उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
दाङ – दाङको नारायणपुरमा रहको देवः विकास बैंकको शाखाबाट झण्डै १८ करोड रुपैयाँ हिनामिना भएको घटनाको अनुसन्धानका क्रममा थप १० जना पक्राउ परेका छन् ।
प्रहरीले अनुसन्धानका लागि १० जनालाई नियन्त्रणमा लिएको जनाएको छ । रकम हिनामिना भएको भनिएको बैंकको शाखा कार्यालयमा खाता भएका दश जना सेवाग्राहीलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई आइतबार अदालतबाट म्याद थप गरी अनुसन्धानका थालिएको प्रहरीले जनाएको छ ।
बैंकका शाखा प्रमुख समिर बुढाथोकीले १७ करोड ९९ लाख ९० हजार रुपैयाँ हिनामिना गरेको आरोप लागेको थियो । बुढाथोकीलाई गएको भदौ ४ गते प्रहरीले लमहीबाट पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार बुढाथोकीले ३६ जनाको नक्कली खाता बनाई त्यसबाट ५४ जना अन्य खातावालाको नाममा पैसा पठाएको अनुसन्धानमा देखिएको छ । पैसा जम्मा भएका खातावालाले रकम निकालेको देखिएको छ । त्यो रकम कहाँबाट प्राप्त भएको हो भनी नसोधेरै खर्च गरेको देखिएपछि उनीहरुलाई प्रतिवादी बनाएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक राजन गौतमले जानकारी दिनुभएको छ ।
बैंकले रकम हिनामिना भएको भन्दै शाखा प्रबन्धक बुढाथोकीविरुद्ध प्रहरीमा उजुरी गरेपछि नियन्त्रणमा लिएको थियो । बुढाथोकीको बयान र कागजपत्र तथा रकम निकासामा अनुसन्धानलाई केन्द्रित गरिएको छ । अनुसन्धानका क्रममा धेरै व्यक्तिहरु तानिन सक्ने देखिएको छ ।
पक्राउ परेका १० जनालाई आइतबार अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । पछिल्लो ६÷७ महिनाको अवधिमा त्यो रकम हिनामिनाको काम भएको देखिएको प्रहरी निरीक्षक गौतमले जानकारी दिनुभयो ।
सम्बन्धित समाचार
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।