उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
अशाेक घिमिरे/रासस
काठमाण्डाै – विश्व वन्यजन्तु कोषको नेपालस्थित कार्यालयमा बाघ विशेषज्ञका रुपमा काम गर्न आएका बेलायती नागरिक स्टर्ट अलेक्जेन्डर चापम्यान गएको बिहीबार श्रम तथा व्यवसायजन्य विभागबाट श्रम इजाजत लिँदै हुनुहुन्थ्यो । विभागका कर्मचारी उहाँको राहदानीलगायत अन्य कागजपत्र रुजु गर्दै तस्वीर तथा औँठाछाप लिँदै थिए । च्यापम्यान पहिलो पटक श्रम इजाजतका लागि विभाग पुग्नुभएको थियो ।
नेपाल वायुसेवा निगममा क्याप्टेनका रुपमा काम गर्न नेपाल आएका भारतीय नागरिक कञ्जवालजित सिंह चिमा पनि विभागमा उपस्थित भएर नेपालमा काम गर्न अनुमति लिँदै हुनुहुन्थ्यो ।
यस्तै माथिल्लो त्रिशूली थ्रि–ए जलविद्युत् आयोजनाको २२० केभी प्रशारणलाइन परियोजनामा लेखापालका रुपमा काम गर्दै आएका चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशनका कर्मचारी चिनियाँ नागरिक वेइ लिन श्रम इजाजात नवीकरण गर्न विभाग पुग्नुभएको थियो । बिहीबारमात्रै विभागबाट ११ विदेशी नागरिकले श्रम इजाजत लिएका थिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले रोजगारीका लागि नेपालमा आएका विदेशी श्रमिकलाई श्रम इजाजत प्रदान गर्दै आएको छ । विभागले विदेशी श्रमिकलाई हप्ताको दुई दिन सोमबार र बिहीबार श्रम स्वीकृति दिने गरिरहेको छ ।
श्रम विभागले आर्थिक वर्ष २०६९/७० देखि विदेशी नागरिकलाई श्रम इजाजत दिन थालेको हो । आव २०६९/७० मा ९ सय ८४ विदेशीलाई विभागले श्रम इजाजत दिएको थियो । यस्तै आव २०७०/७१ मा ७ सय १९, आव २०७१/७२ मा २ हजार १९, आव २०७२/७३ मा १ हजार ४ सय ७२ विदेशी नागरिकलाई श्रम इजाजत प्रदान गरिएको विभागले जनाएको छ ।
यसैगरी आव २०७३/७४ मा १ हजार ३ सय २४ नयाँ श्रम इजाजत जारी गरेको विभागले सोही आवमा ६ सय ४८ श्रम इजाजत नवीकरण गरेको थियो । आव २०७४/७५ मा १ हजार ६ सय ८ नयाँ श्रम इजाजत र ९ सय ६२ नवीकरण तथा आव २०७५/७६ मा एक हजार १ सय १९ नयाँ श्रम इजाजत र ८ सय ६२ श्रम इजाजत नवीकरण गरेको थियो ।
चालु आवको पाँच महिनाको अवधिमा विभागले ५ सय ४० विदेशी नागरिकलाई नयाँ श्रम इजाजत प्रदान गरेको छ भने त्यही अवधिमा ५ सय ३७ श्रम इजाजत नवीकरण गरेको छ । श्रम इजाजत लिनेमा सबैभन्दा बढी चिनियाँ नागरिक छन् ।
चीन सरकारको सहयोगमा सञ्चालित परियोजनामा ठूलो सङ्ख्यामा चिनियाँ नागरिकले काम गर्दै आएका छन् । ‘टेलिकम्युनिकेशन, हवाई सेवालगायत सेवा क्षेत्रमा इजाजत लिने विदेशी कामदारको सङ्ख्या निकै ठूलो छ’, विभागका महानिर्देशक सनत केसीले भन्नुभयो ।
त्यस्तै नेपालमा काम गर्ने भारतीय नागरिकको सङ्ख्या पनि निकै ठूलो छ । यद्यपि सबै भारतीय नागरिकलाई श्रम इजाजतको आवश्यकता पर्दैन तर पनि दक्ष कामदारका रुपमा नेपालमा काम गर्दै आएका केही भारतीय नागरिकले श्रम इजाजत लिएका छन् । श्रम इजाजत लिनेमा नेपाललाई आर्थिक तथा प्राविधिक सहायता प्रदान गर्दै आएका देशका नागरिकको सङ्ख्या उल्लेख्य छ । केही दातृ निकायमा काम गर्ने विदेशी नागरिकले पनि श्रम इजाजत लिएका विभागले जनाएको छ ।
अस्ट्रेलिया, बङ्गलादेश, भूटान, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, दक्षिण कोरिया, मलेसिया, मेक्सिको, पाकिस्तान, साइबेरिया, स्पेन, श्रीलङ्का, स्वीडेन, स्वीट्जरल्याण्ड, थाइल्याण्ड, बेलायत, अमेरिकालगायत ८७ देशका नागरिकले श्रम इजाजत लिएर नेपालमा काम गरेको विभागको तथ्याङ्कले देखाउँछ ।
नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी नागरिकको सङ्ख्या विभागसँग भए पनि कुन क्षेत्रमा कति विदेशी श्रमिक छन् भन्ने स्पष्ट तथ्याङ्क छैन । सबै क्षेत्रका विदेशी श्रमिकको बेग्लाबेग्लै तथ्याङ्क राख्ने गरी प्रक्रिया अगाडि बढाएको महानिर्देशक केसी बताउनुहुन्छ ।
‘अहिले विभागको सफट्वेरलाई नयाँ ढङ्गबाट विकास गर्दैछौँ’, उहाँले भन्नुभयो, ‘कुन क्षेत्रमा, कुन प्रतिष्ठानमा कति विदेशी कामदार छन् तीमध्ये कति महिला, कति पुरुष, कुन कामका लागि विदेशी आएका छन् भन्ने सबै तथ्याङ्क एकीकृत गर्दैछौँ ।’
विदेशी नागरिकलाई श्रम स्वीकृति लिने प्रक्रिया भने त्यति सजिलो छैन । कुनै रोजगारदाताले विदेशी श्रमिक राख्नु परेमा शुरुमा कुन विशेषज्ञता हासिल गरेको कामदार चाहिने हो त्यसको विज्ञापन गर्नुपर्नेछ । विदेशी नागरिकका लागि श्रम इजाजत जारी गर्नका लागि गृह मन्त्रालयको सहमति आवश्यक पर्दछ । त्यस्तै सम्बन्धित क्षेत्र पर्ने मन्त्रालयको सिफारिश आवश्यक पर्दछ ।
सम्बन्धित मन्त्रालयको सिफारश, गृह मन्त्रालयको सहमति, रोजगारदातासँगको सम्झौतालगायत कागजपत्रसहित निवेदन दिएपछि विभागले अध्ययन गरेर श्रम इजाजत प्रदान गर्दै आएको छ । तर, नेपाल सरकारसँग कुनै देशको विषेश सम्झौता भएको खण्डमा सिधै ती देशका नागरिकलाई श्रम इजाजत दिने गरिएको छ ।
श्रम इजाजतका लागि कामदार आफै विभागमा उपस्थित हुुनुपर्छ । श्रम इजाजतका लागि आवश्यक कागजात पुगेपछि विभागका कर्मचारी सम्बन्धित श्रमिकको ‘बायोमेट्रिक’ सङ्कलन गर्छन् । त्यसपछि उनीहरुसँग अन्तर्वार्ता लिइन्छ । अन्तर्वार्तामा कुन कामका लागि आएको हो, कति पारिश्रमिक पाउने, कति समय काम गर्ने, शैक्षिक योग्यतादेखि दक्षतासम्मका विषय सोधिन्छ । अन्तर्वार्तापछि मात्र श्रम इजाजत दिने गरिएको छ ।
पहिलो चरणमा छ महिनाका लागि श्रम इजाजत प्रदान गरिँदै आइएको महानिर्देशक केसीले बताउनुभयो । त्यसपछि प्रत्येक पटक इजाजत नवीकरण गर्नुपर्छ । श्रम नियमावली, २०७५ मा ६ महिनासम्मको अवधिको लागि प्रतिव्यक्ति १५ हजार रुपैयाँ र एक वर्षका लागि प्रतिव्यक्ति बीस हजार रुपैयाँ इजाजत शुल्क तोकिएको छ ।
तर, विदेशी दातृ निकायमा काम गर्ने श्रमिकका हकमा भने शुल्क लाग्ने छैन । सामान्यतः विदेशी श्रमिकलाई बढीमा ३ वर्षका लागि श्रम इजाजत दिन सक्छ । नियमावलीमा दक्ष प्राविधिक विदेशी श्रमिकलाई बढीमा ५ वर्षसम्म श्रम स्वीकृति दिने व्यवस्था गरिएको छ ।
त्यस्तै विशेष परिस्थितिमा देशको शैक्षिक, सामाजिक, विज्ञान प्रविधि र गैरनाफामुलक संघ, संस्थाजस्ता क्षेत्रमा विशेष योगदान गरेका, राष्ट्रहित र जनकल्याणमा उल्लेखनीय योगदान गरेका विदेशी श्रमिकलाई विभागले मन्त्रालयको स्वीकृति लिई ५ वर्षपछि बढीमा २ वर्षसम्म श्रम इजाजत प्रदान गर्न सक्ने महानिर्देशक केसी बताउनुहुन्छ ।
श्रम ऐन, २०७४ मा कुनै पनि विदेशी नागरिकले श्रम इजाजत नलिइ नेपालमा काम गर्न नपाउने व्यवस्था छ । ऐनको दफा २२ को १ मा विभागबाट श्रम इजाजत नलिइ रोजगारदाताले कुनै पनि विदेशी नागरिकलाई श्रमिकको रुपमा काममा लगाउन नपाउने व्यवस्था गरिएको छ । रोजगारदाताले आफूलाई चाहिएको दक्ष श्रमिक नेपाली नागरिकबाट आपूर्ति हुन नसकेमा मात्र विदेशी श्रमिकलाई काममा लगाउन पाउनेछन् ।
ऐनमा कूटनीतिक उन्मुक्ति पाउने वा नेपाल सरकारसँग भएको कुनै सन्धि वा सम्झौताअन्तर्गत श्रम स्वीकृति लिन नपर्ने अवस्थामा बाहेक नेपालमा काम गर्ने सबै विदेशी नागरिकले श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ । श्रम इजाजत नलिइ काम गरेको पाइएमा विभागले त्यस्ता श्रमिकलाई तत्काल निष्कासन गर्न रोजगारदातालाई निर्देशन दिन सक्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।