेको उहाँ बताउनुहुन्छ ।

आफूलाई आवश्यक पर्ने विषादीको ९० प्रतिशत आफैले बनाएको जैविक विषादीबाट पूरा हुने गरेको उहाँ बताउनुहुन्छ । आफूले उत्पादन गरेको विषादी धेरै लैजानेलाई लिटरको ७५ रुपैयाँ र थोरै लैजानेलाई लिटरको सय रुपैयाँमा बिक्री पनि गर्दै आउनुभएको छ ।  

अर्गानीक तरकारी नै पहिचान

१२ कट्ठा क्षेत्रफलमा अर्गानिक तरकारी खेती गर्दा पहिले गाउँले कसैले पत्याएका थिएनन् । तर रासायनिक विषादी प्रयोग नै नगरी उहाँले अर्गानिक तरकारी खेतीमा सफलता प्राप्त गर्नुभयो । पौडेलले १२ लाख रुपैयाँमा तयार गरिएको टनेलमा तरकारी खेती लगाउनुभएको छ । टनेलमा काँक्रा, गोलभेंडा, भन्टा, भेडेखुर्सानी, रायोको साग, मुला लगायतका अर्गानिक तरकारी उत्पादन हुन्छ । 

पौडेललाई कृषि पेसामा श्रीमतीले सघाउँदै आउनुभएको छ । अन्य कामदारलाई दिनगन्तीमा काम लगाउनुहुन्छ । ‘आफ्नो काममा आफैँ खटिने हो’ पैडेल भन्नुहुन्छ ‘लाज नमानी अल्छी नगरी आफैँ खटिए मात्र सफल भइन्छ ।’ 

कृषिबाटै परिवारलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित व्यवसायिक कृषिमा लागेको पौडेलले बताउनुभयो  । तरकारीबाट मासिक ५० हजारदेखि ७० हजार रुपैयाँसम्म नाफा लिने गरेको उहाँको भनाइ छ ।

लोकल कुखुरा सोचेभन्दा राम्रो 

तरकारी खेतीबाट निस्कने फोहोर व्यवस्थापनका लागि उहाँले लोकल कुखुरा पाल्नुभएको छ । अहिले एक हजार लोकल कुखुरा उहाँको खोरमा टुट्दैनन् । तरकारीका टुक्रा, झाल, पात लोकल कुखुराका लागि राम्रो आहार बनेको छ । स्थानीय जातका कुखुराको मासु र अण्डा स्वादिष्ट तथा स्वस्थकर हुने हुँदा उपभोक्ताले रुचाउने गरेको उहाँले बताउनुभयो ।

 

उन्नत जातका कुखुरालाई जस्तो स्थानीय कुखुरालाई नियमित खोप, औषधि खुवाउनु पर्दैन । खेर गएका तरकारी र केही दाना खुवाएर पाल्न सकिन्छ । ६ लाख रुपैया लगानी पुगेको बताउदै उहाँले कुखुरापालनबाट मासिक ४० देखि ६० हजार रुपैयाँसम्म मुनाफा हुने गरेको बताउनुभयो । 

जैविक विषादी बनाउनका लागि खरायोको पिसाब चाहिने भएकाले उहाँले व्यसायिक रुपमा खरायो पालन पनि गर्नुभएको छ । सुरुमा उहाँले २० वटा खरायो पाल्नुभएको थियो । अहिले खोरमा ४ सय वटासम्म खरायो छन् । खरायो पालनका लागि नै उहाँले ५ लाख लगानी गर्नुभएको छ । 

स्वस्थकर मासुको छिटो उत्पादन हुने भएकाले खरायो पालेको बताउँदै उहाँले खरायोबाट सोचे अनुसारको मुनाफा भने नभएको उहाँ बताउनुहुन्छ । 

खेर जाने बस्तुबाटै दाना 

लोकल कुखुरा र खरायोलाई आवश्यक पर्ने दाना उहाँ आफैंले उत्पादन गर्नुहुन्छ । बजारका कुनै पनि वस्तुको मिसावट नगरी उहाँले खेर गएका बस्तुबाटै दाना बनाउनुहुन्छ । घरमै उत्पादन भएको मकै, गहुँ, धान, चोक्कर, पिना, धानको ढुटो, नुन र हरिया तरकारीलाई मिसाएर कुखुरा र खरायोलाई आवश्यक पर्ने दाना बनाउने गरेको उहाँ बताउनुहुन्छ ।

तरकारी खेती मात्र गर्दा त्यसबाट प्रयोग गर्न सकिने धेरै वस्तु खेर जाने भएकाले उपयोग गर्न सक्ने गरी तरकारीसँगै कुखुरा र खरायो मिसमास व्यवसाय गरेको उहाँले बताउनुभयो । 

१७ वर्ष विदेशको भूमिमा बसेर काम गरेका किसान पौडेल भन्नुहुन्छ ‘अल्छी नगरे गाउँमै सुन फल्छm लाज नमाने जीवन सहज चल्छ ।’ लाज र अल्छी नमानी आफ्नै ठाउँमा सानो लगानीमा व्यवसाय सुरु गरेमा कामको लागि विदेश जान नपर्ने उहाँ बताउनुहुन्छ । 
 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया