उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाडौं – अमेरिकाको अग्रणी वाणिज्यशास्त्र विश्वविद्यालय ‘बेन्टले युनिभर्सिटी’ले कुलचन्द्र गौतमको जीवन भोगाइमा आधारित पुस्तक ‘ग्लोबल सिटिजन फ्रम गुल्मी : माइ जर्नी फ्रम दि हिल्स अफ् नेपाल टु दि हल्स अफ् युनाइटेड नेशन्स’लाई आफ्नो पाठ्यक्रमभित्र समावेश गर्ने भएको छ ।
म्यासाचुसेट्स् राज्यको वाल्थाममा रहेको विश्वविद्यालयले वाणिज्य शास्त्रअन्तर्गत स्नातकोत्तर तहका विद्यार्थीलाई विश्वमामिला बुझाउने पाठका रुपमा पुस्तकको चयन गरेको हो । यो पुस्तक केही महिनाअघि मात्र पब्लिकेशन्स नेपालयले प्रकाशित गरेको थियो ।
विश्वविद्यालयका प्राध्यापक डोनाल्ड मेक्नमारका अनुसार गौतमको जीवनी एक अन्तर्रा्ष्ट्रिय प्रशासकको रोचक भोगाइहरुको रुचीपूर्ण वर्णन मात्र नभै यसले संयुक्त राष्ट्रसंघको कार्यप्रणालीबारे समेत पाठकलाई विस्तारमा जानकारी गराउँछ ।
‘पुस्तकले राष्ट्र संघमा तपाईँको यात्रालाई विशिष्ट तवरले बयान गरेको छ’, प्राध्यापक मेक्नमारले पत्र लेख्दै गौतमलाई जानकारी दिएका छन्, ‘यसको रोचक र जानकारीमूलक पाटोले आकर्षित गरेपछि हामीले पाठ्यक्रममा समेट्ने निधो गरेका हौँ ।’
विश्वविद्यालयअन्तर्गतको ‘बिजनेश स्कुल’मा यसको पढाइ हुन लागेको हो । यो शिक्षण संस्था अन्तर्राष्ट्रिय जगतमा वाणिज्य शास्त्रका विद्यार्थीहरुलाई नयाँ नेतृत्वका हिसाबले तयार पार्न विश्वमामिलामा दरिलो पहुँच, उच्च नैतिक बल र विषयगत समझमा केन्द्रित रहेको जानकारी पनि प्राध्यापक मेक्नमारले पत्रमा उल्लेख गरेका छन् ।
परिवर्तित विश्वमा यस किसिमका ज्ञान र समझले भरिएका नयाँ पुस्ताको अत्यन्त खाँचो महसुस गरेरै पुस्तकको चयन गरिएको उनले स्पष्ट पारेका छन् । उनका अनुसार यसै वसन्त ऋतुको नयाँ सत्रबाट यसको पठनपाठन थाल्ने हिसाबले बेन्टले विश्वविद्यालयको पुस्तक पसललाई नेपालबाट मगाउन अह्राइसकिएको छ ।
यो जानकारीले आफूलाई सन् १९६८ देखि १९७१ सम्म ‘डार्टमथ कलेज’ पढ्दाको समय स्मरण गराएको लेखक कुलचन्द्र गौतमले बताएका छन् । गौतम त्यहाँ पढ्दा प्राध्यापक मेक्नमारबाट अत्यन्त प्रभावित रहेको जानकारी उनको पुस्तकमै समेत उल्लेखित छ।
‘त्यहाँ पढ्दा प्राध्यापक मेक्नमारका कक्षाहरुबाट मैले अन्तर्राष्ट्रिय कानुनका असाध्यै महत्वपूर्ण ज्ञान हासिल गर्ने मौका पाएको थिएँ। ती कक्षाहरुमा मलाई राष्ट्रसंघ र अन्य अन्तराष्ट्रिय निकायहरुका काम कारबाहीबारे पनि पढाइएको थियो । त्यतिबेलै मेरो दिमागमा कुनै दिन राष्ट्र संघको सेवा गर्ने सपना पलाएको थियो’, गौतमको पुस्तकमा उल्लेखित छ ।
त्यसपछि नै गौतमले राष्ट्रसंघको सेवामा प्रवेश गरेपछि तीन दशकसम्म त्यहाँ बिताउँदै युनिसेफको उप–कार्यकारी निर्देशक र राष्ट्र संघकै सहायक महासचिवसम्मको ओहदा सम्हालेर अवकाश पाएका थिए ।
‘जुन प्राध्यापकले मेरो भविष्य निर्माणमै महत्वपूर्ण भूमिका निर्वाह गरिदिएका थिए । उनैबाट आज यस्तो समाचार प्राप्त गर्दा असाध्यै ठूलो सम्मान मिलेको महसुस भइरहेको छ’, गौतम भन्छन्।
यो पुस्तक मुलुकभर सबैजसो महत्वपूर्ण पुस्तक पसलहरुमा उपलब्ध रहेको जानकारी प्रकाशक ‘पब्लिकेशन्स नेपालय’ले दिएको छ । त्यसैगरी अमेजन डट कममार्फत् विश्वभरका पाठकहरुको निम्ति ‘ई बुक’ र ‘प्रिन्ट अन डिमान्ड’मा समेत उपलब्ध छ ।
५४७ पृष्ठको पुस्तकलाई नेपालमा ८९५ रुपैयाँ मूल्य राखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।