उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
नेपालले अब अमिला फलफूल चीनमा निर्यात गर्न पाउने भएको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणका बेला भएका समझदारीमध्ये चीनमा अमिला फलफूल निर्यात गर्ने पनि उल्लेख छ ।
समझदारीको १४ नम्बर बुँदामा कागती, जुनार, सुन्तला लगायत अमिला फलफूल चीनमा निर्यातका लागि नेपालको कृषि विभाग र चीनको भन्सार कार्यालयबीच सहकार्य गर्ने उल्लेख छ । अब नेपालले २ वटा रोग र ५ प्रकारका किरारहित अमिला फलफूल चीन निर्यात गर्न पाउने छ । यसै विषयमा अर्जुन पोख्रेललले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीसँग गरेको कुराकानी :
चीनसँग भएको समझदारी के हो ?
नेपालको सुन्तला प्रजातीका फलफूलहरु चीन पठाउने समझदारी भएको हो । तत्कालको लागि सुन्तला र जुनार चीन निर्यातको लागि यो समझदारी एकदमै महत्वपूर्ण छ । विरुवा स्वच्छता कायम गरेको अवस्थामा नेपालको सुन्तला प्रजातीको उत्पादन चीनको तिब्बत प्रान्तको जिजान क्षेत्रमा तत्कालै निर्यात गर्न सकिने अवस्था अब सिर्जना भएको छ ।
यसभन्दा अघि नेपालले सुन्तला निर्यात गर्न पाएको थिएन ?
हो, यसअघि नेपालले निर्यात गर्न पाएको थिएन । बिरुवा स्वच्छता प्रमाणपत्र जारी गर्दा संसारभरकै देशले एउटै मापदण्ड बनाएका हुन्छन् । नेपालले त्यो मापदण्ड पूरा गर्न नसकेकाले पटक–पटक प्रयास गर्दा पनि सुन्तला निर्यात हुन सकेको थिएन । फाइटोस्यानेटरी प्रमाणपत्र अर्थात् रोग किराको प्रकोप नभएको प्रमाणपत्र जारी गर्दा रोग किराको प्रकोप भएको हुनु हुँदैन । तर हामीले चीनमा सुन्तला निर्यातको कोसिस गर्दा फल कुहाउने औँसा अर्थात बारुलाजन्य किरासहित पाँच प्रकारका किरा र २ वटा रोग देखिएको थियो ।
सन् २०१२ मा नेपालले चीनमा निर्यात गर्ने कोसिस गरेको थियो, त्यतिबेला हामीले के गर्याैँ भन्दा नेपालका सबै उत्पादन क्षेत्र अर्थात अर्चाड नै ५ प्रकारका किरा र २ प्रकारका रोगबाट मुक्त गराउँछौँ भन्ने प्रतिवद्धता जनायौँ । तर त्यसो गर्न सकेनौँ । त्यतिबेला हाम्रो सोचाइ बाघ मार्ने जस्तो भयो, कामचाहीँ स्याल मार्ने जत्तिको पनि हुन सकेन ।
तर अहिले फरक समझदारी भएको छ । सकभर हामीले पुरै उत्पादन क्षेत्र नै किरा र रोगमुक्त बनाउने, यदि त्यसो गर्न सकिएन भने स्वच्छ उत्पादन मात्रै छानेर चीन पठाउन सक्छौँ । पहिले पुरै उत्पादन क्षेत्र रोग र किरामुक्त हुनुपर्छ भन्ने अडानबाट चीन पनि लचक भएकाले समझदारी सम्भव भएको हो ।
समझदारी गर्याैँ, त्यो खुसीको कुरा भयो । तर तपाइँको कुरा सुन्दा त हाम्रा सुन्तला चीन निर्यातको लागि त लामै समय लाग्ने देखियो नि ?
त्यसो होइन । सम्झौता भएकै मितिदेखि यो कार्यान्वयन हुन्छ । रोगकिरामुक्त उत्पादनको लागि हाम्रा कर्मचारी र किसानहरुले पहल गरिरहनु भएको छ । यसमा हाम्रो कार्यक्रम अघि बढेकै छ । रामेछाप र सिन्धुलीमा जुनार सुपरजोन घोषणा गरेर ३ वर्षदेखि काम भैरहेको छ । सकभर हाम्रो सबै उत्पादन रोगकिरामुक्त बनाउने भनेर हामी लागेका छौँ, तर त्यसो गर्न सकेनौँ भने पनि ५ वटा किरा र २ वटा रोगमुक्त बनाउन सक्यौँ भने यसै वर्षदेखि सुन्तला चीन जान्छ ।
यसो भन्नुको मतलव के हो भने, कुनै किसानले १ सय वटा बोट सुन्तला खेती गरेको छ, तर ५० वटा बोटमा रोग लाग्यो, ५० वटामा लागेन भने रोग किरा नलागेको बोटको सुन्तला निर्यात गर्न सकिन्छ ।
यसलाई लामो समय कुर्नै पर्दैन । अब त हामीले बरु उत्पादन बनाउने र दीर्घकालीन योजना बनाउनुपर्छ ।
म गुल्मीको मान्छे, २०३७ सालतिर माध्यामिक तह पढ्दा १ रुपैयाँको २० वटा सुन्तला पाइन्थ्यो, अहिले पाँच रुपैयाँको एउटा पर्ने जमाना आइसक्यो । बजार बढ्दैछ । अब झन् चीन पठाउने भनेपछि त हामीले स्वच्छ बिरुवा भएका फलफूल बगैँचा बनाउन योजना बनाउनुपर्छ । सिन्धुलीको जुनार काठमाण्डौमा मात्र बिक्री नभएर कुहिएको छ । त्यसलाई चीन पठाउन सक्यौँ भने कति धेरै आम्दानी होला, भन्नुस त ।
भनेपछि अब किसान पनि तात्तिनुपर्ने बेला आयो ?
हो, अब किसान तात्तिनुपर्छ । किसानको लागि सरकारले सहजीकरण गरिदिन्छ । सरकारले केही पनि गरिदिएन भनेर चिया पसलमा गफ लगाएर बस्नेहरुलाई सरकारले केही गर्न सक्दैन, तर साँच्चै काम गर्छु भन्ने किसानलाई सरकारले धेरै सहज गरिदिन्छ । चीनमा निर्यात गर्ने लक्ष्यकासाथ किसानले सुन्तला खेती सुरु गर्दा धेरै राम्रो हुन्छ । अहिले झण्डै ५० हजार हेक्टर क्षेत्रमा सुन्तला खेती भैरहेको छ, यसलाई अझ बढाउनुपर्छ । अहिले अढाइदेखि ३ लाख मेट्रिक टन सुन्तला फल्छ, त्यसलाई पनि बढाउन कोसिस गर्नुपर्छ ।
अहिले पनि विदेशबाट फलफूल आयात भैरहेको छ । यो दुःखद् तर सत्य हो । अब हामीले चुनौती ग्रहण गरेर, सुनौलो सपना देखेर चीन निर्यात गर्ने उदेश्यकासाथ खेती गर्नुपर्छ ।
समझदारीमा त कार्यविधि बनाउने विषय पनि छ, हाम्रो ढिलासुस्ती यही हो, फेरि कार्यविधिमै कुरा अड्किने त होइन नि ?
कार्यविधि बनाउन केही कठिन नै छैन । त्यो लगभग बनिसकेको छ । अघि नै मैले भनेका ५ वटा किरा र २ वटा रोगले नछोएका सुन्तला जातका फलफूल चीन पठाउने कुरा नै कार्यविधिमा हुन्छ । बरु सामान्य रोग किरा भएको फलफूल कोल्ड ट्रिटमिन्ट गर्नुपर्छ, त्यो संरचना बनाउन केही समय लाग्न सक्छ । १६ देखि १७ दिनसम्म २ देखि ३ डीग्री सेन्टिग्रेटमा राख्दा सामान्य रोग किरा हट्छन् ।
भनेपछि अब बिक्री नभएर सुन्तला कुहिने अवस्थाको अन्त्य हुने भयो ?
हो, बिक्री नभएर कुहिने, किसानले खाल्डोमा हाल्ने, गाईभैँसीलाई खुवाउने जस्ता क्रियाकलाप अब हुन्नन् । किसानले स्वच्छ बिरुवा हुर्काएर स्वच्छ फल फलाउनु पर्यो, अहिले ३० रुपैयाँ किलोमा बिक्री नभएको सुन्तलाले २ सय रुपैयाँ पाउने अवस्था आउँदैछ । सुन्तला जातका फलफूल खेती गर्न ठूलो मेहनत पनि गर्नु पर्दैन । बाँझो जमिनमा यो खेती गरे हुन्छ ।
चीनबाट बर्सेनि २ अर्ब रुपैयाँ भन्दा धेरैको कागती आयात हुन्छ, के हाम्रो देशमा कागती फल्दैन त ? हाम्रा बाँझो जमिनमा कागतीका बोट लगायौँ भने २ वर्षमा उत्पादन दिन्छ । खेती नगर्ने तर सरकारलाई दोष लगाउने चलनले गर्दा हामी आयातमुखी भएका हौँ ।
बाँदरले मकै, गहुँ, धान खाला । तर कागती त खाँदैन नि । बाँदरले गर्दा बाँझो जमिन भयो भनेर गफ लडाएर बस्नुको साटो सुन्तला खेती गरौँ, माछापालन गरौँ, माछा त बाँदरले नखाला नि ।
कार्य विधि पनि लगभग बनिसकेको रहेछ, चीनसँग समझदारी पनि भयो । भनेपछि व्यापारीहरुले अब चीन निर्यातको पहल गर्दा हुन्छ ?
हो, सरकारले अब लगभग प्रक्रिया पूरा गरिसकेको छ । अब हामीले पूरा गर्नुपर्ने मापदण्ड पूरा गर्छौँ र चीनमा सुन्तला निर्यात गर्छौँ भनेर निजी क्षेत्र आयो भने सके यही वर्ष नभए अर्को वर्ष त मज्जाले निर्यात गर्न सकिन्छ । अघि मैले भनिसकेँ कोल्ड ट्रिटमिन्ट बनाउने भन्ने कुरा हो, त्यसमा चीनले पनि प्राविधिक सहयोग गर्ने भनेको छ । यो काम पनि छिटै हुन्छ होला ।
तपाइँले त निकै उत्साहजन कुरा गर्नुभयो, अब चीनमा सुन्तला निर्यात हुनेभयो, ब्यापार घाटाको खाडल केही कम हुने सम्भावना बढ्यो होइन त ?
हो, चीनसँगको व्यापार घाटाको खाडल निकै गहिरो छ, यो गहिरो खाडलमा अलिकति माटो हालेर पुर्ने प्रयास सुन्तला जातको फलफूल निर्यातले गर्नेछ । अब चुप लागेर बस्ने बेला छैन, अरुले आएर देश बनाइदिने होइन, हामीले बाँझो जमिनमा बिरुवा रोपको भरमा विदेशी मुद्रा आउँछ । अब निराशाका कुरा गरेर दिने बिताउने र विदेश जाने होइन, देशमै केही गर्न जाग्नैपर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।