उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
बझाङ - थलारा गाउँपालिका वडा नम्बर ४ मा सडक पुर्याउन २०७१ सालमा सडक सर्भे गरियो । सर्भे गरिएको एक बर्ष पछि सडक खन्ने काम सुरु भयो । एक वर्ष लगाएर झण्डै १ करोड ७० लाखको लागतमा २०७३ साल चैत्र महिनामा गाउँमा सडक पुग्यो । स्थानीय बासिन्दा निकै खुसी भए ।
विकट ठाउँमा सडक पुग्दा अब दुःखका दिन गए, भारी बोक्न नपर्ने, सहज तरिकाले ओहोर दोहोर गर्न सकिने भयो भन्दै सबै दंग भए । सडक पुगेको केही महिना नपुग्दै वि.स. २०७४ साल असारमागाँउमा पहिरो गयो। सडकमा गाडी चल्न नपाउँदै स्थानीयको सपना एकै झट्कामा चकनाचुर भयाे ।
सडक खनेकै कारण यहाँका २३ परिवार अहिले पहिरोको उच्च जोखिममा छन् भने नवराज जाेशी तथा वडा नम्बर-४ का हरिमल बोहराको परिवार पूर्ण रुपमा विस्थापित भइसकेका छन् ।
त्यस्तै तोलीका दुर्गादत्त जाशी, नवराज जोशी,जय बहादुर बोहरा, मान बहादुर बोहरा, अम्मम बोहरा, प्रेम बोहरा, दिनेश बोहरा, शेर बोहरा, अजिभान मिजार, दिल बहादुर डौडे, धना देवी बोहरा, हरि बोहरा, हरिमल बोहरा, रुद्र बोहरा, बल बहादुर बोहरा तथा पणेशका वीर बाहदुर रावल, गोरख थापा, जगदिश रावल, हरिश रावल, अम्मर रावल र सुनादेवी उपाध्यायको घर परिवार उच्च जोखिममा रहेको छ ।
यस बाहेक यस्तै यहाँका झण्डै ६०/६५ परिवारको ८० रोपनी जग्गासमेत खतरामा परेकोे छ ।
विस्थापितहरुले आफूहरुले गाँउ नै छोडेर भाग्नु पर्ला भन्ने कल्पनासम्म नगरेको बताए । उनीहरुलाई गाउँमा सडक पुग्दाको खुसीभन्दा गाउँ छोडेर जानुपर्दा सयाैँ गुणा दुःख महसुस भएको छ । सानो पानी पर्नासाथ गाउँ माथिबाट लगिएको सडकबाट पहिरो खस्न थालेपछि भागदौड मच्चिने गर्छ भने रातमा जाग्राम बस्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा दुर्गादत्त जोशीले बताउनुभयो ।
गएको साउन १६ गतेदेखि ६ दिनसम्म लगातार पानी परेपछि यहाँका बासिन्दा ढुक्कसँग सुत्न पाएका छैनन् । कति बेला पहिरोमा पुरिएर मरिने हो भन्ने चिन्ताले सताउँछ । गाउँ मुनि/माथि दुवैैतिरबाट पहिरो लागेको छ ।
२०७१ सालमा सर्भे भएको ठाँउभन्दा अन्य ठाउँबाट सडक खनिएको स्थानीयको भनाइ छ । सर्भे गर्दा खैराणी, माटिखान, पिपलको रुख हुँदै तिखा ढुङ्गामा सडक खन्ने कटान गर्ने गरी सर्भे भएको थियो । तर सडक खन्ने बेला खैराणी, सिलम्भु तोली हुँदै तिखा ढुङ्गा पुर्याइएको छ जुन प्रारम्भिक सर्भेभन्दा ठिक उल्टो छ ।
सर्भे गरिएकै ठाउँमा सडक खनेको भए आफूहरुले यति दु:ख पाउनु पर्ने र गाँउ नै छोड्नु पर्ने अवस्था नआउने स्थानीय नवराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यतिबेला सबै स्थानीय बासिन्दाहरु आ आफ्नो जग्गा जमिन बचाउन सडक खन्ने मेशिन अगाडि सुतेर सडक खन्न दिएनन्, अहिले आएर यो समस्या सृजना भयो ।’
सर्भे नगरेको ठाँउमा सडक खनेकोले आफूहरुले ३ महिनासम्म सडक खन्ने मेशिनसमेत बन्द गराए पनि केही नलागेपछि सडक कटान खनिएको स्थानीय मान बहादुर बोहराले बताउनुभयो । स्थानीयका अनुसार गाउँमाथि सडक घुम्ती परेका बरबर माटो भएका कारण सानो पानी पर्दासमेत सबै माटो पग्लिएर घर भएको ठाउँमा आउँछ ।
यहाँका अधिकांश पुरुषहरु रोजगारीका लागी भारत गएका छन् । हामी महिलाहरु मात्रै गाँउमा छौ । बर्खाको समय रात दिन पानी परिरहेको छ । पानी पर्नेबित्तिकै छोरा छोरी बोकेर भागदौड सुरु हुन्छ, स्थानीय देवी बोहराले भन्नुभयो, भोट माग्न आउँदा नरम देखिने नेताहरु समस्या पर्दा एक पटक पनि यत्रो गाउँ आएका छैनन् ।’
पहिरो नियन्त्रणका लागि झण्डै १ करोड २० लाख खर्च गरिएको भए पनि जाली तथा पर्खाल आवश्यक ठाँउमा नलगाइएकाले गाँउ झन पहिरोको जोखिममा परेको स्थानीयको आरोप छ । बस्ती बचाउन प्रदेश सरकारबाट समेत १५ लाख रुपैयाँको तार जाली हालिएको थियो । त्यो तार जाली लगाएको हप्ता दिन नपुग्दै पहिरोले बगाएर लगेको स्थानीयले सुनाए ।
अब गाउँको सुरक्षाका लागि बजेट छुट्याउनु भन्दा बस्ती सार्नुपर्ने स्थानीयको माग छ । गाँउ जोखिममा परेको थाहा पाएपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार बझाङमा जथाभावी सडक खनिएका कारण धेरै बस्ती तथा खेतीयोग्य जमीन तहसनहस भएका छन् । अहिले जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहहरुलाई पत्राचार गर्दै सडक नखन्न निर्देशन दिएको छ । तर यस विषयमा कतिपय जनप्रतिनिधिहरुले आपत्ति जनाएको प्रमुख जिल्ला अधिकारी सुनारले बताउनुभयो ।
विकासका नाममा यहाँ धेरै विनाश भएको छ । सय मिटरको दूरीमा दुई वटा सडक खनिएका छन् । यो विषय यहाँका नागरिकले पनि बुझ्न जरुरी रहेको प्रमुख जिल्ला अधिकारी सुनारको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘एक करोडको लागतमा खनिएको सडकका कारण २० करोड बराबरको क्षति पुगेको छ । अहिले जिल्लामा शाखा सडक मात्रै झण्डै ११९ भन्दा बढी छन् । यसले अझै जोखिम बढाउन भएकाले सबै स्थानीयलाई सजग रहन जिल्ला प्रशासन कार्यालयले अनुरोध गर्दै आएको छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।