लुगा सिलाएर घर खर्च पुर्‍याउँछु, श्रीमानले मलेसियामा कमाएको बचाउँछु

 जेठ १५, २०७६ बुधबार १४:१:५१ | मेरो कथा मेरो भोगाई

अन्जु मेहता/इनरुवा, सुनसरी ।

म अहिले २७ वर्षको भएँ । मेरो श्रीमान् मलेसियामा हुनुहुन्छ । म लुगा सिलाउनेसँगै घर चलाउने काम पनि गर्छु । मेरा दुई छोरी छन् । एउटा तीन वर्षको अनि एउटा चाहिँ १० महिनाको । 

घरव्यवहार हेर्नु, बालबच्चा स्याहार्नु अनि काम गरेर आफ्नो खर्च आफैं  पुर्‍याउन सजिलो छैन । तर पनि म श्रीमानले विदेशमा कमाएकै छन् भनेर उहाँको कमाईमा भर पर्दिनँ । घरको सबै काम भ्याएर पैसा कमाउने काम पनि गर्छु । 

म स्नातक पढ्दै सिलाई पनि सिक्दै थिएँ । त्यही बेला बिहे भयो । बिहेपछि पढाइ पनि राम्रोसँग अघि बढाउन सकिनँ । पढाइ र सिलाईमा भन्दा पनि बढी ध्यान घरव्यवहारमा दिनुपर्‍यो । केही महिना बोर्डिङ स्कूलमा पढाएँ । त्यसपछि गाउँकै सरकारी स्कूल पनि पढाएँ । तर बालबच्चा भएपछि त्यो पनि सम्भव भएन । 

मेरो श्रीमानले सिएमए पढ्नुभएको हो । तर पनि काम पाउन गाह्रो भयो । चिनेजानेको कोही थिएन । कसै न कसैले नभन्दिएसम्म कसले काम दिने ? त्यसैले मेरो श्रीमान् विदेश जानुपर्‍यो । देशमा केही गर्छु भन्दा गाह्रो छ । तर विदेश जान्छु भन्नुपर्छ पैसा दिनेदेखि भिसा खसाल्दिने पनि घरमै आइपुग्छन् । 

मलेसिया जानुभयो तर काम भनेअनुसारको परेन । सप्लाईको काम पर्‍यो । उहाँको कमाइ काम अनुसारकै छ । 

कहिले ३० हजार त कहिले ४० हजार रुपैयाँ कमाउनुहुन्छ महिनामा । एक लाख रुपैयाँ ऋण गरेर जानुभएको थियो त्यो तिरिसक्नुभयो । अब केही बचाउनुपर्छ भन्ने लागेको छ । त्यसैले म पनि उहाँको कमाइ घरखर्चमा खर्च गर्नु नपरोस् भनेर काम गरिरहेको छु । सिलाइको कामबाट छोरीहरु र मलाई खर्च पुर्‍याउँछु । 

हिजोआज वित्तीय साक्षरता कक्षामा पनि बस्छु । यो कक्षामा बस्न थालेदेखि मैले झन पैसाको महत्व बुझेको छु । कहाँ, कसरी पैसा लगानी गर्ने, कसरी बचत गर्ने भन्नेकुरा पनि सिकेको छु ।

अब दुई जना मिलेर काम गर्ने हो । मैले कमाएको पैसाले घर खर्च चलाउने र उहाँको कमाइ बचत गरेर केही व्यापार व्यवसाय गर्न पुग्ने बचत भएपछि उहाँलाई पनि घरमै बोलाउछु । सबैकुरा बिस्तारै योजनाबद्ध रुपमा मिलाउँदै लैजान्छु । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया