प्रसिद्ध साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

 चैत १, २०८१ शुक्रबार ८:८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रसिद्ध साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । सन् १९३३ को मार्च १ मा भारतको गुवाहाटी टकौबारीको पुलिस रिजर्भमा बुबा प्रेमबहादुर र आमा पवित्राका सन्तानका रूपमा जन्मिएका क्षेत्रीको ९३ वर्षको उमेरमा गएराति निधन भएको हो ।

गुवाहाटीको मरिखालीमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको नेपालीभाषी भारतीय साहित्यकार रूद्र बरालले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

असममा जन्मिएका, सिलाङमा बाल्यकाल बिताएका उहाँको पढाइ बङ्गला, नेपाली र अङ्ग्रेजी माध्यममा भएको थियो । उहाँले गुवाहाटी विश्वविद्यालयबाट अर्थनीतिमा स्नातकोत्तर गरेर गुवाहाटीकै आर्यविद्यापीठ कलेजमा अध्यापन गर्नुभयो ।

विद्यालयमै पढ्दादेखि साहित्य साधनामा लागेका क्षेत्रीको पहिलो प्रकाशित कविता ‘शिवस्तुति’ १६ वर्षको उमेरमा प्रकाशित भयो भने पहिलो उपन्यास ‘बसाइँ’ २४ वर्षको उमेरमा सन् १९५७ मा प्रकाशित भएको थियो । ‘बसाइँ’ उपन्यास पूर्वोत्तर भारतको पहिलो उपन्यास हो भने यो नेपाली आख्यान साहित्यको सर्वाधिक पढिएको, चर्चित र प्रकाशित उपन्यास हो ।

उहाँले ‘अतृप्त’ , ‘ब्रह्मपुत्रको छेउछाउ’, ‘प्रतिध्वनिहरू विस्मृतिका’ लगायतका उपन्यास लेख्नुभएको छ । उहाँले ‘लीलबहादुर कथाहरू’ र ‘छरिएको बिस्कुन’ लेखेर नेपाली आख्यान साहित्यमा थप योगदान पुर्‍याउनुभएको छ । उहाँका धेरै कथा, निबन्ध, एकाङ्कीहरु प्रकाशित छन् ।

सात दशक लामो साहित्ययात्रामा उहाँले धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार पाउन सफल हुनुभएको छ । साहित्यकार क्षेत्रीले दार्जिलिङले ‘दियालो पुरस्कार’, पश्चिम बङ्गालको ‘भानु’ पुरस्कार प्राप्त गर्नुभएको छ ।  ‘ब्रह्मपुत्रका छेउछाउ’ उपन्यासले  साहित्य अकादमी पुरस्कार प्राप्त  गर्न  सफल बनेको थियो । उहाँ सन् २०२० मा पद्मश्री पुरस्कारले सम्मानित हुनुभएको थियो । 

अन्तिम अपडेट: चैत १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया