उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
हिमाली क्षेत्रमा पदयात्रा, मन कसको नलोभिएला र ? चिसो बताससँगै बहकिंदै उकाली-ओराली, जंगल, पहाड, खाेँच, छहरा, छाँगा, भञ्ज्याङ, देउरालीले उत्साहित हुने यात्रामा चम्किला हिमाल भेटिएपछि खुशी त्यसै चुलिन्छ । हिमाली संस्कृति, रहनसहन, जीवनशैलीले हिमाली यात्रामा रङ थप्छन् ।
एकछिन हिँडेपछि थकित शरीरलाई केहीबेर आराम दिँदा प्राप्त हुने आनन्द साँच्चै अनुपम हुन्छ त्यहाँ । हिमाली यात्रामा प्राप्त हुने हिमाल जत्तिकै अग्लो खुशीका कारण मौका मिल्नासाथ म पनि हिमालतिर उकालो लागिहाल्छु ।
हरेक वर्षको चैत, वैशाख र असोज, कात्तिक महिनामा हिमालतिर जान यो मन चुलबुल गरिहाल्छ । बहाना मिल्नसाथ उकालो लागिहाल्ने मलाई यात्रामा भेटिने प्राकृतिक-साँस्कृतिक सम्पदाले जति लोभ्याउँछ, त्यहाँ व्यवसाय गर्नेहरुको व्यवसायिक सफलताले पनि उत्तिकै लोभ्याउँछ ।
त्यहाँ मजदुर हुँदै व्यवसायी बनेर करोडपति भएकाहरु प्रशस्त भेटिन्छन् । त्यहाँ पर्यटकीय सिजनका ६ महिना काम गर्दा वर्ष दिनको गर्जो टर्ने गरी कमाउने धेरै छन् । यस्ता कुराले हिमाली यात्रालाई रसिलो बनाउँछ ।
तर यात्रामा मैले यी रमाईला, रसिला, जोशिला कुरा मात्र हैन धमिलिएका मन पनि प्रशस्त भेटेको छु ।
मिर्मिरेमा सुनौलो हिमाल देख्दा प्रफुल्ल हुनुपर्ने मनहरुलाई पीडाले थिचिरहेको देखेको छु । सन्तानको भविष्य खोज्दै त्यहाँ व्यवसाय गर्दा सन्तानको भविष्य झनै अन्योलतर्फ धकेलिएर लामो सुस्केरा हाल्ने अभिभावकहरु मैले धेरै भेटेको छु र साक्षात्कार गरेको छु । कमाइन्छ भनेर ऋण गरी व्यवसाय सुरु गरे पनि व्यवसाय डुबेर टाउकोमा हात लगाईरहेका व्यवसायीहरु पनि धेरै भेटेको छु ।
पीडा सुन्दा लाग्छ, दुनियाँलाई आफूतिर आकर्षण गर्न सक्ने हिमालले उनीहरुलाई चिसो हावा मात्र दिईरहेको छ ।
सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बु सगरमाथा हिमालको कारण संसारमा चर्चित छ । त्यहाँ पर्यटन व्यवसायबाट धेरै कमाएको र जीवनशैली सुध्र्रिएको चर्चा राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरमा निकै हुन्छ । खुम्बुका पर्यटन व्यवसायीको जीवनशैली विकसित देशको जीवनशैली जत्तिकै सुधारिएको पनि छ । तर हिमाली क्षेत्रका मुख्य पदमार्ग बाहेक बिभिन्न सहायक पदमार्गमा पर्यटकको बाटो कुरेर बस्ने साना व्यवसायीहरु भने समस्या नै समस्यामा छन् ।
जुभिङबाट गाईखर्क हुँदै पाँचपोखरी जाने क्रममा गाईखर्कबाट ३ घण्टा बढी हिँडेपछि मात्र छाडाखोर पुगियो । बस्ती निकै कम भएको त्यो हिमाली मार्गमा एउटा होटलबाट अर्कोमा पुग्न २-३ घण्टा हिँड्नु सामान्य मानिन्छ । कुनै कुनै स्थानमा २-४ वटा होटल-पसल भेटिए पनि धेरै स्थानमा एक्लो घर हुन्छ ।
पर्यटक आउने समयमा अस्थायी होटल गर्न बनाईएका घर÷टहरामा व्यवसाय गर्नेहरुले छिमेकी भेट्न पनि २-४ घण्टा नै हिँड्नु पर्छ । सामान्य जीवनशैलीमा समस्या नभए पनि बिरामी वा अन्य आपतविपत र अैँचोपैँचो आवश्यकता हुँदा निकै कठिन हुने गरेको गाईखर्कमा पेम्बा शेर्पाले बताउनु भयो । गफ गर्ने छिमेकी समेत नहुँदा पीडाहरु पनि मनभित्रै गुम्सिने गरेको उनीहरु बताउँछन् ।
गाईखर्कमा बस्नेलाई टाउको दुख्यो भने सिटामोल लिन बुङ स्वास्थ्यचौकी पुग्नुपर्छ । त्यहाँ पुग्न मात्र करिब १० घण्टा लाग्छ । त्यसैले सिटामोल लिएर फर्कंदा दोस्रो दिन हुन्छ । कुनै कारण चोटपटक लाग्यो भने त जडिबुटी वा घरायसी उपचारकै भर पर्नुपर्छ ।
बच्चालाई खोप लगाउने कुरा उनीहरु सोच्नै सक्दैनन् । यति टाढासम्म पुगेर कसरी खोप लगाउनु र ? मितुमाया राईले उल्टै प्रश्न गर्नुभयो । गर्भजाँच, खोप, सुरक्षित प्रसूति यी सबै कार्यक्रम उनीहरुका लागि आकासको फल जस्तै हुन् ।
सबेरैदेखि रातिसम्म भान्छाकोठामा बजिरहने रेडियोले यस्ता कुराबारेमा जानकारी दिए पनि सेवा लिन भने नसकिएको उनीहरु बताउँछन् । उपचार अभावकै कारण जटिल अवस्थामा पनि उपचार पाउन सकिंदैन । पदमार्गमा हिँड्ने पर्यटकहरुले बोकेको औषधिमा नै भर पर्न उनीहरु बाध्य छन् । आफूहरुलाई भएको समस्याका बारेमा विदेशी पर्यटकलााई भन्ने र कतिपयले औषधि दिने र चोटपटक लाग्दा सामान्य उपचार गरिदिने गरेको व्यवसायीहरु बताउँछन् ।
छाडाखोरमा १२-१५ घरको बस्ती छ । त्यहाँबाट नजिकको विद्यालय पुग्न कम्तिमा २ घण्टा हिँड्नुपर्छ । आउँदा जाँदा ४ घण्टा । यति बाटो हिँडेर त्यहाँका बालबालिका क, ख सिक्न जान्छन् । जंगलको अप्ठ्यारो बाटो हिँडेर बिद्यालय जानु उनीहरुको बाध्यता हो । छाडाखोरमा व्यवसाय गर्ने मौलीधनी राईले भन्नुभयो, ‘छोराछोरी दिनमा चार घण्टा हिँड्नु पर्छ कसरी विद्यालय जानु र ? अलि हुर्किएपछि जान्छन् ।’
आधारभुत तहको पढाई पूरा गरेपछि माध्यमिक तहको लागि त बास नबसी विद्यालय नै जान सकिंदैन । विद्यालयमा पहुँच नभएकै कारण धेरै बालबालिकाले उमेरमा पढ्न पाउँदैनन् र विद्यालय तह पूरा नगरिकनै विद्यालय छाड्न बाध्य हुन्छन् ।
