उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
भोजपुर – कतारको दोहाबाट आएको बुवाको चिठ्ठी पढ्न छोराछोरीको हानाथाप नै पथ्र्यो । महिनौंपछि आउने बुवाको चिठ्ठीमा लेखिएको हुन्थ्यो ‘छोरी निर्मला म टाढा छु । भाइबहिनी र आमाको ख्याल गर्नु ।’ भोजपुरकी निर्मला राईले कतारबाट बुवाले पठाएको चिठ्ठीको अंश सुनाउनु भयो ।
त्योबेला खबर आदानप्रदान गर्ने र मनको पोको फुकाउने चिठ्ठी भन्दा अर्को विकल्प थिएन । फोन सुन्न दुई घण्टा हिँड्नुपर्ने । बुवासँग बोलेर मुस्कुराउँदै स्कुलबाट फर्किएकी दिदी उर्मिलाले बुवासँग बोलेको सुनाएकी थिइन् । निर्मला त बुवासँग बोल्न पनि पाउनु भएन ।
भोजपुरका ऋषिजितले कतारबाट बेलाबेलामा चिठ्ठी पठाइरहनुहुन्थ्यो । त्यो दुई वर्ष जस्तो रह्यो । गाउँकोे फोनमा दुई तीन पटक फोन पनि गर्नुभएको थियो ।
‘विस्तारै चिठ्ठी र फोन आउन छाड्यो, हामीले धेरै कुर्यौं, तर आजसम्म आएको छैन’ निर्मलाले भन्नुभयो, ‘बुवाले किन फोन गर्नुभएन भनेर मैले कति गरें आजसम्म पनि लागेन ।’
बुवाले दिएको नम्बरमा फोन त लागेन । चिठ्ठी पठाउन पनि सानै उमेरका निर्मलाका दिदीभाइले भेउ पाएनन् । बुवाले पठाउने चिठ्ठी दोहा कतार लेखेर आएको थियो । त्यही ठेगानामा चिठ्ठी पठाउँदा १३ वर्षदेखि हराएका बुवाले पाउछन् कि पाउदैनन् भन्ने लाग्छ निर्मलालाई ।
अहिले निर्मलाको बुवाले चिठ्ठी नपठाएको पनि १० वर्ष पुग्न लागिसक्यो । बुवाको कुनै खबर पनि आएको छैन् । २०६३ सालमा कतार गएका निर्मलाका बुवा ऋषिजित राई कहाँ हराए पत्तो छैन ।
निर्मलाका सातजना दिदीभाइ छन् । घरमै बसेर सात जनाको पालनपोषण र घरखर्च चलाउनै गाह्रो भएपछि निर्मलाका बुवा विदेश गएका थिए । बुवा हिँडेपछि सात जना छोराछोरीको लालनपालन निर्मलाकी आमा मनमाया एक्लैले गर्नुभयो ।
‘बुवासँग सम्पर्क हुँदासम्म त कुनै अप्ठेरो थिएन, हामी खुसी थियौं । तर आठ जनाको एउटै सहारा बुवा नै हराउनुभयो,’ बुवा सम्पर्कविहीन भएपछि निर्मलाको परिवार माउ बिनाको चल्लाझैं भएको छ ।
बुवाको फोन र चिठ्ठी आउन छाडेपछि निर्मलाकी आमाको दिन रोएरै बित्न थाल्यो । ‘आमा त कति रुने, दिनरात रुनुहुन्थ्यो । बुवाले फोन गर्न र चिठ्ठी पठाउन छाडेपछि आमाको आँखा ओभानो देखेको छैन’ यति सुनाउँदा निर्मलाको आवाज भासियो । बुवाको बारेमा बताइरहेकी निर्मला काँप्न थाल्नुभयो ।
