उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
खाडीका देश र मलेसियामा लाखौं नेपाली स्वदेश फर्कने दिन कुरिरहेका छन् । कतिपय त अति नै समस्यामा परेका छन् । कोरोना महामारी कहिले सकिन्छ र कहिले अन्तर्राष्ट्रिय उडान खुल्छ ठेगान छैन । सरकारले जहाँ हुनुहुन्छ, त्यहीँ सुरक्षित भएर बस्नुहोस् भनेको दुई महिना हुन लाग्यो । खाडीका देश र मलेसियमा लकडाउन लम्बिएको छ भने सुरक्षा सतर्कता बढाइएको छ । काम र कमाइ छैन । कतिलाई त सङ्क्रमणसमेत भएको छ । विदेशमा रहेकाको उद्धारका लागि चौतफी रुपमा आवाज पनि उठिरहेको छ । सरकारले चाहिँ के तयारी गरिरहेको छ त ? विदेशमा समस्यामा परेका नेपाली श्रमिकको उद्धार कहिले होला ? प्रस्तुत छ, यिनै विषयमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग सन्जिता देवकोटाले गरेकाे कुराकानी ।
विदेशमा रहेका नेपालीलाई जहाँ हुनुहुन्छ त्यहीँ बस्नुस् भनेको दुई महिना पुग्न लाग्यो । समस्यामा परेकालाई उद्धार गर्छौं, गृहकार्य गरिरहेका छौं भनेर सरकारले भन्न थालेको पनि धेरै भइसक्यो ? कहाँ पुग्यो सरकारको तयारी ?
विश्वव्यापी कोरोना महामारीको सङ्क्रमणसँगै धेरै नेपालीहरु अप्ठ्यारोमा परेकोबारेमा हामीलाई जानकारी छ । अहिले हामी विभिन्न दूतावासहरुसँग मिलेर सबैभन्दा धेरै समस्यामा रहनुभएकाहरुको नामावली संकलन गरेर उहाँहरुलाई वर्गीकरण गरिरहेका छौं । त्यसको लागि मापदण्ड बनाइरहेका छौं । झण्डै ४० लाखको सङ्ख्यामा रहेका नेपालीमध्ये सबैलाई अहिले ल्याउन सकिन्न । समस्यामा परेका र अत्यधिक अप्ठ्यारोमा परेकाहरुलाई नै प्राथमिकतामा राखेर ल्याउने हो ।
त्यही भएर हामीले सम्बन्धित देशको सरकार र त्यहाँको दूतावाससँग पनि समन्वय गरिरहेका छौं । हामीले पहिलो चरणमा विभिन्न देशमा अवैधानिक तरिकाले बसिरहेका र सम्बन्धित देशको आममाफी प्रक्रियामा समावेश भएर आममाफी पाएकाहरुलाई पहिलो प्राथमिकतामा राख्छौं ।
यस्तै रोजगारी गुमाएकाहरु, पहिले नै करार अवधि सकिएर फर्किने तयारी गरिरहेका भिसाको अवधि सकिएकाहरु प्राथमिकतामा पर्नुहुन्छ ।
यस्तै कतिपय अवस्थामा महिलाहरु गर्भवती हुनुहुन्छ, उहाँहरु पनि प्राथमिकतामा पर्नुभएको छ । कोरोना बाहेक अन्य रोग लागेकाहरु र छोटो समय भिजिट भिसामा जानुभएकाहरुलाई पनि फर्काउनुपर्ने भएको छ । हामी यसको वर्गीकरण गरिरहेका छौं ।
विभिन्न देशहरुबाट कति फ्लाइटहरु चाहिएला भनेर विवरण तयार गर्ने काम भइरहेको छ । उहाँहरुको विवरणसँगै उहाँहरु कुनकुन जिल्लाको हो र त्यहाँ कतिसम्म क्वरेण्टीन चाहिन्छ भन्नेकनरे पालिकासँग पनि आवश्यक समन्वय गरिरहेका छौं । यसो गर्दा हामीलाई अझै केही दिन लाग्ला । तर जे होस्, अब हामीले विदेशमा संकटमा पर्नुभएका नेपालीहरुलाई फर्काउने प्रक्रिया सुरु गरेका छौं ।
मन्त्रीज्यू, अहिले कुवेत, यूएई लगायतका केही देशले आफ्नै जहाजमार्फत नेपालसम्म पुर्याइदिन्छौं भन्न थालिसके । उनीहरुले नै स्वदेशसम्म ल्याइन्छौं भन्दा नेपालमा होटल, स्कुल लगायत खाली रहेका ठाउँलाई क्वरेण्टीन बनाएर व्यवस्थापर्न गर्न चाहिँ के कुराले रोकेको छ ?
अहिले कुवेत र यूएईलगायतका केही देशले नेपालीलाई चार्टड गरेर नेपालसम्म पुर्याइदिन्छौं भनेको कुरा सत्य हो । कतिले त उडानको मितिसमेत पठाउनुभएको थियो । तर यहाँ हामीले थप तयारी गर्नुपर्ने र मे महिनाभरी अन्तर्राष्ट्रिय उडान बन्द भएको अवस्थामा हामीलाई तयारी गर्नको लागि समय दिनुस्, त्यसपछि हामी तपाईंले भन्नुभएअनुसार समन्वय गर्छौं भनेका छौं ।
यसमा दुईटा कुरा हुन्छ । पहिलो त विश्वव्यापी महामारीको बेला विभिन्न देशहरुका केही साझा दायित्वहरु हुन्छन् । त्यही साझा दायित्व अन्तर्गत नै सबै देशहरुले आफ्ना नागरिकहरु र अरु देशका नागरिकहरुलाई पनि आफ्नो भूभागमा रहँदासम्म संरक्षण दिइरहेका छन् ।
संसारमा कुनै पनि देशले विदेशमा भएका आफ्ना सम्पूर्ण नागरिकलाई फिर्ता ल्याएको पनि छैन र ल्याउन सम्भव पनि हुँदैन । अनि कुनै पनि देशले आफ्नो भूभागमा रहेका विदेशी नागरिकलाई सम्पूर्ण रुपले फिर्ता पठाएको छैन र पठाउन सम्भव पनि हुँदैन । यो विश्वव्यापी रुपमा महामारीका बेला, मानवीय संकटका बेला अवलम्बन गर्नुपर्ने राष्ट्रहरुको साझा दायित्व हो । त्यही भएर सबैभन्दा पहिले त हामीले यी विषयमा जोड दियौं ।
यस बीचमा सम्बन्धित देशका सरकार प्रमुख तथा विदेशमन्त्रीहरुसँग कुराकानी गरेर विदेशमा रहेका नेपालीहरुलाई सुविधा पुर्याउने प्रयत्न गर्यौं । त्यसैको फलस्वरुप अहिले सबै ठाउँमा सम्बन्धित सरकारले उपचारमा सहयोग गरिरहेका छन्, भिसाको अवधि बढाइदिएका छन् । सम्भव भएसम्म जो जहाँ छौं त्यहीँ सुरक्षित हौं, यात्रा पनि सुरक्षित छैन भनेर पहिले त हामीले यो विधि अवलम्बन गर्यौं ।
तर सधैंभरी यसरी चल्ने कुरा थिएन । एउटा बिन्दूमा आफ्ना देशका नागरिकहरु देश फर्कन चाहनु पनि स्वभाविक हो र हामीले देश फर्काउनु पनि स्वभाविक हो । यस बीचमा हामीले यसैअनुसारको तयारी गरिरहेका छौं ।
झण्डै ५० हजार जनाको क्षमताका क्वरेण्टीनहरु तयार गरेका छौं । अहिले ३५ हजार जति नागरिक क्वरेण्टीनमा हुनुहुन्छ । विदेशबाट र विशेषगरी भारतबाट आउनुभएकाहरु क्वरेण्टीनमा हुनुहुन्छ । तर ठूलो सङ्ख्यामा थप नागरिकहरु विदेशबाट ल्याउनुपर्ने छ त्यसको लागि क्वरेण्टीनको क्षमता बढाउनुपर्ने छ । जहाँसम्म होटेललाई क्वेरण्टीन बनाउने कुरा पनि नभएको होइन । तर रोजगारी गुमाएर विदेशबाट आएकाहरु पैसा तिरेर होटेलमा बस्न सक्ने अवस्था पनि हुँदैन ।
हामीले अप्ठ्यारोमा परेकालाई छुट्टै प्रबन्ध गर्नुपर्ने पनि छ । होटेलमा बसेर आफ्नै खर्च व्यहोर्न सक्नेहरुको लागि हामीले होटेलसँग पनि कुरा गरेका छौं । रोजगारी गुमाएर, आममाफी पाएर आएकाहरुलाई तपाईंहरु होटलमा बस्नुस् र आफ्नो खर्च आफै तिर्नुस् भन्न सक्ने अवस्था पनि शायद सबैलाई नहोला । त्यसका लागि छुट्टै प्रबन्ध गर्नुपर्ने छ ।
सबैलाई काठमाण्डौमा राख्न सकिंदैन र राख्न पनि हुँदैन । अहिले पहिलो लटमा सङ्ख्या २५ हजार जति हुने देखिन्छ । तर त्यो सङ्ख्या पछि बढ्न सक्छ । त्यसैले सबैलाई काठमाण्डौमै राख्न व्यवस्थापकीय हिसाबले पनि सम्भव हुँदैन ।
सरकारले ढिलोचाँडो ल्याउला । ल्याइसकेपछिको व्यवस्थापन कसरी हुन्छ ? विदेशबाट झोला बोेकेर निस्केदेखि स्वदेश फर्किएर घर नपुग्दासम्मको खर्चको व्यवस्थापनका बारेमा सरकारले कस्तो योजना बनाइरहेको छ ?
त्यसको लागि उहाँहरुले विभिन्न दूतावासले जारी गरेका फारम भर्नुभएको छ । त्यही अनुसार हामीले उहाँहरुको वर्गीकरण गर्छौं । यस्तै हामीले सम्बन्धित कम्पनी र सम्बन्धित सरकारसँग कुरा गर्छौं ।
जस्तो वैधानिक ढंगले कार्यवधि पूरा गरेर फर्कनेलाई सम्बन्धित कम्पनीले नै फर्किने टिकट दिन्छ, त्यसमा सरकारले केही गर्नु परेन । अवैधानिकहरुलाई आममाफी दिएर वैधानिक बनाएकाहरुलाई पनि सम्बन्धित देशले नै फर्किने टिकट दिन्छ, त्यसमा पनि टिकटको समस्या भएन । भिजिट भिसामा गएकाहरुलाई पनि फर्किने टिकट छँदैछ, उहाँहरुको हकमा पनि कुनै समस्या भएन ।
केही सीमितहरुलाई त टिकटको पनि व्यवस्था गर्नुपर्ला तर धेरैजसोलाई भने सम्बन्धित देश, सम्बन्धित रोजगारदाताले टिकट दिन्छ, त्यही अनुसार हामी उहाँहरुको टिकटिङको सहजिकरण गर्छौं, पबन्ध गर्छौं ।
तेस्रो अलकति चुनौतीको कुरा भनेको स्वास्थ परीक्षण हो । किनभने बिना स्वास्थ्य परीक्षण ल्याउन सकिंदैन । तर सबै देशहरुले स्वाब परीक्षण गर्ने र आरडीटी गर्ने प्रबन्ध पनि गरेका छैनन् । तर यूएईले त्यो गरिदिन्छु भनेको छ ।
अरु केही देशहरुले पनि आरडीटीसम्म गर्न सक्छौं भन्ने कुरा गरेका छन् । तर स्वाब लिएर पीसीआर परीक्षण भने सामान्यतया नहुने भएको छ । त्यसो भएकाले उहाँहरुलाई कसरी न्यूनतम स्वास्थ्य परीक्षण गर्ने भन्ने समस्या छ । त्यो पनि गरौंला ।
तेस्रो चरण भनेको उहाँहरुलाई न्यूनतम परीक्षण गरेर ल्याउने हो । चौथो काठमाण्डौ ल्याइसकेपछि फेरि हामी उहाँहरुलाई परीक्षण गर्छौं । फरक फरक प्रदेश र फरक फरक जिल्लाको समूह बनाउनको लागि सम्भवतः एकदिन होल्डिङ राख्नुपर्ने हुन्छ । खासगरी श्रमिकहरुको हकमा हामी काठमाण्डौमा धेरै दिन राख्दैनौं । त्यसपछि सम्बन्धित जिल्ला र सम्बन्धित प्रदेशमा पुर्याउने गरी यातायातको प्रबन्ध गरेर त्यहाँ क्वरेण्टीनको व्यवस्था गरिन्छ ।
क्वरेण्टीनमा जानुभन्दा अगाडि आरडीटी परीक्षण गर्ने र १४ दिन वा २१ दिन क्वरेण्टीनमा बसिसकेपछि पीसीआर परीक्षण गरेर उहाँहरुलाई होम क्वरेण्टीनमा पठाउने गरेर अहिलेको तयारी भइरहेको छ ।
यसो गर्दा नियमित रुपमा फर्किनेहरुको हकमा सम्भवतः उहाँहरुले केही सहयोग गर्नसक्ने स्थिति पनि बन्छ । सबै कुराहरु सरकारले व्यहोर्न सम्भव पनि हुँदैन, त्यो जिम्मेवारी बोक्नु पनि पर्छ ।
तर रोजगारी गुमाएर र आममाफी पाएर फर्किएकाहरुको हकमा भने उहाँले आफैंले खर्च व्यहोर्न सक्ने अवस्था नहोला । त्यही भएर कसले खर्च व्यहोर्ने र कसले नव्यहोर्ने भनेर हामी मापदण्ड बनाउँछौं । त्यस्तो अवस्थामा अहिले वैदेशिक रोजगार कल्याणकारी कोष छ, त्यस्तै आईओएम, आईएलओबाट पनि केही सहयोग लिन सकिन्छ । त्यसबाहेक सरकारका केन्द्रीय कल्याणकारी कोष, विपद कोष, कोभिड १९ कोषहरुबाट पनि हामीले केही सहायताहरु जुटाउन सक्छौं । तर सक्नेहरुले सरकारबाट सहायता नलिनुहोला र सक्नेहरुले आफै खर्च व्यहोर्नुहोला भनेर अनुरोध गर्न चाहन्छौं ।
यतिका तयारी भइसकेको रहेछ । अब विदेशमा रहेका श्रमिकलाई तपाईँहरुको उद्दार यो दिनदेखि गर्छौं भन्न चाहिँ अझैं कति समय लाग्ला त मन्त्रीज्यू ?
अब यही दिन नै ल्याउने भनेर भन्न सकिने अवस्था छैन । आवश्यक तयारी पूरा भएपछि हामी ढिलो गर्दैनौं । किनभने अहिले त्यसै पनि श्रम मन्त्रालयले विभिन्न दूतावासलाई केही सहायता पठाएर त्यहाँ समस्यामा परेकाहरुलाई सक्दो सहायता दिने कोशिस भैरहेको छ ।
त्यही भएर त्यहाँ सहायता पठाउनुभन्दा यहाँ ल्याएर सहायता दिने कुरा बढी प्रभावकारी हुन्छ । तर यहाँ ल्याएर भद्रगोल नहोस् भन्नका लागि हामीले सबै तयारी पूरा गर्नुपर्ने हुन्छ ।
त्यसो भए अब परदेशमा अलपत्र परेकाहरुले धेरै समय कुर्न पर्दैन भनेर ढुक्क हुँदा हुन्छ त ?
सकेसम्म छिटो उहाँहरुको उद्धार गर्ने सोचमा छौं । अब त्यति ढिलो नहोला । पहिलो चरणमा हामीले एकदम समस्यामा परेकालाई मात्र ल्याउन सक्ने अवस्थामा छ । त्यसो भएको हुनाले सानो सङ्ख्या नै हुन्छ । सबै अहिले फर्कन सक्ने सम्भव छैन । सबैले अहिले त्यो ढङ्गले हतारो पनि नगरिदिनुहोला । प्रष्ट मापदण्ड बनाएर त्यसअनुसार नै हामी उहाँहरुको उद्धार गर्नेछौं । बाँकीले संकटसँग जुध्दै त्यहीँ आफ्ना केही व्यवस्थापन गर्नुहोला ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।
पुर्ण ब. थामी
May 25, 2020, 5:43 a.m.मेरो भिसा जुन 19 मा सकिदै छ। मेरो पनि घर फर्कनु अनिवार्य छ सरकार कहिले फर्किनसम्म मिल्छ। यहाँ धेरै गार्हो छ ।
Nabin Kumar Yadav
May 22, 2020, 3:24 p.m.म बिद्द्यार्थी हुँ बंगलादेशवाट ....यहाँ बंगलादेशमा दिन का दिन कोरोना बढ्दै छ / यहाँ बस्न गाह्रो भएको छ सबैजनालाई ...दिनका दिन हामीहरुमा डिप्रेसन बढ्दै गैरहेको छ ...घर जान मन लाग्छ ..कहिलेकाही सामान्य बिरामी पर्दा पनि धेरै ठूलो डर हुने गर्छ ...यहाँ हामीलाई रेखदेख गर्ने कोही छैन , केहि भैहाले हेर्ने र जीमा लिने मान्छे पनि हुँदैन ...त्यसैले सरका संग यो अनुरोध छ कि सके सम्म चांडो भन्दा चांडो हामीलाई हाम्रो desh लिएर जावस , एक पल पनि बस्न गाह्रो भएको छ / कृपया हामीलाई सहयोग गरियोस्.............
Sameer
May 22, 2020, 10:24 a.m.म दुबईवाट घर जानुपर्ने, इमरजेन्सी छ , अप्रिल ३ को नेपाल एयरलाइन्सको टिकट थियो, तर आउन पाइन .....दीर्घ रोगी भएकोले अहिले घर जान नपाएर मानसिक रुपमा बिरामी भएको अवस्था छ / जहिले न्युज हेर्यो, सरकारले छलफल मात्रै हुँदैछ भन्ने सुन्छु , हैन कति छलफल मात्रै गर्ने ?? अब निर्णय मात्रै हैन, तुरुन्त निर्णय गरेर कार्यान्वयन पनि गर्नुपर्यो /
बखन सिङ गुरुङ.
May 20, 2020, 4:45 a.m.म मलेसिया बाट। हामी आज दुई महिना भयो। ७ जना हामी २१ मार्च नेपाल अयर लाइन को टिकट थियो। हाम्रो हालत खराब भै सक्यो। छिटो नेपाल फर्कन चहान्छौ पैसा सक्यो के खाने भन्नुहोस।
उमेश घिमिरे
May 19, 2020, 9:44 p.m.धेरै राम्रो काम,यथासिग्र छिटो सबै नेपालीलाई नेपाल फर्काउनु होस ।
गोविन्द
May 19, 2020, 7:24 p.m.VISA को करार अवधी सकियेको र घर जाने क्रम मा नेपाल को लॉकडाउन को करण ले गर्दा मार्चको २३ को टिकेट कैन्सल भएको छ वा छैन त्यों टिकट बाट नै आगामी उद्धार गर्ने बेला काम लाग्ने हो या फेरी नया टिकेट को बेबस्ता गर्नु पर्ने हूँछ जानकारी पाऊँ । मार्च को २० को टिकट र हिसाब किताब दीई कम्पनी ले बिदा गरेको थियो नेपाल सरकार को राता रात को निर्णय ले गर्दा अहिले ३ महीना देखी रूम को रूम बसेको छू खाने खर्च पनी सक़ियों न कम्पनी ले एक कल गरेर सोध्छ साथी हरु संग नेपाल गएर उसको घर परिवार मा पाठाई दिउला भने र लिएको खर्च सक़ियों अहिले ऊनी हरु संग पनी पैसा सकियेको काम न भएको ले अब छिट्टो भंदा छिट्टो उद्धार होस सरकार
dambar prasad sapkota
May 19, 2020, 7:20 p.m.कोरोनाको प्रकोप बध्दो क्रम्माभएको र घरमा समस्या भएको अनि कम्पनी मा पनि धेरै बर्स काम गरिसकेको साथै रिजाइन पनि दिएको।जतिसक्दो छिटो घर जानू पर्ने अवस्था छ।please हेल्प me ।
punya prasad sangroula
May 19, 2020, 6:54 p.m.दिनप्रतिदिन covid 19कोरोना भाइरस बध्दोक्रम्मा छ।काम गर्दा धेरै भिड मा काम गर्नु पर्ने अवस्था छ।र घरमा परिवारिक समस्या छ।
Bikash mahato
May 19, 2020, 12:51 p.m.सरकारले धेरै समय लगायो, तर गर्न लागेको काम राम्रो हो / सबै नेपालीहरु आफ्नो घर फर्किन पाउनुपर्छ / म अहिले जापानमा छु , मेरो भीसा सकिएको ३ महिना भैसक्यो ...तर नेपाल फर्किन पाएको छैन...पैसा सकिएको कारण खान बस्न पनि गाह्रो हुनलागेको छ, त्यसैले अरु देश संगै हामी जापानमा अलपत्र परेकालाई पनि ल्याउनुपर्यो /