मुख्य मार्गमा ठूला व्यवसाय गर्नेहरुले प्रशस्त कमाउँछन् । सिजनका ५÷६ महिना व्यवसाय गर्दा मनग्य आम्दानी हुन्छ, तर सहायक मार्गका साना व्यवसायीहरुको पीडा चर्को छ । आम्दानी सामान्य हुन्छ र आधा समय बसेरै बित्छ । सिजनमा हुने सामान्य आम्दानीले वर्षदिन खर्च टार्न निकै समस्या हुने उनीहरु बताउँछन् ।
त्यसमाथि व्यवसाय सुरु गर्न गरिएको ऋणकोे ब्याजले पनि उसैगरी सताईरहेको हुन्छ । एक सिजनमा ल्याएको सामान सकिएन भने उपभोग्य मिति सकिन्छ । पर्यटकका लागि लगेका बिभिन्न खानेकुराको उपभोग्य म्याद सकिएपछि आफैं प्रयोग गर्छन् । तर ती आफूहरुको आवश्यकता नभएकोले घाटा व्यहोर्नुपरेको उनीहरुको भनाई छ ।
खुम्बुको पदमार्गमा भारी बोक्न तल्लो क्षेत्रबाट पर्यटकीय सिजनमा हजारौं भरियाहरु पुग्छन् । सदरमुकाम सल्लेरी वा लुक्ला बिमानस्लबाट पर्यटकको भारी बोकेर उकालो लाग्ने भरियाहरु बिभिन्न हिमालको आधार शिविरसम्म पुग्ने गर्छन् । कामसँगै भ्रमण, उनीहरुको लागि दुई काम त हुन्छ । तर हिमालमा भारी बोक्नु अत्यन्तै जोखिम हुन्छ ।
उचाईमा श्वासप्रश्वासमा समस्या हुँदा रित्तै हिँड्न पनि मुश्किल पर्छ । अझ भारी बोकेर हिँड्दा निकै समस्या हुने उनीहरु बताउँछन् । हिमालतिर हिँड्दा खाना तथा चिया, सुप बढी खानुपर्छ । तर भरियाको ज्यालाले त्यो पुग्दैन ।
पर्यटकको चाप बढी हुँदा भरियाहरुले बास नपाएर गोठ÷कटेरामा रात बिताउनुपर्छ । न्यानो कपडा नहुने लगायतका धेरै समस्याहरु धेरै हुने गरेको बाटोमा भेटिएका भरियाहरु बताउँछन् ।
हिमाली पदमार्गमा साना व्यवसाय गर्नेहरुको मात्र हैन, हिमाली बस्तीमा आलु, फापर, गहुँ लगायतको खेती गर्ने तथा चौंरी, भेडा पाल्ने किसान/पशुपासलकको पीडा पनि उस्तै छ । चिसो सिरेटोसँगै बिभिन्न जंगल चाहार्नु, उत्पादन बिक्रीको लागि नजिक बजार नहुनु जस्ता पीडा उनीहरु सुनाउँछन् ।
हिमाल सुन्दर छन् । हिमाली हावापानीमा रमाउन सकिन्छ । छहरा, छाँगा, झरना, देउराली, भञ्ज्याङ, खाेंच यात्रा निकै रमाईलो हुन्छ । यो रमाइलोको समाचार राष्ट्रिय-अन्तराष्ट्रिय रुपमा छाइरहेका हुन्छन् । यात्रा गर्नेका लागि यो अनुपम अनुभव हुन्छ पनि ।
एक पटक हिमाली पदयात्रामा निस्किएकाहरु अर्को मौका कुरेर बसिरहेका हुन्छन् । भनौं यात्राका लागि हिमाली दृष्यले मोहनी नै लगाईदिन्छ । तर त्यहाँ भित्र धमिलिएका मनहरु भने सँधै ओझेलमा हुने गरेका छन् । त्यहाँ भेटिने पीडाहरु समाधानका लागि स्थानीय सरकार बढि चनाखो र जिम्मेवार हुनु आवश्यक छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।