कोरियाबाट २२८ नेपाली काठमाण्डौ आइपुगे, आजै १६१ जना कोरिया जाँदै

 असार ६, २०७७ शनिबार ९:२८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरियाबाट २२८ जना नेपाली काठमाण्डौ आइपुगेका छन् । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोरियामा रोकिएका र समस्यामा परेका नेपालीहरु कोरियन एअरमार्फत स्वदेश फर्किएका हुन । 
कोरियन एअरको चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका नेपालीहरु आफ्नै खर्चमा फर्किएका हुन् । 

प्रवेशाज्ञा अवधि सकिएका तथा नेपाल फर्कनुपर्ने आवश्यकता हेरेर सकेसम्म सबैभन्दा बढी आवश्यक भएकालाई प्राथमिकताका साथ समेटिएको बताइएको छ । तीमध्ये अवैधानिक बसोबास गरेका अभियोगमा दक्षिण कोरियामा बन्दी जीवन बिताइरहेकामध्येबाट १५, बिरामी तथा गर्भवती ३६ जनासहित कोरियामा रोजगारी वा अन्य सिलसिलामा रहेर प्रवेशाज्ञा अवधि सकिएर नेपाल फर्कन नसकेकाहरू रहेका छन् । 
यात्रुले टिकट बापत झण्डै ८५ हजार रुपैयाँ तिरेका छन् । 

आजै यो जहाजबाट १६१ जना नेपाली कोरिया जाने भएका छन् । कोरियाबाट बिदामा नेपाल आएका र फर्कनका लागि भ्यालिड भिसा र श्रम स्वीकृति भएका नेपालीहरु मात्रै फर्कन लागेको ईपीएस कोरिया शाखाका अधिकृत बाबुराम घिमिरेले जानकारी दिनुभयो ।

अहिले भिसा नभएका या नयाँ प्रक्रिया गरेर जानुपर्ने लगायत ईपीएस कोरिया शाखाबाट थप प्रक्रिया गर्नुपर्ने कोही पनि नेपाली कोरिया जान पाएका छैनन् ।

‘उहाँहरु घुम्न या परिवारिक भेटघाटका लागि बिदामा नेपाल आउनुभएको र जोसँग अवधि भएको भिसा र श्रम स्वीकृति छ उहाँहरु मात्रै फर्कनु हुने हो,’ शाखा अधिकृत घिमिरेले भन्नुभयो,‘थप प्रक्रिया गरेर जाने नेपालीहरु यस उडानमार्फत जान पाउनु हुने छैन ।’

घिमिरेका अनुसार जुन १६ अर्थात गएको मंगलबार पनि १६८ नेपाली कोरिया फर्किएका छन् । उनीहरु पनि बिदामा नेपाल आएका र साथमा आधिकारीक भिसाको अवधि र श्रम स्वीकृति भएकाहरु नै हुन् । गएको वैशाख १४ गते मन्त्रिपरिषद्को बैठकले सबै प्रक्रिया पूरा भएर पनि कोरिया जान नपाएका नेपाली श्रमिकलाई कोरिया सरकारसँग समन्वय गरेर उड्न दिने निर्णय गरेको थियो । 
 

अन्तिम अपडेट: मंसिर २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया