एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - नेपालले पहिलोपटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ लाई साेमबार अपराह्न ४ बजे स्वतन्त्र रुपमा आकाशमा छाडिएको छ ।
जापानस्थित क्युटेक विश्वविद्यालयले अघि बढाएको ‘बर्ड–३’ परियोजनाअन्तर्गत नेपालका लागि त्याे भूउपग्रह गत वैशाख ४ गते परीक्षणका रुपमा प्रक्षेपण गरिएको थियो ।
डेढ महिनाअघि देखि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको भूउपग्रहले आजबाट पृथ्वीको कक्षमा आई आकाशबाट स्वतन्त्र रुपमा परिक्रमा गर्ने भएको हो ।
नानाे भूउपग्रहले पहिलो चरणमा भुटान अनि नेपाललाई जानकारी दिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का अन्तरिक्ष यान प्रविधि (एरोस्पेस) इञ्जिनियर मिलनकुमार न्यौपानेले जानकारी दिनुभयो । 'पृथ्वीको ४०० किलोमिटर माथि आइएसएसमा पाँच जना अन्तरिक्ष यात्री बसी भूउपग्रह आज आकाशमा छाडिएकाे हाे', न्यौपानेले भन्नुभयो, 'अमेरिकाका दुई, रसियाका दुई र क्यानडाका एक जना व्यक्तिलाई आइएसएसमा त्यस कामका लागि खटाइएको थियो ।'
त्यस भूउपग्रहको तौल एक किलो ३०० ग्राम, यसको आकार एक हजार घनत्वको रहनाका साथै यसमा छ वटा ब्याट्री जडित भएकाले सूर्यबाट चल्ने र फालेको परिधिभन्दा बाहिर भूउपग्रह गएमा बढी जोखिममा पर्ने सम्भावना हुने बताइएको छ ।
भूउपग्रहमा पाँच मेगा पिक्सलकाे क्यामेरा जडान गरिएको छ । यसबाट सङ्कलन गरेको फोटो व्यावसायिक काममा त्यति प्रयोग गर्न नमिल्ने नाष्टका इञ्जिनियर रोशन पाण्डेले जानकारी दिनुभयो ।
हाल जापान भ्रमणमा रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जापानको क्युटेक र त्यस परियोजनामा कार्यरत जापानका सम्पूर्णलगायत नेपालका आभाष मास्के र हरिराम श्रेष्ठलाई धन्यवाद व्यक्त गर्नुभयो । मन्त्री पोखरेलले भन्नुभयो, 'नेपालको झण्डा र नाष्टको लोगो अङ्कित सो भूउपग्रहले नेपालको गरिमा बढाउँदै अघि बढेकोे छ ।'
मन्त्रालयका सचिव कृष्णराज बिसीले नेपाल, जापान र श्रीलङ्काका लागि आजको दिन अविष्मरणीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, 'जापानले भविष्यमा नेपाललाई विज्ञान र प्रविधिको अन्य क्षेत्रमा सहयोग गर्ने आशा बोकेको छु ।'
नाष्टको कार्यालयमा नेपालका लागि जापानी राजदूत मटासमिची साइगोले ‘बर्ड–३’ परियोजनाका कारण नेपाल र जापानको सम्बन्धमा थप सुधार भएको जानकारी दिनुभयो । साइगोले भन्नुभयो, 'आज आकाशमा छाडिएको नेपाली स्याट–१ ले अन्य भूउपग्रह निर्माण गर्न हामीलाई प्रेरणा दिने विश्वास बोकेको छु ।'
जापानमा संयुक्त रुपमा एकैपटक निर्माण गरिएको अन्य भूउपग्रहमध्ये श्रीलङ्काको ‘रावण–१’ र जापानको ‘युवुसु’ नामकरण गरिएका छन् । जाक्साले त्याे भूउपग्रह निर्माणका लागि नमुना तयार गर्न सहयोग गरी सफल बनाएको नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले जानकारी दिनुभयो । 'यस भूउपग्रहको आयु तीन महिनादेखि तीन वर्षसम्म हुनेछ', ढुङ्गेलले भन्नुभयो, 'नेपाल सरकारले सन् २०१७ देखि उक्त भूउपग्रह निर्माणको योजना अघि बढाएको हो ।'
याे भूउपग्रहले एकपटक पृथ्वीको परिक्रमा गर्दा ९० मिनेट लगाउँछ । नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले भन्नुभयो, 'यस भूउपग्रहले दिनको १६ पटक पृथ्वीको परिक्रमा गर्नेछ ।' विश्वमा लगभग ४० हजार भूउपग्रह निर्माण भयो भने पूरै पृथ्वीको परीक्षण गर्न सकिने कार्यक्रममा बताइएको छ ।
नेपालले पहिलोपटक प्रक्षेपण गरेकोभूउपग्रहले नेपाली जनशक्तिको निर्माणका साथै क्षमता विकास, अन्तर्राष्ट्रिय सञ्जालको साझेदारी, अन्तरिक्षमा मानिसको उपस्थिति तथा उत्साही युवामा पहुँचका दृष्टिले अघि बढाएको बताइएको छ ।
वास्तवमा भूउपग्रहले सबै काम गर्न सक्छ । तर यो भूउपग्रह नानाे स्याटलाइट भएकाले वातावरण परिवर्तन, शहरी क्षेत्रको व्यवस्थापन, शैक्षिक अध्ययन र अनुसन्धानमा जोड पुग्ने नाष्टका प्रविधि सङ्काय प्रमुख ढकालले बताउनुभयो ।
नाष्टले आफ्नै कार्यालयको स्रोता गण कक्षबाट साेमबार अपराह्न १२ः३० बजेपछि त्यस भूउपग्रहको प्रत्यक्ष प्रसारण गरेको थियो । जापानका तीन जना विज्ञ नाष्टको कार्यालयमा त्यस कामका लागि उपस्थित भएर सबैमा ऊर्जा भरेका थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।