कुवेतबाट स्वदेश फिर्तीको लागि १२ उडान, स्वदेश आइपुगे १८ सय ६९ नेपाली

 असार ११, २०७७ बिहीबार १६:३:५६ | उज्यालो सहकर्मी

काठमाण्डौ – कुवेतबाट अहिलेसम्म १२ उडानमार्फत १८ सय ६९ जना स्वदेश फर्किएका छन् ।

अहिलेसम्म नेपालका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले एक/एक उडानमार्फत ३०४ जना र कुवेतको जजिरा एअरको १० उडान गरी जम्मा १८ सय ६९ जना स्वदेश फर्किएका कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ।

जजिरा एअरमार्फत कुवेत सरकारले भिसा उल्लङ्घन गर्नेका लागि घोषणा गरेको आममाफी कार्यक्रममा सहभागी भएकालाई १० वटा उडानमार्फत ल्याइदिएको छ । आममाफीमा सहभागी झण्डै ३ हजार जना रहेका छन् । कुवेतले क्रमश: सबैलाई ल्याइदिनेछ ।

कुवेतमा रहेको नेपाली दूतावासले दुईवटा चार्टर्ड उडानमार्फत त्यहाँ विभिन्न कारणले समस्यामा परेकालाई स्वदेश पठाएको हो ।

स्वदेश फर्कनैपर्ने अवस्थामा रहेका गर्भवती, कोरोना बाहेकका गम्भीर रोगका बिरामी, काजकिरियाका लागि फर्कन पर्नेहरु, अपांगता भएकालगायतका व्यक्तिलाई प्राथमिकतामा राखेर दूतावासले स्वदेश पठाएको हो ।

समस्यामा परेका नेपालीको स्वदेश फिर्तीको लागि सहजीकरण र बिदाई गर्न कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी आफैं विमानस्थलमा पुग्नुभएको थियो । उहाँसँगै अन्य कुटनैतिक कर्मचारीले सहजीकरण तथा बिदाई गरेको दूतावासले जनाएको छ । आउँदा दिनमा पनि समस्यामा परेका र स्वदेश फर्कनैपर्ने अवस्थामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि सहजीकरण र समन्वय गर्ने दूतावासले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया