बसाइँसराइ अभिलेख २०१९ सार्वजनिक : वैदेशिक रोजगारीबाट फर्केकालाई लगानी गर्ने वातावरण बनाउन सुझाव

 पुष २, २०७६ बुधबार १७:५७:९ | उज्यालो सहकर्मी

काठमाण्डौ – अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसर पारेर नेपाल सरकारको समन्वयमा अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)ले बुधबार बसाइँसराइ अभिलेख  २०१९ सार्वजनिक गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले अभिलेख सार्वजनिक गर्नुभएको हो । अभिलेखले वैदेशिक रोजगारीबाट फर्केका नेपाली कामदारलाई लगानीको वातावरण सिर्जना गर्न सुझाव दिएको छ । 

वैदेशिक रोजगारीले बसाइँसराई र अर्थतन्त्रमा पारेको प्रभावलाई प्रस्तुत गरिएको अभिलेखले वैदेशिक रोजगारीबाट फर्केका नेपाली कामदारलाई नेपालमै लगानीको वातावरण सिर्जना गर्ने कुरामा जोड दिएको छ । 

अभिलेख सार्वजनिक कार्यक्रममा मन्त्री यादवले अभिलेखमा समावेश गरिएका तथ्याँकले वैदेशिक रोजगारीका विकृति तथा कमीकमजोरीलाई बुझ्न सजिलो बनाएको बताउनुभयो । उहाँले नेपालको ठूलो जनसंख्या वैदेशिक रोजगारीमा संलग्न रहेको भन्दै प्राप्त रेमिट्यान्सको स्वेदशमै सही ठाउँमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै आईओएमको नेपाल मिसन प्रमुख लोरेना ल्याण्डोले आप्रवासनले सबैको हित होस् भन्नको लागि सम्बन्धित सबै पक्ष रणनीतिक रुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो हिस्सा भएकाले आप्रवासन कामदारलाई सुरक्षित बनाउनुर्पे विषयमा जोड दिनुभयो । 

यस्तै नेपाल सरकारको नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष गणेश गुरुङले तथ्यांकको अभावका कारण नीति निर्माण गर्न गाह्रो भएको बेला यस्तो रिपोर्टले सहयोग पुर्याउने बताउनुभयो । 

उहाँले यो अभिलेख विश्वका विभिन्न ८१ देशमध्येकै उत्कृष्ट भएको पनि बताउनुभयो । गरिएको उहाँले वैदेशिक रोजगारीमा गएका महिला कामदारको लागि नयाँ नीति निर्माण बनाउनतर्फ श्रम मन्त्रीको ध्यानाकर्षण गराउनुभयो । 

के छ अभिलेखमा ?

अभिलेखमा नेपालमा बसाइँसराइको प्रवृत्ति, ढाँचा, असर र शासकीय संरचना उल्लेख गरिएको छ । अभिलेखले वैदेशिक रोजगारीका क्रममा हुने बसाइँसराइको प्रभावलाई पनि समेटेको छ ।

अभिलेख चार भागमा विभाजित छ । भाग एकमा नेपालमा बसाइँसराईको प्रवृत्तिबारेका तथ्यांक र तिनको विश्लेषण गरिएको छ । भाग दुईमा बसराइँसराइले सामाजिक–आर्थिक तथा विकासका मुख्य सूचकहरुमा पारेको असरबारे चर्चा गएिको छ । यस्तै भाग तीनमा बसाइँसराईलाई व्यवस्थित गर्ने शासकीय संरचना र भाग चारमा नीति निर्माताका लागि सुझावहरु प्रस्तुत गरिएको छ ।

अभिलेखको सुझाव

नेपालमा बसाइँसराईका निकै सीमित मात्र तथ्यांक उपलब्ध भएको र तिनीहरु पनि पूर्ण नभएको अवस्थामा यसले तथ्यांक संकलनमा आधार निर्माण गर्ने अपेक्षा गरिएको छ ।

अभिलेखले बसाइँसराइका तथ्यांकमा सुधार र सीप तथा क्षमता विकाससम्बन्धी सुझाव पेश गरेको छ ।

नेपालमा बसाइँसराईका विभिन्न तथ्यांक तथा जानकारीको अभाव भएका कारण प्रभावकारी नीति नियमको निर्माण हुन सकेको छैन । तथ्यांकको यो अभाव पूर्ति गरी प्रभावकारी नीति निर्माण गर्न अभिलेखले सुझाव दिएको छ । 

यस्तै यस अभिलेखले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको ठूलो हिस्सा अदक्ष र अर्धदक्ष भएकाले नेपाली युवाहरुलाई सीपयुक्त बनाउन सुझाव दिएको छ । 
यसका साथै नेपालले वैदेशिक रोजगारीबाट फर्केका कामदारको सीप तथा क्षमताको उचित फाइदा लिन नसकेको अवस्थामा उनीहरुलाई नेपालमै लगानीका अवसरहरु प्रदान गर्ने तथा रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्ने पनि अभिलेखको मुख्य सुझाव रहेको छ ।
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया