यूएईबाट रमेश भन्नुहुन्छ : अब दूतावासकै गेटमा सुत्छौं

 वैशाख १३, २०७७ शनिबार १७:२६:२६ | उज्यालो सहकर्मी

यूएई – कोरोनाको जोखिम बढेसँगै अहिले परदेशमा रहेका धेरै नेपालीका समस्या थपिएका छन् । कसैको भिसा सकिएको छ त कतिपय टिकट काटेर पनि घर फर्कन नपाउँदा परदेशमै समस्यामा परेका छन् । अझ म्यानपावरको झुट र कम्पनीको बदमासीले समस्यामा परेकालाई त झनै मार परेको छ । एकतिर कोरोनाको डर, अर्कातिर खान बस्नकै समस्या । ओशो म्यानपावरमार्फत यूएई पुगेका इलामका रमेश बुढाथोकी पनि यस्तै भुमरीमा पर्नुभएको छ । 

रमेशको भोगाई उहाँकै शब्दमा 

मेरो नाम रमेश बुढाथोकी हो । घर इलाम । अहिले यूएईको सारजहामा छु । वैदेशिक रोजगारीको क्रममा १६ वर्ष कतारमा बिताएर नेपालमै केही गर्छु भनेर व्यवसाय पनि थालेको मान्छे हुँ ।

तर नयाँ ठाउँ, नयाँ परिवेशमा म सफल हुन सकिनँ । उल्टो घाटा भयो । त्यही घाटाको परिपूर्ति गर्ने एउटा मात्र विकल्प भनेको वैदेशिक रोजगारी मात्र थियो । स्नातकसम्म पढेको छु ।

केही गर्न पनि खोजेको हुँ आफ्नै ठाउँमा । तर नेताको आफन्त या कार्यकर्ता परिएन । एक्लै लड्न सकिएन, व्यवसायमा घाटा लाग्यो । काठमाण्डौ  गएँ । म्यानपावरमा कुरा गरें । ओशो म्यानपावरले सारजहाको ट्याक्सी कम्पनी इमिरेट्स क्याबमा पठाइदियो । मसहित अरु झण्डै ६० जना आयौं, तर यहाँ पनि नेपालमा म्यानपावरले भनेजस्तो केही पनि भएन । 

नेपाल जाने भनेर केस गरियो । केस चल्दै गयो । आफ्नै रुम, आफ्नै खाना, कमाइ छैन । काम छोडेर केस गरेर बसेका हामी दिनानुदिन समस्यामा फस्दै गयौं । यहाँ दुःखमा फसेको पनि ७ महिना भयो । तर समस्या झन् झन् जटिल बन्दै गएको छ ।

दूतावास पनि गयौं पटक पटक । दूतावासको पहलले भिसा क्यान्सिल हुन सुरु भयो । हाम्रा १५ जना साथीको क्यान्सिल भयो । उहाँहरु नेपाल जानुभयो । दुर्भाग्य हाम्रो क्यान्सिल सँगसँगै नेपालको विमानस्थल पनि बन्द भयो । 

हामी ४० जना कोरोनाको चपेटामा परियो । एउटै रुममा खान बस्न, निकै समस्या छ । 

कहिले फलैँचा, कहिले पार्कमा सुत्दै रात काटियो । केही समयपछि एनआरएनएको सहयोगले बेडस्पेसमा बस्न थालियो । उहाँहरुले नै खानाको प्रबन्ध  गरिदिनुभएको छ । तर यहाँ रमदान सुरु भयो । हामी बस्ने रुम भारतीय र पाकिस्तानीहरुको सँगै पर्छ । १२ जनाको दरले अब यहाँ कोठाबाट पनि निकाल्दैछ ।

अब सरकारले कस्तालाई उद्धार गर्ने हो ? के मन्त्री नेताको आफन्तको लागि मात्र जहाज आउने हो कि हामी पनि नेपाली नै हो ? पर्सिदेखि हामी नेपाली दूतावासमा झोला लिएरै जाँदैछौं । बस्न दिन्छन् कि दिँदैनन् थाहा छैन । नदिए गेटमै सुत्नेछौं । हामी मृत्युको मुखमा छौं । हामीलाई बचाउ सरकार ।

 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Babikumar

    April 27, 2020, 3:11 p.m.

    दुबईमा भएका स्पीड क्लिनिंग कम्पनी पनि त्यही समस्या छ / नेपालको रेभा ओभरसिज म्यानपावरले झुठ बोलेर सबैलाई जम्मा गरेर थुप्र्याएको छ , यस्तो म्यानपावर कम्पनीलाई त सिज गरिदिनु पर्ने /

  •  0 Reply

तपाईको प्रतिक्रिया