उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
युएई – भारतको बाटो हुँदै अरु देशमा बेच्न लागिएका दुई जना महिलाको युएईबाट उद्धार गरिएको छ । नेपालको पूर्वी नाका हुँदै भारत र भारतको बाटो हुँदै युएई ल्याएर अन्य देशमा बेच्न लागिएका बर्दियाकी रेनुका विक र उदयपुरकी भुपकुमारी कार्कीको उद्धार गरिएको हो ।
योसँगै मानव तस्करले अरु देशको बाटो हुँदै युएई, कुवेत, ओमान लगेर नेपाली महिला बेचिरहेको तथ्य सार्वजनिक भएको छ । खाडीमा घरेलु महिला कामदारको रुपमा जान बैधानिक बाटो बन्द भए पनि तस्करहरुले अरु देशको बाटो हुँदै युएई, कुवेत, ओमान पुर्याउने गरेका हुन् ।
केही समय युएईका बिभिन्न ठाउँमा काममा लगाएपनि पछिल्लो समय अलऐनको टाउनसेन्टरमा रहेको घरेलु महिला कामदार सप्लाई कम्पनीमा बन्धक बनाएर खाडीमा बेच्न राखिएका उनीहरुलाई बुधवार नेपाल फर्काइएको हो ।
आफूहरुलाई बन्धक बनाएर राखेको भन्दै उनीहरुले सामाजिक सन्जालमार्फत भिडियो सार्वजनिक गरेपछि एनआरएन युएई अलऐन क्षेत्रीय समितिको सहयोग तथा नेपाली दुतावास आबुधाबीको समन्वयमा उद्दार गरिएको हो ।
भिडियो सामाजिक सन्जालमा भाइरल भएपछि अलऐनमा रहेकी एनआरएन केन्द्रिय सदस्य तथा महिला सेलकी कुमारी तामाङको अगुवाइमा महिला बन्धक बनाएको स्थानसम्म पुगेर उद्दार गरिएको हो ।
दूतावास र एनआरएनको दबाबपछि पोल खुल्ने डरले यहाँको स्थानीय एजेन्टलेनै गोप्य रुपमा हवाई टिकट बनाएर आबुधावी विमनस्थलमार्फत विक र कार्कीलाई नेपाल पठाएको एनआरएन अलऐन क्षेत्रीय अध्यक्ष गोपाल पौडेलले बताउनुभयो ।
उद्दार गरिएका महिलालाई नेपालमा रहेका एनआरएन युएईका युवा संयोजक नविन पौडेलले विमान्स्थलबाटै पौरखी नेपालका प्रतिनिधिको जिम्मा लगाउनुभएको छ ।
विभिन्न बाटोबाट अवैधानिक रुपमा महिला बेचबिखन कार्यमा महिलाले नै संलग्न रहेको खुलेको छ । युएईको अजमान र अलऐनमा रहेको महिला सप्लाई कम्पनीमा झापाकी गीता रोका, अन्जली र अनिता नाम गरेका महिला कर्मचारीको रुपमा काम गर्ने र उनीहरुकै सहयोगमा महिलाहरु यहाँ ल्याउने गरेको पीडितले बताएका छन ।
तर उनीहरुले भने आफूले घरेलु महिला कामदार सप्लाई गर्ने भएपनि अवैधानिक रुपमा महिलाहरुलाई बेच्ने काममा संलग्न नभएको दावी गरे । आफु कार्यरत कम्पनीमा नेपाली महिला धेरै आउने र अलऐन तथा अजमानमा महिलाहरुलाई रोजेर बेच्न राखिने स्वीकारे पनि उनीहरुले आफू त्यसमा संलग्न नभएको बताएका हुन् ।
गीता रोकाले आफूले समस्यामा परेकाहरुलाई उद्धार गर्न सहयोग गरेको दावी गरिन् । केही दिन अघि पनि सोही स्थानबाट एनआरएन युएईले बर्दियाकी सीमा चन्द ठकुरीको उद्धार गरेको थियो ।
स्थानीय प्रशासन मार्फत दूतावासले पहल गरे युएई हुँदै अबैध रुपमा हुने गरेको महिला बेचबिखन रोक्न सकिने उद्दारमा खटिनेहरुको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ।