उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
समाचार कक्षमा थरिथरिका खबर आउँछन् । केही खबर लेख्दा वा भन्दा फेरि पनि यस्ता खबर लेख्न पाइयोस् भन्ने लाग्छ । अनि केही खबर झुटो भइदिए हुन्थ्यो नि भन्ने लाग्छ । वैशाख १३ गते एउटा समाचार आयो । ललितपुरको महालक्ष्मीस्थानमा मोटरसाइकल दुर्घटना । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार नवलपरासीकी २६ वर्षीया पार्वती चौधरीको ज्यान गयो । इन्धन बोक्ने ट्याङकरले ठक्कर दिँदा मोटरसाइकल दुर्घटनामा परेको थियो ।
यस्ता खबर प्रायः सधैंजसो लेख्नुपर्छ । त्यस दिन पनि लेखियो । तर, आफैं दैनिक हिँड्ने चोकमा भएको दुर्घटनाले छुट्टै पीडा महसुस भयो । बारम्बार त्यही घटना सम्झिएँ । सडक पार गर्न जेब्राक्रस वा पुल केही पनि नभएको यो चोकमा कुनै दिन म आफैं पनि समाचार बन्छु कि भन्ने चिन्ता लाग्यो । सचेत हुँदाहुँदै तीब्र गतिमा गुड्ने मोटरसाइकलदेखि ठूला ट्रक–टिपर, ट्याङकर देख्दा निकै डर लाग्छ ।
घर छेउमै भएको दुर्घटनाबारे टोलछिमेकमा पनि चर्चा चल्यो । थाहा भयो दुर्घटनामा ज्यान गुमाएकी चौधरीका १७ महिना र ४ वर्षका दुई सन्तान रहेछन् । मन झन् पोल्यो । अब ती बच्चाको के होला ? विदेशबाट आएका श्रीमानलाई विमानस्थालबाट कोठामा पुर्याएर देवर भाउजू कतै जाँदै थिए रे ! यो सबै कुरा थाहा पाएपछि स्तब्ध भएँ । दिमागले अरु केही सोच्न सकिनँ । परिवारको खुशी गुम्यो । ती नाबालक सन्तानको ममता लुटियो भन्ने विषयले चिन्तित मात्र भएँ ।
मनमा पीडा हुँदाहुँदै सोचें, हुन त हुने कुरालाई कसले टार्न सक्छ र ? जे नहुनुपर्ने, भैसक्यो । तर, सायद पार्वतीले हेलमेट लगाएको भए ज्यान जोगिन्थ्यो कि ? भन्ने प्रश्न मनमा खेल्यो । नेपालमा मोटरसाइकल चालक ट्राफिकका लागि हेलमेट लगाउँछन् । उनीहरुले वास्तवमै आफ्नो सुरक्षा सोचेकै हुँदैनन् । किनकी भित्री चोकमा वा ट्राफिक नबस्ने चोक र सडकमा बिना हेलमेट बाइक हुईंक्याउनेमा युवा–युवतीदेखि वृद्धसम्म देखिन्छन् ।
समान्यतया हामीले देख्छौं र गर्छाैं पनि । नजिकैको चोकमा हिँड्दैनौं । छ भने मोटरसाइकल वा स्कुटरमा जान्छौं । नजिकै हो हेलमेट किन लगाउनु ? सबैले यही प्रश्न गरेको सुन्छु । भित्री सडक र चोकमा हेलमेट लगाए पनि ‘स्टाइल’ पारेर टाउकोमा अड्याएको धेरै देखिन्छ । हेलमेटको क्लिप कसैले लगाएका हुँदैनन् ।
अझैसम्म हामी सोच्दैनौं हेलमेट हाम्रो सुरक्षाको लागि हो । न कि धेरैले हेलमेट ट्राफिक जरिवानाबाट बच्न ट्राफिक प्रहरीको अगाडि मात्र लगाउने गर्छन् । एउटा दुर्घटनामा एक जनाको ज्यान जान्छ । मृत्युपछि उसको अनुभव कसैले सुन्न अनि बुझ्न पाउँदैन । तर बाँच्नेलाई सधैं एउटै खोट रहन्छ । सायद घरमै बसेको भए ... सायद त्यो ठाउँमा नगएको भए... सायद... गरेको भए, सायद हेलमेट लगाएको भए... उ बाँच्थ्यो कि ?
एउटा आशा निराशामा परिणत भइदिन्छ, त्यही एउटा सायदले । त्यही सायदले मलाई झक्झक्याइरहयो । सायद महालक्ष्मीस्थानमा दुर्घटनामा ज्यान गुमाएकी चौधरीले हेलमेट लगाएको भए उनको ज्यान जाने थिएन कि ? दुई सन्तानको ममता लुटिंदैन थियो कि ? विदेशबाट फर्किएर सुखदुःखसँगै साट्ने सपना बुनेका श्रीमान एक्लो हुने थिएनन् कि ? यो सबै कुरा मनमा मात्र खेलिरहयो । त्यसपछि लागें प्रहरीसँग तथ्याङ्क माग्न ।
नेपाल प्रहरीको तथ्याङ्क अनुसार गएको पाँच वर्षमा दुर्घटनाको दर ह्वात्तै बढेको छ । दैनिक औषतमा ४७ वटा दुर्घटना हुँदा १८ वटा मोटरसाइकलमात्रै दुर्घटना हुन्छन् । जसमा कम्तिमा पनि दैनिक तीन जना मोटरसाइकलमा सवारको ज्यान जाने गरेको छ । त्यो पनि टाउकोमा परेको चोटका कारण । हेलमेटले दुर्घटना हुँदा टाउकोमा हुने चोट कम गर्न मद्दत गर्छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा मोटरसाइकलमा पछाडि बस्ने मानिसले पनि हेल्मेट लगाउनुपर्छ भनेर स्पष्टसँग लेखिएको छ । ऐनको परिच्छेद ७ को दफा १३० को (२) मा भनिएको छ, ‘मोटर साइकल तथा अन्य त्यस्तै दुई पाङग्रे सवारी चलाउँदा चालकले तथा सो सवारीमा सवार मानिसले सुरक्षा टोप (हेलमेट) लगाउनुपर्छ ।’
आइतबार मात्रै ट्राफिक प्रहरीले मोटरसाइकलको पछिल्तिर बस्नेले अनिवार्य हेल्मेट लगाउने नियम कार्यान्वयन गर्न लागेको जानकारी दिएको छ । नेपालमा राम्रो नियम बन्छ, तर कार्यान्वयनमा कतै न कतै केही न केही अवरोध गर्न खडा हुन्छ । आर्थिक वर्ष २०५९/०६० तिर ट्राफिक प्रहरीले मोटरसाइकल पछाडि बस्ने यात्रुले पनि अनिवार्य हेल्मेट लगाउन गरेको व्यवस्था २०६१/०६२ तिर निस्क्रिय भयो ।
त्यतिबेला द्वन्द्वकाल रहेकाले मोटरसाइकल पछाडि बस्नेले यसको दुरुपयोग गर्न सक्ने भन्दै त्यो व्यवस्था केही समयको लागि हट्यो । पछि मोटरसाइकल पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने कुरा त्यसै हराएर गयो । अहिले यो व्यवस्था ऐनमै छ भन्ने कुरा धेरैलाई थाहा छैन । ट्राफिकले फेरि नयाँ नियम ल्याउन लाग्यो भनेर आलोचना हुन थालेको छ ।
प्रहरीको तथ्याङ्क अनुसार जतिबेला मोटरसाइकलमा पछाडि बस्ने व्यक्तिले पनि हेल्मेट लगाउनुपर्ने अनिवार्य गरियो, त्यतिबेला दुर्घटनामा ज्यान गुमाउनेको दर घटेको थियो ।
आर्थिक वर्ष २०५७/०५८ मा २ हजार ५५ वटा दुर्घटना भएकोमा १ सय २४ जनाको ज्यान गएको थियो भने आर्थिक वर्ष २०५८/०५९ मा २ हजार १ सय ८० दुर्घटना हुँदा ७५ जनाको ज्यान गएको थियो । यो त्यतिबेलाको कुरा हो जतिबेला मोटरसाइकल पछाडि बस्ने व्यक्तिले पनि हेल्मेट लगाउँथे । दुर्घटना न्यूनीकरणको लागि अब फेरि यस्तै नियम ल्याउन लागिएको छ । जुन राम्रो कुरा हो ।
सवारी साधनले सुरक्षित गन्तव्यमा पुर्याउने होइन । हामीले सवारी साधनलाई कसरी गन्तव्यमा पुर्याउने र हामी कसरी सुरक्षित रहने भन्ने कुरा निरन्तर सम्झनुपर्छ । हामी आफू ट्राफिकको अगाडि नियम पालना गर्छौं । पछाडि मतलव छैन । यही कारण तपाईं हाम्रो ज्यान जोखिममा छ ।
हेल्मेट ट्राफिक प्रहरीको लागि नभई आफ्नो सुरक्षाको लागि हो भनेर बुझ्नु आवश्यक छ । आफ्नै लागि बनेको नियम आफैं पालना नगर्दा हामी आफैं मृत्युको जोखिम मोल्दै त छैनौं ? कुनै पनि सवारीमा चढ्नुअघि एकपल्ट सोच्ने कि ? हेल्मेट लगाएको भए ज्यान बच्थ्यो कि भनेर पछि पछुताउनुभन्दा अगाडि सचेत भए कसो होला ?
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।