श्रीलङ्का पहिलाे पारीमा ४२ रनमै अलआउट
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ–देश ‘लकडाउन’मा छ भने हजारौँ नागरिक क्वरेण्टीनमा छन् । पछिल्लो समय पीसीआर र र्यापिड टेष्टमार्फत देशमा कोरोना परीक्षणको गति केही तीव्र बनाइएको छ । एक हप्ताभन्दा धेरै समयपछि आइतबार तीन जना नयाँ सङ्क्रमित पत्ता लागेर देशमा सङ्क्रमितहरुको सङ्ख्या १२ पुगेको छ । नयाँ सङ्क्रमित थपिनुभन्दा केही घण्टाअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटासँग गरिएको कुराकानी :
एक हप्तादेखि नयाँ सङ्क्रमित देखिएको छैन । हामी उत्साहित हुने कि अझै डराउनुपर्ने अवस्था छ ?
केही दिनयता ‘नेगेटिभ’ नै छ, ‘पोजेटिभ’ भएको छैन । तर उत्साहित हुने अवस्था भइसकेको छैन । बाहिरबाट आएका व्यक्तिबाट उनीहरुका परिवारका सदस्यलाई सरेपछि हामी दोस्रोे चरणमा गएका हौँ । एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण भयो, त्यसैले थप जोखिममा छौं भनेका थियौँ । यो हिसाबले हेर्दा अबको रणनीति किट्सको दायरा बढाउने सोचेका छौँ । अबको अवस्था ढुक्क छ कि छैन भनेर भन्न सकियोस् भन्ने हिसाबले हामी लागिपरेका छौं ।
पछिल्लो समय हामीले किट्सको दायरा बढाएका छौँ । घाँटीबाट स्वाब निकालेर पीसीआर विधिबाट परीक्षण गरिरहेका छौँ । यस्तै र्यापिड परीक्षण पनि बढाएका छौँ । यसको परिणाम के हुन्छ त्यहीअनुसार हामीले रणनीति तय गर्छौँ । अझै जोखिम छ । समुदायमा सङ्क्रमण हुनसक्ने सम्भावना अझै छ ।
सामान्यतया धेरै मान्छेको मनमा क्वरेण्टीन भन्नाले १४ दिन भन्ने आउँछ । ‘लकडाउन भएकै त्यो भन्दा बढी दिन भइसक्यो । विभिन्न देशबाट आएकाहरुमा देखिनुपर्ने सङ्क्रमण जति देखिसकियो । अब कोरोना सकियो भनेर हामीले बुझ्दा हुन्छ ?
त्यो ठिकै भन्नुभयो । तर औसतमा १४ दिन भए पनि १४ दिनपछि पनि ‘पोजेटिभ’ देखिरहेको अवस्थामा ‘लकडाउन’ वा क्वरेण्टीन बस्ने कुरासँगै १४ दिनभन्दा बढेको हामीले अनुभव गरेका छौं । त्यही भएर हामीले क्वरेण्टीनमा बसेकाहरुको नमुना परीक्षण गर्ने र ‘नेगेटिभ’ भएपनि होम क्वरेण्टीनमा बस्न लगाउने भन्ने हामीले निर्णय गरेका छौँ । भारतलगायत अरु देशबाट आएका सकेसम्म सबैको परीक्षण गरौँ र नजिकको परिवार वा लसपस भएका व्यक्तिको पनि परीक्षण गरौँ भन्ने हो । त्यसो भयो भने त्यस्ता व्यक्तिमा सङ्क्रमण छ कि छैन र उनीहरुको कारणले अरुमा सङ्क्रमण फैलिए, नफैलिएको थाहा हुन्छ ।
परीक्षणको दायरा बढेको छ भन्नुभयो । तर कतिसम्म दायरा बढाउनुपर्ने हो र तपाईंहरुको तयारी के छ ?
देशैभरि क्वरेण्टीनमा बसेकाको र्यापिड परीक्षण गर्ने तयारी गरेका छौँ । त्यसबाहेक उनीहरुसँग नजिक भएका व्यक्तिहरुको पनि परीक्षण गर्ने हो जसले गर्दा समुदायमा कोरोना फैलिएको छ कि छैन भन्ने कुरा थाहा होस् ।
अब ‘लकडाउन’ नथपे हुन्थ्यो भन्नेहरु पनि धेरै छन् ।
'लकडाउन' थपिन सक्ने सम्भावना छ ।
सङ्क्रमित आठ जनाको अवस्था कस्तो छ ?
दुई जना टेकु अस्पताल, चार जना धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल र दुई जना बाग्लुङमा हुनुहुन्छ । सबैको अवस्था सामान्य छ ।
उहाँहरुका परिवार र नजिकका आफन्तको परीक्षण सकिएको हो ?
हामीले यसमा काम गरिरहेका छौं । परीक्षण लगभग सकिनेक्रममा छ ।
नागरिकले के गर्यो भने कोरोनाविरुद्धको अभियान सफल हुन्छ जस्तो लाग्छ ?
विदेशबाट आएकाहरु सङक्रमित हुन सक्छन् । उनीहरुलाई परीक्षण गरेर सङ्क्रमित भएका छन् कि छैनन् हामी पत्ता लगाउछौँ । यस्तै उनीहरुको कारणले अरु व्यक्तिलाई पनि नसरोस् भन्नको लागि जसरी भए पनि क्वरेण्टीनमा बस्ने हो । यस्तै परीक्षण गर्न हिचकिचाउनु हुँदैन । आफूले क्वरेण्टीनमा बसेर देशलाई कति सहयोग गरेको छु भन्ने भान विदेशबाट आएका सबैलाई हुनुपर्छ । यस्तै सुरक्षाकर्मी र जनप्रतिनिधिहरुले अनुगमन गरेर सहयोग गर्नुपर्छ । यसो गरियो भने कोरोना सङ्क्रमण दोस्रो चरणमै सीमित हुन्छ ।
हामी तीन हप्ता ‘लकडाउन’मा बसिसक्यौँ । अरु कति दिन ‘लकडाउन’मा बस्यौँ भने हामी तेस्रो चरणमा प्रवेश गर्नबाट जोगिन्छौँ ?
त्यो रोगको प्रवृत्ति र यसले नेपालमा विकास गरेको चरणमा भर पर्छ । जस्तो पहिलो सङ्क्रमित व्यक्तिको रिपोर्ट लगभग दश दिनमा ‘नेगेटिभ’ भइसकेको थियो । तर अहिले १८ दिन आइसोलेसनमा बस्दा पनि ‘पोजेटिभ’ नै देखाइरहेको छ । यस्तै परीक्षणलाई तीव्र पारेर पनि हामी सङ्क्रमणलाई कम गर्न सक्छौँ । मानिसहरु कति भिडभाडमा गइरहेका छन् भन्ने कुराले पनि निर्क्यौल गर्छ । जस्तै बझाङ्मा क्वरेण्टीनमा बसेकाहरु बाहिर गए भने अरुलाई पनि असर गर्छ । त्यही भएर सबैभन्दा ठूलो कुरा भनेको इमान्दारिताका साथ क्वरेण्टीनको पालना गर्ने हो ।
अब कति दिनसम्म नयाँ सङ्क्रमित देखिएन भने नियन्त्रणको अवस्थामा छौं भनेर हामी ढुक्क हुन सक्छौँ ?
अबको दुई तीन हप्ता हामी कहीँ गएनौँ र क्वेरेण्टीनको पालना गर्यौँ भने हामी केही सुरक्षित छौं कि भन्ने हुन्छ ।
सङ्क्रमितहरु कहिलेसम्म डिस्चार्ज हुन्छन् ?
मेरो विचारमा तीन हप्ता पुगेपछि हामी फेरि परीक्षण गर्छौं । त्यसपछि थाहा हुन्छ । यो व्यक्ति विशेषमा पनि भर पर्ने भएकोले सबै यति दिनमै ठिक हुन्छन् भनेर भन्न सकिने अवस्था छैन । नेपालमा जति पनि ‘केस’ देखिएको छ सबैको अवस्था सामान्य छ । भाइरस त्यति बलियो नभएको र यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको मात्र पाइएको छ ।
परीक्षणको विश्वसनीयतामाथि पनि प्रश्नहरु उठेका छन् ?
अहिले हामीले पीसीआर गरिरहेका छौं, जुन घाँटीको स्वाब लिएर परीक्षण गरिन्छ । त्यसले त्यहाँ भाइरस छ कि छैन भनेर पहिचान गर्ने हो । यस्तै अर्को डाइनेस्टिक किट भनेको रगतको थोपा त्यसमा राखेर रगतमा रोगसँग लड्ने शक्ति देखाउँछ । यदि भाइरसको सङ्क्रमण भएको छ भने पोजेटिभ देखाउँछ, छैन भने नेगेटिभ देखाउँछ ।
सात दिनभन्दा बढी समय भयो भने रगतमा रोगसँग लड्ने शक्ति पैदा हुन थाल्छ । त्यही भएर १०–१२ दिन भइसकेकोले यो किटको प्रयोग गरिरहेका छौँ । त्यो हिसाबले यसको गुणस्तर त्यसले निक्र्यौल गर्छ । हामीले किटबाट परीक्षण गरेर ‘पोजेटिभ’ आएकोलाई पीसीआरबाट फेरि परीक्षण गरेर मात्रै ‘पोजेटिभ’ भन्छौँ । ‘नेगेटिभ’ आएकोलाई पनि त्यस्तै छाड्दैनौँ । केही नमुनालाई पीसीआर गर्छौं । अनि बल्ल ‘नेगेटिभ’ रहेछ भनेर भन्छौँ । यसरी हरेक ‘केस’लाई दुवै पद्धतिबाट परीक्षण गर्छौँ । यसरी परीक्षणको कुरामा हामी एकदमै सजग र सुरक्षित छौँ । शङ्का गर्नुपर्दैन ।
सीमा नाकाहरुमा थप कडाइ गर्नुपर्ने बहसहरु पनि भइरहेका छन् । हामीले नाकाहरुमा जति कडाइ गर्यौँ त्यति नै सङ्क्रमणबाट जोगिन सक्छौँ ?
एकदमै । बाहिरबाट कोही व्यक्ति आएन र भित्र परीक्षण गरेका कसैमा पनि सङ्क्रमण देखिएन भने हामी सुरक्षित छौं भन्न सकिन्छ । नत्र हामीले परीक्षणको दायरा बढाउँदै जाने र बाहिरबाट मान्छे आउँदै जाने हो भने जोखिम बढ्ने सम्भावना बढ्ने नै भयो । त्यसैले ‘लकडाउन’ अझै आवश्यक छ भन्ने मलाई लाग्छ ।अहिले स्वास्थ्यकर्मीको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । यसमा स्वास्थ्य मन्त्रालय लागिरहेको छ ।
यो सबैले सबैलाई सहयोग गर्ने बेला हो । सरकारी गैरसरकारी छुट्याउने बेला होइन । कोरोनाबाहेक अरु रोगहरु प्नि छन् । जसले गर्दा मानिसहरुको निधन भइरहेको छ । जुन हुन दिनुहुँदैन । यस्तै सबै सरोकारवालाले अनुगमन गर्नुपर्छ । बाहिरबाट आएका र उनीहरुका परिवारमा क्वरेण्टीनमा बस्नैपर्ने मानसिकता जगाउन हामीहरु सबै लाग्नुपर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।