आमाको पीडा शब्दमा बोल्न उहाँलाई गाह्रो भइरहेको थियो । १० वर्षदेखि आमाको आँसुको साक्षी बन्नुभएकी निर्मलालाई दुईचार शब्दमा सबै कुरा व्यक्त गर्नु कठिन भइरहेको थियो ।
निर्मलाकी आमाको मुखबाट दिनहुँ एउटै आवाज निस्कन्छ, ‘नानी अब त तिम्रो बुवाको मुख देख्न पाउँदिन जस्तो छ ।’ निर्मलासँग आमाको प्रश्नको उत्तर छैन । ‘बुवा सम्पर्कविहिन भएको धेरै समय भएर होला आमाले पनि बुवासँग भेट हुने आशा मारेको,’ काँपेकै आवाजमा निर्मला बोल्नुभयो, ‘एउटा भाइ त बुवा जाँदा गर्भमा थियो, त्यसले त बुवाको मुख पनि देख्न पाएको छैन् ।’
निर्मलाको कान्छो भाइले बुवाको मुख देखेका छैनन् । जान्ने भएदेखि नै आमाको आँसु देखेको भाइले बुवा हुँदाको खुसी भोग्नै पाएका छैनन् ।
ऋषिजित सहयोगी र मिलनसार हुनुहुन्थ्यो । निर्मलालाई बुवाले एकपटक पनि ठूलो स्वरले गाली गरेको याद छैन । कसैलाई पनि दुःख नदिने, नढाँट्ने, बुवाले आफ्नै परिवारलाई किन ढाँटे, किन सम्र्पकविहीन भए निर्मलाले जवाफ पाउनुभएको छैन ।
फोन र चिठ्ठीमा ऋषिजितले विदेशमा सबै राम्रो छ भन्नुभएको थियो । कतार मै भएका छिमेकीले सुनाएअनुसार उहाँ कतार पुगेको एक वर्षमा अवैधानिक भएर काम गर्न थाल्नुभएको थियो । अवैधानिक भएपछि ऋषिजित कहाँ हराउनुभयो कसैलाई थाहा छैन ।
निर्मलाको आमासँग अन्तिमपटक फोनमा कुरा हुँदा ऋषिजितले ‘म घर आउँछु तिमीलाई दुःख भयो’ भन्नुभएको थियो । तर निर्मलाकै आमाले उहाँलाई ऋण तिरेर सकिएपछि मात्र आउनु भन्नुभएको थियो ।
निर्मलालाई अहिले बुवाले गाह्रो भएर त्यसो भनेका थिए कि भनेर मन पोलिरहन्छ । ‘सायद त्यो बेला बुवा आको भए ऋण भए नि बुवा त सँगै हुन्थे, आज न त बुवा छन, न त हामी खुसी छौं,’ निर्मलालाई बुवाको त्यो अन्तिम फोन सम्झदा साह्रै पछुतो लाग्छ ।
बुवा विदेश जाँदा ११ वर्षकी निर्मला अहिले २१ वर्षकी हुनुभयो । बीएड तेस्रो वर्षमा पढ्नुहुन्छ । बुवा जाँदा गर्भमा भएको भाइ पनि अहिले ठूलो भइसकेका छन् । निर्मलाकी जेठी दिदी उर्मिला युएईमा हुनुहुन्छ । दिदीको कमाइले घरखर्चमा धेरथोर भरथेग हुन्छ । खेतीपातीले बिहान बेलुकाको छाक टरेको छ ।
निर्मलाले बुवाको खोजीका लागि कन्सुर सेवा विभागमा पनि अनुरोध गर्नुभएको छ । बुवा भेटिन्छन् या भेटिन्नन् निर्मलालाई थाहा छैन । निर्मलालाई पैसा नकमाएको भएर बुवा सम्पर्कविहीन भएको हो कि झैं लाग्छ । ‘पैसा नभएपनि बुवा तपाईं आउनुस् हाम्लाई अरु चाहिन्न,’ निर्मलाले बुवालाई फर्कन अनुरोध गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।