उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाडौं – ‘बरु नाति–नातिनाले आफ्ना हजुरबुवाको नाम बिर्सेलान् तर आदिकवि भानुभक्तको नाम बिर्सिँदैनन् । भानुभक्त भनेपछि बिर्खे टोपी लगाएको र हातमा रामायण बोकेको व्यक्तिको आकृति हरेक नेपालीको मस्तिष्कमा आउने गर्छ ।’
२०५ औँ भानु जयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा आयोजित ‘हिमवत् खण्ड कला सािहत्य सम्मिलन’ मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भानुभक्तलाई यसरी सम्झनुभयो । प्रधानमन्त्री ओलीले नेपाल वैदिक कालदेखि नै कला, संस्कृति र सम्पदामा धनी भएको बताउँदै भानुभक्तले रामायणमाफर्त नेपालमा भाषिक एकता गरेको बताउनुभयो । उहाँले नेपाली इतिहास, कला, संस्कृति, चिन्तन र सभ्यता विश्वकै लागि उदाहरणीय भएको बताउँदै यसको जर्गेना गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी कला, संस्कृति, सभ्यता र चिन्तनमा अगाडि भए पनि केही कुरामा हामीले त्यसलाई आफ्नो भन्न सकेनौँ । त्यसको प्याटेन्ट राइट लिन सकेनौँ । दावी पनि गर्न सकेनौँ ।’ प्रधानमन्त्री ओलीले नेपाल ऋषिमुनीहरुको भूमि भएको बताउँदै भन्नुभयो, ‘जति बेला बाँकी विश्व अन्धकारमा थियो, त्यति बेला नेपालमा दर्शन, ज्ञान, सृष्टि, उत्पत्ति र विनासका बारेमा गहन विचार र विमर्शमा थियो ।’
प्रधानमन्त्री ओलीले भानुभक्तलाई सम्झने क्रममा नेपाली राजनीतिप्रति व्यङ्ग्य गर्न पनि छुटाउनु भएन । ‘ऋणम कृत्वा घृतम पिवेत’ श्लोकलाई उद्धरण गर्दै उहाँले नेपालमा देश जति डुबोस् मतलब नगर्ने तर भ्रष्टाचार गर्ने प्रवृत्ति बढेको बताउनुभयो । उहाँले देशलाई यथास्थानमा राख्न खोज्ने शक्ति पराजित भएको बताउँदै अब देशले भाषिक, सांस्कृतिक तथा सामाजिक विविधताका बीच अगाडि बढ्ने बताउनुभयो ।
त्यस्तै प्रधानमन्त्री ओलीले उहाँले पश्चिमा राष्ट्रमा विज्ञान र प्रविधिको विकास हुनुपूर्व नै नेपालमा विभिन्न खोज तथा अनुसन्धानात्म कार्यहरु भएको बताउनुभयो । न्यूटनले ‘थ्योरी अफ् ग्राभिटी’ पत्ता लगाउनुभन्दा पहिले नै भाष्कराचार्यले ‘सिद्धान्त शिरोमणि’ मा गुरुत्वाकर्षणका बारेमा उल्लेख गरेको बताउनुभयो । गणितज्ञ भाष्काराचार्यले १२ औँ शताब्दीको मध्यतिर नै पृथ्वीले आफ्नो विशिष्ट शक्तिद्वारा आकाशीय पदार्थलाई आफूतिर तान्ने कुरा पत्ता लगाएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले पैसाले मात्रै विकास हुँदैन, सोच र चिन्तनले विकास हुन्छ, औपनिवेशिक कालमा जस्तो ठूला र धनीले साना र गरीबलाई शोषण गरेर धनी र सम्पन्न हुने चरण समाप्त भइसकेको छ भन्दै अब स्वतन्त्रता, सुरक्षा र सम्मान सहितको आधुनिक लोकतन्त्रका लागि साहित्य र संस्कृतिकर्मीहरु पनि केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै कार्यक्रममा वरिष्ठ साहित्यकार डाक्टर मोदनाथ प्रश्रितले हिमाली सभ्यता र परम्परालाई अग्रभागमा राखेर हिमवत् खण्डको संस्कृतिको अध्ययन र संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
वरिष्ठ कवि बैरागी काइँलाले आदिकवि भानुभक्तले सबैले बुझ्ने भाषामा रामायण लेखेर भाषिक एकता गरेको बताउनुभयो । तर अहिले नेपालका विभिन्न भाषा, संस्कृति र सभ्यता लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षण र सम्बद्र्धनमा सबैले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले नेपाल संस्कृतिको इन्द्रेणी भएको बताउँदै यसलाई बचाइराख्न सबैले पहल गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले भानुभक्तका रचनाले नै भानुभक्त जनताका पक्षमा भएको स्पष्ट हुने बताउनुभयो । ‘एक दिन नारद सत्यलोक पुगी गया लोकको गरूँ हित भनी’ पक्तिमार्फत नै भानुभक्तले लोकका पक्षमा आवाज उठाएको जोशीले बताउनुभयो । भानुभक्तले रामायणमार्फत नेपालमा भाषिक क्रान्ति गरेको बताउँदै जोशीले नेपाली भाषा, कला, साहित्य र संस्कृतिको पक्षमा भानुभक्तले महत्वपूर्ण योगदान दिएको बताउनुभयो ।
त्यस्तै नेपाली भाषा, साहित्यमा विद्यावारिधि गरेका बेलायती नागरिक माइकल हटले नेपाल कला, साहित्य र संस्कृतिमा निकै नै धनी भएको बताउनुभयो । उहाँले भानुभक्तकै श्लोकलाई आफ्नै श्लोकमा ढाल्दै भन्नुभयो, ‘एक दिन माइकल हट कान्तिपुर पुगी गया, यहाँको भाषा बुझूँ भनी ।’ हटले ३४ वर्षअघि नेपाली भाषा र साहित्यमा विद्यावारिधि गर्नुभएको हो । उहाँले बुद्धिसागरको चर्चित उपन्यास ‘कर्णाली ब्लूज’ को अंग्रेजीमा अनुवाद गर्दै हुनुहुन्छ ।
सम्मिलनमा भारतको सिक्किम विश्वविद्यालयका डिन डाक्टर कविता लामालगायत जापान, भुटान, थाइल्याण्ड, रुस, फ्रान्सलगायत १३ देशका साहित्यकारको सहभागिता छ ।
भारतको गुहावटी, उत्तराखण्ड, सिक्किम, कोलकाता, हिमाञ्चल, देहरादुन, दार्जीलिङ, बनारस, विहार, सिलोङलगायत स्थानका साहित्यकारहरुको सहभागिता छ ।
तीन दिनसम्म चल्ने सम्मिलनमा हिमवत् खण्ड र साहित्यसम्बन्धी कार्यपत्र, बहुभाषिक कवि गोष्ठी, सांस्कृतिक कार्यक्रमका साथै चन्द्रागिरि अवलोकन र स्थलगत सिर्जना लेखन पनि हुने आयोजक समितिका संयोजक प्राध्यापक राजेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
तस्बिर - रासस
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।