व्यङ्ग्य - नेपाल प्रवेशबारे कोरोना अझै कन्फ्युज्ड !

 चैत ८, २०७६ शनिबार ७:४८:२ | मिलन तिमिल्सिना
unn.prixa.net

काठमाण्डाै - संसारका अरु देशमा निर्धक्क घुमफिर गरिरहे पनि नेपाल छिर्न नसकेको सोह्रैआना सही हो । तर मान्छे अझै पत्याउँदैनन् । आइसकेको पक्कै हो, कि सरकारले लुकायो कि डाक्टरले देख्न सकेन भनेर आशंका गर्छन् । अरुले त शंका गरे गरे, आफूलाई ठूलै डाक्टर हुँ भन्ने मान्छे पनि त्यसै बुरुकबुरुक गर्छन् । सरकारलाई मात्रै होइन, कोरोनालाई नै खाउँलाझैं गरी चोरऔंला ठड्याउँदै, दाह्रा किट्दै, कुटौंलाझैं गर्छन् । अन्त आउने हाम्रोमा अझै किन नआएको हँ भनेझैं गर्छन् । आइसक्या छ तर सरकारले पत्ता लगाएन भनेर घोक्रो सुकाउने गरी कराउँछन् ।

हैन मन्त्रीको सम्पत्तिजस्तो हो र, लुकाएर लुक्न मिल्ने ? डाक्टरको अक्षरजस्तो हो र, हेर्दा पनि नदेखिने, नबुझिने ? न कसैले लुकाउन सक्छ, न कसैले झुक्याउन ? आएपछि त आयो आयो । तर मान्छे मरे पत्याउँदैनन् । 

जे कुरामा पनि शंका गर्ने नेपालीको पारा देखेर कोरोनालाई रीस उठेर आउँछ । ‘हो लुकेर बसेको थिएँ, अब निस्किएँ, के गर्छौ ? पहिले तिमीहरुबाटै सुरु गरौं त’ भनेर झम्टन मन लाग्छ । तर भाइरस भइयो भन्दैमा धैर्यता गुमाइहाल्न मिल्दैन भनेर कोरोना पर्ख र हेरको अवस्थामा छ ।

खराब र मौकाको फाइदा लिन जानेका नेपालीहरु देखेर कोरोनालाई एकपटक नेपाल छिरेर देखाउँ जस्तो पनि लाग्छ । फेरि खानपान, जीवनशैली, आस्था र आत्मविश्वासमा भर पर्ने नेपालीको विश्वास तोड्न मन पनि लाग्दैन । त्यसमाथि मास्क लगाएर को कस्तो भन्ने नै नचिनिने भएका छन् । सबै हात धोएर कोरोनाको पछि लागेका छन् । के गर्ने, के नगर्ने ? नेपाल प्रवेशबारे कोरोना अझै कन्फ्युजमा छ ।

कसैलाई कोरोना नेपाल आएन भन्ने चिन्ता छ । कोही आउँदै आउँदैन भनेर त्यसै ढुक्क छन् । अनि कोहीकोही चाहिँ कोरोनाको हल्ला गरेर कमाउन र रमाउन व्यस्त छन् । थरीथरीका नेपाली देखेर कोरोनालाई उदेक लाग्छ । अझ सरकारको पारा देखेर अचम्म लाग्छ । 

सार्वजनिक गाडी र हवाईसेवा रोकेको छ, तर भारतीय सीमा नाका खुलै छ । मानौं कोरोनाले नेपालभर चल्ने गाडी र बाहिरी देशबाट आउने जहाजको मात्र यात्रा गर्छ, भारतीय नाकाबाट पस्दैन । भारतका ठाउँठाउँ चाहारिसकेको कोरानालाई एकपटक त्यही खुला नाकाबाट नेपाल छिरौं कि क्या हो भन्ने झोंक पनि चल्छ । 
लाखौं विद्यार्थी परीक्षाको तयारीमा थिए । पढ्ने काम सकिसकेको थियो, कापीमा लेख्न मात्रै बाँकी थियो । त्यहीबेला सरकारले परीक्षा स्थगित भनिदियो । उत्साहित भएर लेख्न ठिक्क परेका विद्यार्थी निराश र त्रसित भए । विद्यार्थी मात्र होइन, सबै डराए । अहिले काठमाण्डौका बसपार्क र सडक दशैं लागेजस्तो भएको छ ।

कापन्तुरा बोकेर घर जानेहरुको लर्को लागेको छ । नेपाली डराए भनौं भने हामीजस्तो बलिया कोही छैनौं भनेर फूर्ति लगाउँछन्, डराएनन् भनौं भने हल्लैहल्लामा पोको बोकेर गाउँ कुद्छन् । आतंक फैलाउने उस्तै, आतंकित बनाउने उस्तै । 

सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनेको छ । २५ जनासम्म सँगै भेला हुँदा चाहिँ कोरोनाले नछुने, २६ जना मात्रै भयो भने चाहिँ छुने ! कति धेरै जान्ने नेपाल सरकार ! अनि सार्वजनिक बसमा ५० जनाभन्दा बढी चढेकै छन्, सिटभन्दा बढी बसेकै छन् । त्यहाँ २५ जनाभन्दा बढी भयो भनेर कसले सम्झाउने ? सिट क्षमताभन्दा धेरै किन बसेको भनेर कसले भन्ने ? नेपालको कानुन र व्यवहार सम्झेर कोरोनालाई हाँसो पनि उठ्छ ।

अझै हाँसो लाग्ने कुरा त कोरोना नआओस् भनेर पशुपतिको भाकल गर्ने कति कति ! कसैकसैले क्षमा पूजा पनि गरेछन् । कतै साइबाबासँग हारगुहार गरेको पनि देखियो । कोरोनाविरुद्ध भजनकीर्तन, पूजापाठ, आरती आराधना मात्र होइन दोहोरी गीत प्रतियोगितासमेत भैसकेछ । ठाउँठाउँमा नाराजुलुस पनि गरिसकेछन् । अनि एउटा राजावादी संस्थाले त कोरोनाविरुद्ध भाषण नै गरेछ । भूकम्प आइसक्यो, नाकाबन्दी भैसक्यो, अब कोरोना त आउँदै आउँदैन भनेर एकजना आफैं ढलौंला झैं गरी उफ्रीउफ्री कराउँदै रहेछन् । कराइरहेको बेला झम्टन मन थियो, तर यहाँ पनि कोरोनाले आफ्नो धैर्यता गुम्न दिएन ।

कोरोनालाई लाग्यो, प्रायः सबै नेपाली फुर्सदिला र सृजनशील रहेछन् । केही न केही उट्पट्याङ गरिरहने, फेसबुकमा थरीथरी लेखेर मान्छेलाई आतंकित बनाउने । उट्पट्याङ गरेर कोरोनालाई हाँसोमा उडाउने र अरुलाई तर्साउनेलाई पहिले सङक्रमण सार्न मन थियो । त्यसो गर्न पनि अहिले ठिक लागेन । 

सरकारले केही गरेन भनेर गाली गर्ने, अनि केही गर्न थालेपछि यस्तो पनि गर्छन् भनेर बुरुकबुरुक गर्ने नेपालीको बानी त झन् बुझिनसक्नु । तीनवटा ग्यासको सिलिण्डर घर पुर्याएपछि चौथोपटक सिलिण्डर लिन जाँदा अभाव भयो भनेर सरकारलाई गाली गर्नेहरु पनि रहेछन् ।

कोरोना सम्झेर धेरैलाई डर भए पनि ग्यास, तेल, खाद्यान्न र मास्क बेच्ने चाहिँ नडराउने रहेछन् । सबै मरे पनि आफू मात्रै बाँचौंला भन्ने रहेछ यिनलाई । पहिले नाकाबन्दी लगाउँदा कतिले तेल बेचेरै घर बनाएका थिए । अहिले मास्क बेचेर घर बनाउन खोज्नेहरु धेरै रहेछन् । अभाव र संकटको बेला ठग्न र कमाउन पल्केकाहरुलाई आक्रमण थालेर नेपाल प्रवेश गरौं कि भन्ने पनि कोरोनालाई लाग्यो । तर अझै पर्खौं न के के उपद्रो गर्न जानेका रहेछन् भनेर फेरि चुप भयो ।

नेपालका टेलिभिजनमा मात्रै होइन, ठाउँठाउँमा कमेडी च्याम्पियन हुने रहेछन् । कोरोना भाइरसको नाममा नयाँ जागिर मिलेको रहेछ मान्छेहरूलाई । बन्दाको पातदेखि सालको पातसम्म, बाँसको चोयादेखि रुखको बोक्रासम्मको माक्स बनाएर फोटो प्रदर्शन गरिरहेका छन् । फेसबुकमा उस्तै । कोरोनालाई लाग्यो, प्रायः सबै नेपाली फुर्सदिला र सृजनशील रहेछन् । केही न केही उट्पट्याङ गरिरहने, फेसबुकमा थरीथरी लेखेर मान्छेलाई आतंकित बनाउने । उट्पट्याङ गरेर कोरोनालाई हाँसोमा उडाउने र अरुलाई तर्साउनेलाई पहिले सङक्रमण सार्न मन थियो । त्यसो गर्न पनि अहिले ठिक लागेन । 

अब हामी कोरोना भाइरसको दबाइ बनाएर, बेचेर सम्बृद्ध हुन्छौं भनेर गफ दिनेहरु पनि रहेछन् । कोरोनाको चिन्ताभन्दा धेरै आनन्द लिनेहरु पनि रहेछन् । कोही अब घरमा पाहुना आउँदैनन् भनेर मख्ख । कोही अब स्कुल क्याम्पस र कार्यालय बन्द भयो, पढाउन र काम गर्न जान पर्दैन भनेर दंग । ख्वाक्क खोक्दा र हाच्छ्युँ गर्दा बम पड्केको र भुईंचालो आएकोभन्दा धेरै डराउने पनि रहेछन् । त्यसकै निहुँमा अफिस आउँदिन है, नत्र रुघाखोकी सर्ला भनेर डर देखाउनेहरु पनि रहेछन् । 

कोरोनालाई एक मनमा लाग्छ, अवसर र मौका छोपेर गलत गर्नेहरुलाई मात्रै छानीछानी पछारौं । अर्को मनमा लाग्छ, नेपालमा मान्छेको ज्यान लिने र अर्थतन्त्रलाई तहसनहस बनाउन अरु धेरै कुरा नै काफी छन् । कोरोनाभन्दा डरलाग्दो भ्रष्टाचार छ । कोरोनाले भन्दा रक्सीले धेरै मरिररहेका छन् । छुवाछुत, बोक्सी जस्ता अन्धविश्वासमा भर परेर त्यसमै ज्यान लिने र ज्यान फाल्नेहरु पनि छन् । रुघाखोकी र झाडापखालाले मर्नेहरु अझै कति छन् । अकालमा मर्न र मार्न कोरोना नै नचाहिने । कतिपय नेपालीका कुबुद्धि, कुविचार र कुबाटो नै पर्याप्त रहेछन् ।

खराब र मौकाको फाइदा लिन जानेका नेपालीहरु देखेर कोरोनालाई एकपटक नेपाल छिरेर देखाउँ जस्तो पनि लाग्छ । फेरि खानपान, जीवनशैली, आस्था र आत्मविश्वासमा भर पर्ने नेपालीको विश्वास तोड्न मन पनि लाग्दैन । त्यसमाथि मास्क लगाएर को कस्तो भन्ने नै नचिनिने भएका छन् । सबै हात धोएर कोरोनाको पछि लागेका छन् । के गर्ने, के नगर्ने ? नेपाल प्रवेशबारे कोरोना अझै कन्फ्युजमा छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

5 Comments

  • Urmila Joshi

    March 27, 2020, 1:17 a.m.

    कुरा धेरै भएकै हो, व्यंग्यात्मक राम्रो लेखन , पढ्दा हाँसो पनि उठ्यो अति रमाइलो भयो /

  •  0 Reply
  • Anil magar

    March 21, 2020, 8:04 p.m.

    अति राम्राे। keep It up, please..

  •  0 Reply
  • Mahadev

    March 21, 2020, 3:17 p.m.

    विवेकानन्दकाे मनाेक्रान्तीका चुट्किलाले नी नहसाएकाे, म याे चटके लेखले मुस्कुराउने सम्म बनायाे। Liked it. Thank you, Milan

  •  0 Reply
  • Punam Karki Ghimire

    March 21, 2020, 11:48 a.m.

    वास्तबमा यो लेखमा सहि कुराको ब्यङग्य गरियको छ।

  •  0 Reply
  • Ram Prasad Rijal

    March 21, 2020, 8:19 a.m.

    मन पर्यो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया