एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
विराटनगर - चैत्र महिनाको प्रारम्भसँगै मकै गोड्ने काम सकिएर खेसरी, मुसुरी, आलस, धनियाँ, चना उखेल्ने र दाइँ गर्ने चटारो । हरेक बिहान सबेरै उठेर यिनै दैनिकीसँग सङ्घर्ष गर्दै ९ बजे आमाले दिएको तातो भात महीसँग हतारमा सप्प्राङ सप्प्राङ गर्दै खायो । अनि हातभरि किताब बोकेर झण्डै ४५ मिनेटको दूरी पार गरेर पुगिन्थ्यो स्कुल ।
दिनभरि पढ्यो अनि फेरि दिउँसो ४ बजे हतारहतार घर फिर्नुपर्ने । घरको बरण्डामै लुगा र किताब फालेर गाईवस्तुको हेरचाह गर्दै दाइँ सकेर केलाएर छोडेको ठाउँमा खेसरीको सिला जम्मा पारेपछि मात्र सुरु हुन्थ्यो सुनवर्षी मेलाको खर्चको जोहो । यसरी दैनिक सिला खोजेर जम्मा गरेका खेसरी, मुसुरी, आलस, धनियाँ र चनाको जोहोले सुनवर्षी मेला भर्ने उल्लास दिन्थ्यो ।
टक् ,टक्, टक् । खैरा र पाङ्ग्रे घोडाहरुमाथि ढक, तराजु र बोरा बोकेर सिजुवा बजारका बनियाँहरु घरघरमा खेसरी, मुसुरी, धनियाँ र आलस खोज्दै आउँथे । बुवाले बोरा खोल्दै छलफल थाल्नुहुन्थ्यो । पिढीमा बोरा घोप्ट्याउँदै गर्दा बनियाँ बोरा र ढक, तराजुको तयारीमा हुन्थे । जब तौल सुरु हुन्थ्यो अनि बनियाँको मुखबाट रामे एक, रामे दुई हुँदै रामे दशसँगै रामे चालिस बढ्दै जान्थ्यो । बुवा छरिएको अन्न भेला गर्न मस्त देखिनुहुन्थ्यो । बनियाँ जोख्न व्यस्त । कति भयो ? कति भयो ? फेरि जोख्नेलाई नै सोध्नुपर्ने । आफूले पनि त्यही मौकामा आफ्नो सिला बेच्दा र बनियाँले दिएको पैसा गोजीमा हाल्दा कतिको मज्जा, आहा !
सुनवर्षी मेला आउँदै छ । गाउँभरि हर्ष । घर आँगनको सरसफाइ, बालुवा र घिरौँलाको जालोले मिचीमिची हात खुट्टाको मयल फालेको । सोडा हालेर खड्कुँलामा लुगा उसिनेर मुङ्गाले पिटीपिटी सिरकका खोल, तन्ना र कमल धोएको, कमेरो माटोले टाटी र दलिन पोतेको, आहा ! ओल्लो घर र पल्लो घर लिपपोत गर्ने प्रतिस्पर्धा चल्थ्यो । कसले के गर्यो, कसले राम्रो गर्यो अनि आफू पनि राम्रै बन्नुपर्यो । छि भनिनेगरी मेला जानु भएन नि । आफूभन्दा साथी राम्रो भएर गयो भने...।
आहा ! नयाँ वर्ष, सुनवर्षी मेला । आजै भोलिका कामहरुको पूर्व तयारी, घाँस, पराल, खोलेको तयारी र बेलुकीको खानापछि दामले साथीहरुको जमघट । लगाउने लुगा, जाने समय र रमाइलो गर्ने विषयमा गरेको छलफल ।
आज मेला । बिहान कसैले उठाउनै परेन । हाँसीखुसी बाआमालाई मेला जान दिन गरिएको आग्रह । बिहान घरको सबै काम खुसीसाथ सम्पन्न गरेर १० बजेको खानापछि गाईवस्तुलाई घाँस, पानी । अनि गोलो ऐना अगाडि राखेर सफा लुगा अनि जुल्फी कोर्दै साथीहरुलाई पर्खिएको क्षण । हिँड्ने बेलामा मेला खर्च भनेर बुवाले दिनुभएको ५ रुपैयाँ, आहा !
घरबाट चिटिक्क परेर निस्किएको, बाटोमा दोहोरो लत्ता जाने र आउनेको उस्तै भिड । चैते हुरीले बक्राहा खोलाको बालुवा भएको धुलो ह्वार्रर उडाएर ल्याउँथ्यो । त्यो धुलोकोे कुनै पर्बाह छैन ।
फिरफिरे, घिरघिरे, सिट्ठी, मुरली, बाँसुरी, फुल घोडा, खुत्रुके, मुजुरको प्वाँख, मन्दिरको प्रसाद, नयाँ पात्रो र जुलबी आदि कोही रित्तो छैन । मन्दिरको केही पूर्व र उत्तर खेसरी बारीका आलीहरुमा सितनसहित दिदीहरुले ठूला ठूला आरीमा छान्दै डबकामा दिएको खाजा र गोलाकार भएर हाँस्दै र खाँदै गरेका दृश्यहरु ।
पोखरीको दाहिने फन्को मारेर भिडमा च्यापिँदै मन्दिरको दर्शन । पोखरीको वरिपरि फुलघोडा र अगरबत्ती, मेलामा ठेलमठेल भिड । विभिन्न रङ्गका सर्बत, जुलबी र मिठाइका विभिन्न परिकारहरु । धेरैपछि भेटिएका साथीहरु, विविध जाति र समुदायका पहिरनहरु । आहा, कति रमाइलो !
करिब ५ बजेतिर डबकाले उत्साहित भएका दाइहरुबीच जब तनावले खुकुरी नाच सुरु हुन्थ्यो अनि उसैगरी भागदौडले व्यापारीहरुको बिचल्ली र भागाभागले धेरैलाई अवसर मिल्थ्यो । त्यही मौकामा आफूले लगाएको सर्टको फेरोमा जुलबी र अरु मिठाइ पोको पारेर भाग्दै बक्राहा खोलाको बगरमा साथीभाइ मिलीजुली हतारमा जुलबी खाँदा पोलेको मुख र निल्न परेको सारो अनि पानीको अभावमा भएको छटपटी । पानीको लागि बक्राहाको बगरमा हातले खनेको कुवामा सङ्लिएपछि अञ्जुलीले उठाएर खाएको पानी, आहा !
आज किन स्मृतिका ती पलहरुले मलाई घचघच्याइरहन्छ ? बाल मस्तिष्क अहिले पनि उसैगरी सल्बलाइरहेको छ । मलाईजस्तै अरुलाई पनि घच्घच्याइरहोस् । तिनै बिगतबाट सुरु भएको आफ्नो परिचय कसैले भुल्ने छैन र आफ्नो कर्तव्य र दिशाबोध गरिरहने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सुनवर्षी नगरपालिकाको गोविन्दपुरका स्थायीबासी पोखरेल नेकपा मोरङका अध्यक्ष र संविधान सभाका सदस्य हुनुहुन्छ ।