उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
मकवानपुर – वाग्मती प्रदेश सरकारले ३० ओटा विद्युतीय बस खरिदका लागि एक हप्ताभित्रै ग्लोबल टेण्डर आह्वान गर्ने तयारी गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले विद्युतीय बस खरिदका लागि सबै तयारी पूरा गरेर टेण्डर आह्वान गर्न लागेको हो ।
मन्त्रालयले विद्युतीय सवारी साधन तथा सरसफाइ उपकरण खरिद सहजीकरण समितिमार्फत बस किन्ने भएकाे छ । गएको आर्थिक वर्षमा साझा सहकारीलाई ३० करोड रुपैयाँ दिएर बस खरिद गर्ने भनिए पनि प्रदेश सरकारले रकम भने उपलब्ध गराएको थिएन । चालु आर्थिक वर्षको बजेटमा झण्डै ३५ करोड रुपैयाँ लागतमा ३० वटा बस खरिद गरिने समितिका संयोजक दिपक निरौलाले जानकारी दिनुभयो ।
हेटौँडा–काठमाण्डौ रुटमा ६ वटा र काठमाण्डाै उपत्यकामा २४ वटा बस सञ्चालन गरिने प्रदेश सरकारले जनाएको छ । काठमाण्डौ उपत्यका र आसपासका जिल्लामा २४ वटा सीटी बस सञ्चालन गर्न लागिएको संयोजक निरौलाले जानकारी दिनुभयो ।
छैन पुग्दो बजेट
वाग्मती प्रदेशले विद्युतीय बस खरिदका लागि चालु आर्थिक वर्षमा भने छुट्टै बजेटको व्यवस्था गरेको छैन ।
तर चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले बस खरिदका लागि १० करोड रुपैयाँ खर्च गर्नसक्ने छ । यो रकम विद्युतीय बस खरिद गर्नका लागि भनेर किटान गरेर राखिएको बजेट भने होइन ।
खरिद सहजीकरण समितिका संयोजक दिपक निरौलाले भन्नुभयो, ‘अर्थ मन्त्रालयसँगको सहकार्यमा रकम जम्मा गर्ने तयारी गरिएको छ । अहिले ग्लोबल टेण्डर गर्न पुग्दाे रकम प्रदेश सरकारसँग छैन ।
प्रदेश सरकारले अन्य शीर्षकबाट रकमान्तर गरेर मात्र बस खरिद गर्न सक्छ । सरकारले बस खरिद गर्दा रकमको सुनिश्चितता नभइकन टेण्डर गर्न नपाइने कानुनी व्यवस्था रहेकाे छ ।
चार्जिङ स्टेशन निर्माणमा अन्याेलता
विद्युतीय बस खरिद गर्ने अन्तिम तयारी गरिरहँदा चार्जिङ स्टेशन कहाँ निर्माण गर्ने भन्ने विषयमा अन्याेलता कायमै छ । चार्जिङ स्टेशन निर्माण गर्न विद्युत प्राधिकरण, सङ्घीय सरकार र प्रदेश सरकारको समन्वयमा मात्र निर्माण गर्न सकिन्छ ।
बस समयमै नेपाल भित्रिए चार्जिङ स्टेशनबिना त्यसै थन्कने देखिन्छ । तर यसको सबै तयारी भएको समितिका संयोजक निरौला बताउनुहुन्छ । चार्जिङ स्टेशन हेटौँडा उपमहानगरपालिका, भरतपुर, धादिङ र काठमाण्डौमा निर्माण गर्न लागिएको छ ।
बस खरिदका लागि तीन मन्त्रालय एक जुट
बस खरिदका लागि तीन मन्त्रालय एक जुट भएका छन् । प्रदेशको मुख्यमन्त्री कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तिम तयारीमा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।