एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – घर वा कार्यालयमा भएको सीसीटीभीले पनि व्यक्ति पहिचान गर्न नसक्दा हैरान हुनुहुन्छ ? घर वा कार्यालयमा चोरी हुँदा व्यक्ति र उसले प्रयोग गरेका सामग्री र सडकमा दुर्घटना हुँदा सवारीसाधन देखिए पनि नम्बर प्रस्ट नदेखिँदा धेरैलाई समस्या भएको हुनसक्छ । प्रहरीसम्म पुग्दा पनि अनुहार टाढाबाट नचिनिएको भन्दै तपाई रित्तो हात फर्किनु परेको पनि हुनसक्छ ।
यदि त्यसो हो भने अब छिट्टै सीसीटीभीको फुटेज नचिनिने समस्या समाधान हुने भएको छ । नेपालमा छिट्टै सीसीटीभी फुटेजमा टाढाका वस्तुसमेत प्रस्ट देखिने प्रविधि भित्रिँदैछ । नेपाल विधि विज्ञान प्रयोगशालाले चालू आवभित्रै यो प्रविधि भित्र्याउने तयारी गरेको छ । प्रयोगशालामा नियमित रूपमा सीसीटीभी फुटेजसँग सम्बन्धित समस्या आउन थालेको प्रयोगशालाका निमित्त कार्यकारी निर्देशक वीरेन्द्रराज शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘चालू आवभित्रै सञ्चालनमा ल्याउने योजना छ ।’
समाज परिवर्तन भएसँगै नयाँनयाँ अपराधका घटना भइरहेका र त्यसकै आधारमा नयाँनयाँ प्रविधि आवश्यक भएको शाक्यले बताउनुभयो । सीसीटीभी जडान भएका स्थानमा कुनै पनि घटनाका प्रमाणका रूपमा त्यसलाई लिइने गरे पनि त्यसले टाढाको दृश्य प्रस्ट नहुँदा नागरिक र प्रहरी हैरान छन् । उहाँले भन्नुभयो, ‘यही अन्यौलता हटाउनका लागि नेपालमा सिसिटिभी आवश्यक देखिएको हो ।’
प्रयोगशालाले अपराध अनुसन्धानमा वैज्ञानिक प्रमाण उपलब्ध गराउँदै आएको छ । अदालत, प्रहरी, सरकारी कार्यालयलगायतका स्थानबाट आएका समस्याको समाधान वैज्ञानिक प्रविधिबाट निष्कर्ष निकाल्ने काम गर्दै आइएको प्रयोगशालाले जनाएको छ । समयानुसार र अपराधका घटनाका प्रकृतिनुसार नयाँनयाँ प्रविधि भित्र्याउने र प्रयोग गरिँदै आएको निमित्त कार्यकारी निर्देशक शाक्यले बताउनुभयो । ट्राफिक प्रहरी, नेपाल प्रहरी र अदालतबाट सीसीटीभीसम्बन्धी विवाद आउने गरेका छन् । त्यससम्बन्धी अनुसन्धान गरेर तथ्य पत्ता लगाउन आवश्यक रहेको उहाँको भनाइ छ ।
‘दुर्घटनामा रातको समयमा सिसिटिभीले दृश्य देख्ने तर नम्बर प्लेट नबुझिएको भन्ने घटना आइरहेका छन्’, उहाँले भन्नुभयो, ‘अहिलेसम्म हामीसँग सीसीटीभीको दृश्य प्रस्ट गर्ने प्रविधि नभएकाले सुझाव दिन सकिरहेका छैनौँ तर अब त्यस्ता प्रविधि ल्याउने योजनामा हामी छौं ।’
प्रयोगशालाले अहिले हस्ताक्षर सक्कली हो वा होइन्, हस्तरेखा मिल्छ वा मिल्दैन, रगतमा रहेको मदिरापान, विषालु पदार्थको मात्रा लगायतका परीक्षण गर्दै आएको छ । प्रयोगशालाले मानिस र जनावर दुवैको डीएनए परीक्षणसमेत गर्दै आएको प्रयोगशालाका सूचना अधिकारी दिनेशकुमार झाले बताउनुभयो ।
विसं २०६२ मा मानिसको डीएनए परीक्षण शुरु गरेकामा दुई वर्षपहिले देखि जनावरको समेत डिएनए परीक्षण शुरु भएको हो । अहिले २७ वटा गुणका आधारमा आमाबाबु र सन्तानको डीएनए परीक्षण हुने गरेको उहाँले बताउनुभयो । डीएनए परीक्षण शुरु हुँदा १६ वटा गुणका आधारमा परीक्षण गर्ने गरिएकामा केही वर्ष पहिलेबाट २४ वटा गुणका आधारमा परीक्षण हुने गरेको थियो ।
कुनै पनि व्यक्तिको हस्ताक्षर मिल्छ वा मिल्दैन भन्ने जाँच गराउने घटना लोक सेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायबाट आउने गरेको निमित्त कार्यकारी निर्देशक शाक्यले बताउनुभयो । ‘कतिपय छापिएका कागजात कति वर्ष पुरानो हो भन्ने छुट्याउने काम पनि प्रयोगशालाले गर्दै आएको छ’, उहाँले भन्नुभयो, ‘कुनै दुई वा त्योभन्दा बढी कागजातमा एउटै मसी प्रयोग भएको हो वा फरक मसी भन्ने छुट्याउने काम प्रयोगशालामा हुने गरेको छ ।’
समाजमा अपराधका घटना बढेसँगै यी र यस्ता मुद्दाहरू वैज्ञानिक परीक्षणका लागि अदालतमा आउने क्रम बढेको निमित्त कार्यकारी निर्देशक शाक्यले बताउनुभयो । अदालतबाट आउने धेरै मुद्दामा चाँडो नतिजा आओस् भन्ने धेरैको अपेक्षा रहेको छ । प्रयोगशालाले एकातिर पहिले आएकाको परीक्षण गरेर नयाँ आएकालाई लाममा राख्ने गरेको उहाँको भनाइ छ ।
त्यस्तै धेरै मुद्दामा आवश्यक कागजात नहुँदा परीक्षण गर्न नसकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले यी कुरा आवश्यक छ थप्नुहोस् भन्छौँ तर थप्नमा सम्बन्धित व्यक्तिले चासो देखाएको पाइँदैन ।’
न्यायिक सुधार आयोगको सुझावका आधारमा स्थापना भएको प्रयोगशाला शुरुमा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) अन्तर्गत रहेको थियो । झण्डै पाँच वर्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गत रहेको प्रयोगशाला दुई दशकदेखि स्वायत्त संस्थाका रूपमा रहेको छ । अहिले प्रयोगशाला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।