उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - सूचना प्रविधिको क्षेत्रमा लागेका र लाग्न चाहनेहरुमा उत्साह भर्दै २६ औँ संस्करणको क्यान इन्फोटेक सम्पन्न भएको छ ।
काठमाण्डौको भृकुटीमण्डपमा शुक्रबारदेखि बुधबारसम्म ६ दिन चलेको प्रदर्शनीमा झण्डै ४ लाख अवलोकनकर्ता सहभागी भएको आयोजक कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले जनाएको छ ।
१ सय ७४ वटा स्टल राखिएको प्रदर्शनीमा यो पटक सूचना प्रविधि क्षेत्रका सामग्री किनबेच भन्दा पनि नयाँ आविष्कार र सूचना प्रविधिको क्षेत्रमा लागेकाहरुलाई फाइदा पुग्नेगरी स्थान दिइएको थियो ।
प्रविधिमा रुची राख्नेहरु उत्साहित
स्टार्टअप र इनोभेटिभ व्यवसाय गर्नेहरुलाई २६ वटा स्टल निःशुल्क उपलब्ध गराइएको थियो । त्यस्तै, सूचना तथा सञ्चार प्रविधि (आईसीटी) पढाइ हुने कलेजहरुका प्रोजेक्टहरुलाई पनि अलग्गै स्थान दिइएको थियो ।
प्रदर्शनीमा विद्यालय व्यवस्थापन, ई-टिकेटिङ तथा युटिलिटी पेमेन्ट, रगत संकलनमा सहयोग गर्ने एप, स्मार्ट घर एप, ई–वेस्ट कलेक्सन, मेरो यात्रा, फाइनाइन्सियल नोटिस, सोसाइटी डेभलपमेनट डट ओआरजी, स्मार्ट केयर डट कम, काठमाण्डौ अग्र्यानिक्स, सजिलो मर्मत सेवा, स्किल सेवा, सर्वनाम सफ्टवेयर, हाम्रो लाइफ बैंक, डिजिटल नेपालजस्ता स्टार्टअपका स्टल रहेका थिए ।
त्यस्तै, सूचना प्रविधि विषयको पढाइ हुने कलेजहरुका प्रोजेक्टलाई पनि छुट्टै स्थान दिइएको थियो । प्रदर्शनीले आफूहरुलाई धेरैसामु चिनाउन सहयोग पुगेको र प्रविधिको क्षेत्रमा थप अघि बढ्ने हौसला पाएको प्रदर्शनीमा सहभागी स्टार्टअप तथा कलेजहरुले जनाएका छन् ।
‘हामीले अत्याधुनिक प्रिन्टर बनाएका थियौँ, यो प्रदर्शनीभन्दा पहिले खासै कसैले चासो दिएको थिएन । तर हामीले यहाँ स्टल राखेपछि धेरै जनाले तपाईँ त फलानो होइन भन्दै सोध्न थालेका छन्, यो विषयमा बुझ्न चाहनेहरु धेरै रहेछन् भन्ने लागेको थाहा पाइयो’, प्रदर्शनीमा स्टल राखेका दिवस केसीले भन्नुभयो।
यस्तै पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पढ्ने अस्मित सिलवालले क्यान इन्फोटेक प्रदर्शनीप्रति रहेको नकारात्मक धारणा बदल्न यसपटकको प्रदर्शनी सफल रहेको बताउनुभयो ।
‘रोबोटिक्स क्लबको तर्फबाट हामीले मंगोलियामा सहभागिता जनाएका थियौँ, त्यतिबेला खासै चर्चा भएन, तर क्यान इन्फोटेकमा हामीले स्टल पाएपछि धेरैले चासो राख्नुभयो, हाम्रो प्रडक्टबारे जानकारी लिनुभयो, त्यसैले लाखौँमाझ पुग्न सफल भएका छौँ, यसले हामीलाई निकै उत्साहित बनाएको छ’, उहाँले भन्नुभयो ।
क्यान इन्फोटेकलाई ज्ञान आदानप्रदानको रुपमा विकसित गर्न सफल भएका छौं : अध्यक्ष कुँवर
क्यान महासंघका अध्यक्ष नवराज कुँवरले यसपटकको प्रदर्शनीले क्यान इन्फोटेकमा सामान किनबेच मात्रै हुन्छ भन्ने भ्रम चिर्न सफल भएको बताउनुभयो । विगतका केहि प्रदर्शनीमा विद्युतीय सामग्री किनबेचलाई प्राथमिकता दिएको भन्दै आलोचना भएपछि क्यान महासंघले यसपटकदेखि नयाँ प्रविधिको प्रदर्शनी र ज्ञान आदानप्रदानलाई विशेष जोड दिएको छ ।
‘सामान किनबेच अनलाइनबाट पनि हुन थाल्यो, क्यान इन्फोटेकमा नयाँपन दिन हामीलाई चुनौती थियो, यसपटकको प्रदर्शनीमा हामीले कारोबारलाई भन्दा पनि ज्ञान आदानप्रदानलाई जोड दियौं र सफल पनि भयौँ’, अध्यक्ष कुँवरले भन्नुभयो ।
सूचना प्रविधिको आविष्कारमा नयाँ पुस्ताको आकर्षणबाट स्वयं क्यानले पनि धेरै कुरा सिक्न पाएको र सरकारसँग सहकार्य गरेर आविष्कारको क्षेत्रमा लाग्नेहरुलाई सधैँ साथ दिने उहाँको भनाइ थियो ।
अध्यक्ष कुँवरले सरकारले अघि सारेको डिजिटल नेपालको फ्रेमवर्कलाई सघाउन महासंघ जुनसुकै बखत तयार रहेको बताउनुभयो । सहरी क्षेत्रमा तीव्र विकास र उपयोग भइरहेको सूचना प्रविधिलाई गाउँगाउँसम्म लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।
यो वर्षदेखि क्यान इन्फोटेकलाई प्रदेश र नेपालका मूख्य सहरमा विस्तार गर्ने योजना अन्तर्गत प्रदेश १ को इटहरी, प्रदेश २ को वीरगञ्ज, वागमति प्रदेशको चितवन र प्रदेश ५ को बुटवलमा क्यान इन्फोटेक सम्पन्न भइसकेको छ । यही वर्ष प्रदेश ५ को नेपालगञ्ज र कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा क्यान इन्फोटेक आयोजना हुँदैछ ।
छूट अफरले थप आकर्षक बन्यो प्रदर्शनी
यस पटकको क्यान इन्फोटेकमा विभिन्न कम्पनीले दिएको छूट अफरमा दर्शकको विशेष चासो देखिएको थियो । एनसेलले १ रुपैयाँमै सिमकार्ड उपलब्ध गराएको थियो भने भ्वाइस कल र डाटा प्याकमा आकर्षक अफर समेत दिएको थियो ।
यस्तै इन्टरनेट सेवाप्रदायक वल्र्डलिंक, सुविसु, भायनेटलगायतका कम्पनीहरुले अवलोकनकर्ताहरुका लागि विभिन्न प्याकेजहरु दिएका थिए । मोबाईल, एसेसरिजलगायतका सामानमा बिभिन्न ब्राण्डले अवलोकनकर्ता आकर्षित गर्न अनेक छूट तथा अफरहरु राखेका थिए । केही कम्पनीले त ५० प्रतिशतसम्म छूट दिएका थिए ।
विशिष्ट व्यक्तिको चासो
यसपटकको क्यान प्रदर्शनीमा विशिष्ट व्यक्तिहरुको समेत चासो देखिएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल, श्रीनेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्मा, पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश साह, नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी, विभिन्न दलका सांसदहरु, हास्यकलाकार दीपकराज गिरी,मिस नेपाल २०१० सदीक्षा श्रेष्ठ लगायतका विशिष्ट अतिथिहरुले मेला अवलोकन गरेका छन् ।
क्यान इन्फोटेकमा पुरष्कृत
यस वर्षको क्यान इन्फोटेकमा सहभागी कम्पनीहरु मध्यबाट आयोजकले उत्कृष्ट कम्पनीमा एनसेल र भायानेटलाई छनोट गरी पुरष्कृत गरेको छ | त्यसैगरी उत्कृष्ट स्टार्टअप र इनोभेसनतर्फ स्मार्ट क्लिक अटोमेसन सेवा (स्मार्ट घर, होम अटोमेशन) लाई पुरष्कृत गरिएको छ |
६ दिन सम्म चलेको अनलाइन गेममा डोटा टू र सीएस गो को बिजेताका उत्कृष्ट टोलीलाई पनि १ लाख रुपैयाँले पुरस्कृत गरिएको छ |
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।